२०८३ जेष्ठ १७ गते आइतवार

रुकुम पूर्वलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा



रुकुम पूर्व,- रुकुम पूर्व जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। रुकुमकोटस्थित सिस्ने गाउँपालिकाको सभाहलमा आयोजित औपचारिक कार्यक्रममा सो घोषणा गरिएको हो।

जिल्लाभित्रका बालबालिकालाई आवश्यक सबै खोप प्रदान गरी उनीहरूलाई निरोगी बनाउने उद्देश्यले रुकुम पूर्वलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय रुकुम पूर्वका निमित्त प्रमुख पुस्कल प्रसाद श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार, यस अभियानबाट शिशु मृत्यु दर घटाउने, स्वास्थ्य सेवामा पहुँचको समानता ल्याउने, खोप प्रणालीलाई स्थानीय तहबाट व्यवस्थित र दिगो बनाउने लक्ष्य राखिएको छ। साथै, यसले स्थानीय सरकारको स्वामित्व र जवाफदेहिता समेत बढाउने अपेक्षा गरिएको छ।

जिल्लाका ३१ वटै वडामा रहेका स्वास्थ्य चौकी, स्वास्थ्य इकाइलगायत स्वास्थ्य कार्यालय रुकुम पूर्वको समन्वयमा सञ्चालनमा रहेका ४३ वटा स्वास्थ्य संस्थाबाट नियमित खोप सेवा प्रदान गरिएको थियो।

यसै बिच, सक्रिय सहभागिता र प्रभावकारी कार्यान्वयनको मूल्याङ्कन गर्दै कार्यक्रममार्फत तीन जनालाई सम्मान गरिएको छ। जसमा पुथाउत्तरगंगा गाउँपालिकाबाट कुमारी मगर, भूमे गाउँपालिकाबाट सिर्जना बुढा र सिस्ने गाउँपालिकाबाट डम्बर बोहोरालाई पुरस्कृत गरिएको स्वास्थ्य कार्यालय रुकुम पूर्वका सूचना अधिकारी निमप्रसाद गिरीले जानकारी दिनुभयो । सम्मान सँगै जिल्लाका सबै ४३ वटा स्वास्थ्य संस्थाहरुलाई प्रशंसा पत्र प्रदान गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारीले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य सुरुल पुनले मानव जीवनमा स्वास्थ्यको महत्व सबैभन्दा ठूलो हुने बताउँदै जिल्लाको स्वास्थ्य पूर्वाधार सुदृढ गर्न आफू निरन्तर सक्रिय रहेको उल्लेख गर्नुभयो। उहाँले भविष्यमा पनि औषधि आपूर्ति, आकस्मिक सेवाको व्यवस्थापन लगायतका विषयमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको समापन गर्दै जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुखले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनु आवश्यक रहेको बताउँदै भन्नुभयो, “पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको घोषणा हुँदा जति संख्यामा तपाईंहरूको उपस्थिति छ, त्यति नै सक्रियताका साथ नागरिकको स्वास्थ्य सुधारतर्फ अग्रसर हुनुपर्छ।”

कार्यक्रम जिल्ला खोप समन्वय समितिका अध्यक्ष मेघबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। भने लुम्बिनी प्रदेश सभा सदस्य सुरुल पुनको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै विभिन्न स्थानीय निकायका प्रतिनिधिहरू, स्वास्थ्य संस्थाका इन्चार्जहरू, स्वास्थ्यकर्मीहरू, पत्रकारहरू, तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य जिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर के सीले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन स्वास्थ्य कार्यालयका सूचना अधिकारी गर्नुभएको थियो।।

प्रकाशित मिति : २०८२ असार ६ गते शुक्रवार