२०८३ कार्तिक १२ गते बुधवार

दलित लक्षित बजेट र कार्यक्रमको माग गर्ने संयुक्त दलित अधिकार मञ्चको तयारी



रुकुम पूर्व – दलित समुदायको अधिकार सुनिश्चित गर्न तथा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा दलित लक्षित योजना र कार्यक्रम समावेशको माग गर्न संयुक्त दलित अधिकार मञ्च रुकुम पूर्वको औपचारिक बैठक सम्पन्न भएको छ।

शनिबार रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा सम्पन्न उक्त बैठकमा दलित अधिकारकर्मीहरूको सक्रिय उपस्थितिमा दलित लक्षित योजना र कार्यक्रम समावेश गर्न विशेष निर्णयहरू गरिएको हो।

बैठकमा दलित समुदायका लागि छुट्टै बजेट विनियोजन गर्नुपर्ने, दलित लक्षित योजना तथा कार्यक्रमहरू सिधै समुदायसम्म पुग्ने गरी कार्यान्वयन गर्नुपर्ने माग गरिने भएको छ।

बैठकको अध्यक्षता मञ्चका कार्यवाहक अध्यक्ष हर्कबिर कामीले गर्नुभएको थियो। बैठकलाई सम्बोधन गर्दै उहाँले रुकुम पूर्वका तीनवटै स्थानीय तहमा दलित लक्षित कार्यक्रमहरू दलित समुदायकै आवश्यकता र हितका लागि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। साथै, आर्थिक वर्ष २०८१/०८२ को बजेटमा दलित समुदायको माग सम्बोधन नगरिएको भन्दै आउँदो वर्षका लागि अधिकार सुनिश्चित गर्न मञ्चको तर्फबाट दबाबमूलक पहल गरिने बताउनुभयो।

बैठकको निर्णय अनुसार, आगामी श्रावण महिनामा पुनः बैठक बसी नयाँ कार्ययोजना तय गर्ने र संयुक्त दलित अधिकार मञ्चलाई कसरी थप व्यवस्थित र प्रभावकारी बनाउने भन्ने विषयमा विस्तृत छलफल गरिने कार्यवाहक अध्यक्ष कामीले जानकारी दिनुभयो।

बैठकमा दलित अधिकारकर्मी उपेन्द्रलाल कामीसहित विभिन्न दलित अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८२ असार ७ गते शनिवार