
रुकुम पूर्व : रुकुम पूर्वको चौँरी लेक पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।कुनै समय कमै मात्रामा चासो पाइरहेको यो लेक अहिले पर्यटकीय गन्तव्यको रूपमा परिचित हुँदै गएको हो।
चार हजार मिटरको उचाइमा अवस्थित चौँरी लेक भूमे गाउँपालिका–१ र पुथा उत्तरगंगा गाउँपालिकाको सिमाक्षेत्रमा पर्दछ।रुकुमपूर्व र बाग्लुङको सिमानास्थित पातिहाल्नेबाट बिहानै हिँडेर लेक पुग्न सकिन्छ र बेलुकासम्म फर्कन सकिन्छ।ढोरपाटन शिकार आरक्षको पश्चिम क्षेत्रमा पर्ने चौँरी लेकबाट सिस्ने, पुथा, धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको दृश्यावलोकन गर्न सकिन्छ।
लेकको वरिपरिको पाटनबाट पुथा उत्तरगंगाका विभिन्न गाउँहरू, रोल्पाको जलजला, जन्तरे, कोठी भिर लगायत प्यूठानका भूभाग पनि सजिलै देख्न सकिन्छ।हिउँदमा हिउँले ढाकिने चौँरी लेकमा वर्षायाममा भने रंगीचंगी फूलहरू फुल्छन्।असारदेखि भदौसम्म यहाँ भेडी गोठहरू बस्ने चलन छ।यस अवधिमा बाख्रा, गाई, भैंसी, घोडा र भेडाका बगालले चौँरी लेकको पाटन झनै मनमोहक देखिन्छ।
पशु चरनका लागि उपयुक्त मानिने यस क्षेत्र बुकी प्रजातिका वनस्पतिले पनि भरिपूर्ण छ।प्राकृतिक वनस्पति, फूल र पाटनले गर्दा चौँरी लेक वर्षायाममा विशेष आकर्षक हुन्छ।
प्राकृतिक सौन्दर्यले भरिएको चौँरी लेकको पर्यटकीय सम्भावनालाई ध्यानमा राख्दै स्थानीय सरकार सक्रिय भएको छ।भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ र वडा अध्यक्ष मनकाजी पुनको पहलमा चालु आर्थिक वर्ष २०८१/८२ मा पर्यटन डिभिजन कार्यालय बाँके (कोहलपुर)को सहयोगमा करिब १० लाख रुपैयाँको बजेटमा ५ मिटर अग्लो जलकी, सिढी र फिल्ड निर्माण गरिएको छ।
आगामी आर्थिक वर्षका लागि पनि चौँरी लेकको प्रवर्द्धनका लागि प्रदेश सरकारबाट २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको वडा अध्यक्ष पुनले जानकारी दिए।
पर्यटकको सुविधाका लागि भूमे गाउँपालिकाले लेकसम्म पुग्ने मोटर बाटो निर्माण गरिसकेको छ।चौँरी लेक जान चाहने पर्यटकहरू साबिकको दिन पातिहाल्ने भञ्ज्याङमा बास बस्न सक्ने व्यवस्था छ।३१०० मिटरको उचाइमा रहेको पातिहाल्नेमा खानपिन र बासको सुविधा भएको होटलहरू छन्।यहाँबाट कोठीभिर, जन्तरे, तिलाचन हुँदै ढोरपाटन सजिलै पुग्न सकिन्छ।
समथर भू–भागदेखि उच्च हिमाली क्षेत्रसम्म फैलिएको रुकुम पूर्वमा धार्मिक र पर्यटकीय गन्तव्य प्रशस्त छन्।तर प्रचारप्रसारको अभाव र पूर्वाधारको कमीका कारण धेरै क्षेत्र अझै ओझेलमा परेका छन्।पछिल्लो समय स्थानीय तहको सक्रियता बढेसँगै पर्यटकीय सम्भावना भएका क्षेत्रको संरक्षण र प्रवर्द्धनमा चासो देखिएको छ।











प्रतिक्रिया दिनुहोस्