२०८३ साउन १६ गते शनिवार

बाढीपहिरोको त्रास चेतावनीको घण्टी



प्रत्येक वर्ष बर्खाको समयसँगै रुकुमपूर्व लगायतका पहाडी जिल्लामा बाढी र पहिरोको त्रास स्थायी समस्याजस्तै भइसकेको छ।तर विडम्बना, वर्षेनी दोहोरिने यो विपत्तिका सामु राज्यका जिम्मेवार निकायहरूको तयारी खासै देखिदैन।यस वर्ष पनि मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्डका धेरै ठाउँमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ।सडक अबरुद्ध हुँदा बिरामी बोक्ने एम्बुलेन्सदेखि अत्यावश्यक सामान बोकेका गाडीहरू गन्तव्यमा पुग्न सकिरहेका छैनन्।पहिरोको त्रासले गाउँघरका मानिसहरु त्रसित छन्, अझ खोलानाला किनारमा बसोबास गर्ने बस्तीहरुमा रातभर निद्रै हराएको अवस्था छ।भने धेरै घरहरु बगाएको घटना ताजा नै छ।

सडक निर्माणका नाममा भएको अनियोजित ठेक्का प्रथाले आज हाम्रो भौगोलिक बनोटलाई कमजोर बनाएको यथार्थ लुक्न सक्दैन।निर्माणपछि जिम्मेवारी लिएर मर्मतसम्भार वा पहिरो नियन्त्रणको उपाय खोज्नुको साटो, ठेकेदारहरु हराउने परिपाटी खतरनाक बन्दै गएको छ।स्थानीय सरकार जनताको पहिलो आशा र भरोसा हो।तर बाढीपहिरो जस्तो आपतकालीन अवस्थामा स्थानीय सरकारकै उपस्थिति रहे पनि जनमानसमा निराशा बढ्दो छ।यो अवस्थामा पहिरो नियन्त्रण, सुरक्षित स्थानान्तरण, उद्धार र राहत वितरण जस्ता कार्यहरु तत्कालै संचालन गर्न सक्ने पूर्वतयारीको खाँचो छ।

रुकुमपूर्वको भूगोल, खोलाको प्रवाह, जमिनको बनोट, तथा बस्तीको अवस्थालाई हेरेर सरकारले बाढीपहिरोको जोखिम मूल्यांकन गर्नुपर्छ।खतरामा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा सार्न पूर्वयोजना आवश्यक छ।यसका लागि संघीय र प्रदेश सरकारसँग समन्वय गर्नुपर्ने  स्थानीय तह र जिल्ला प्रसाशन कार्यालयको हो।

बर्खाको पानी हाम्रो समृद्धिको स्रोत बन्न सक्दछ, यदि हामीले यसको जोखिम व्यवस्थापन गर्न सकेका छौं भने।तर, वर्षेनी हुने विनाश हेरेर मौन बस्ने हो भने हामी आफैँले आफ्ना जनताको ज्यान र भविष्यसँग खेलबाड गरिरहेका छौं।अब ढिलो नगरी, तत्काल चेतनाको घण्टी बजाउन आवश्यक छ।नत्र पछुतोको खोलाले फेरि कसैलाई बगाउनेछ।

प्रकाशित मिति : २०८२ साउन १९ गते सोमवार