
रुकुम पूर्वमा स्वास्थ्य सेवाको अवस्था कस्तो छ? प्रमुख उपलब्धिहरू के–के रहेको छ बताईदिनुस ?
लुम्बिनी प्रदेशको हिमाली जिल्ला ३ वटा स्थानीय तह रहेको र स्थानीय जनतालाई नजिकबाट स्वास्थ्य सेवा प्रवाह गर्न स्थानीय सरकार कटिबद्ध रहेता पनि हिमाली जिल्लामा स्वास्थ्य सेवाहरुको पहुँच र गुणस्तर स्वास्थ्य सेवामा केहि चुनौतीहरु रहेका छन।प्रत्येक वडामा स्वास्थ्य चौकी आधारभूत स्वास्थ्य सेवा केन्द्र र सामुदायिक स्वास्थ्य ईकाइ स्थापना गरि स्वास्थ्य सेवा प्रवाह भैरहेको अवस्था छ। स्वास्थ्य सेवाको अवस्था भन्नुपर्दा संघीयता पछि स्थानीय सरकारबाट गुणस्तर सेवा प्रवाह गर्न स्वास्थ्य सेवाको पँहुच अभिबृद्धि गर्न र आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न कटिबद्ध रहेको छ।प्रदेश स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य सेवाहरुको सुधारका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।घरैमा जेष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम, किशोरीहरुमा रक्त अल्पता अवस्थाबारे रक्त परीक्षण कार्यक्रम र मोबाईल स्वास्थ्य कार्यक्रम आदी।नसर्ने रोगको अवस्था पहिचान गरि जोखिमलाई न्यूनीकरण गर्न स्वास्थ्य कार्यालयको आयोजनामा ३० वर्षदेखि माथिल्लो उमेरका नागरिकलाई स्थानीय स्वास्थ्यकर्मीको सहयोगमा ब्लडप्रेसर जाँच, पिसावमा चिनिको मात्रा जाँच, रगतमा चिनिको मात्रा जाँच र उमेर अनुसार तौल परीक्षण गरि आफ्नो स्वास्थ्य अवस्थाबारे पहिचान गरि जोखिम पुर्ण अवस्था भएमा चिकित्सको परामर्श लिनबारे समेत जानकारी गराईयो र सवै स्थानीय तहमा गरि करिव ३३५४ जना नागरिकको स्वास्थ्य परीक्षण समेत गरियो।यसै गरि जेष्ठ नागरिक असक्त असहाय क र ख गरि ६५१ जना, विद्यालयमा अध्ययनरत किशोरीको रक्त अल्पता परीक्षण १२९४ जना र कुपोषित बालबालिकाहरुको खोजपड्ता ३०३८ जनालाई सेवा प्रदान गरिएको छ।
जनशक्ति अभाव, औषधिको समस्या, पूर्वाधार लगायत मुख्य चुनौती के छन्? प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूको सेवा स्तर कस्तो छ?
अन्य जिल्लाहरुको जस्तै स्वास्थ्य क्षेत्रमा पनि यस जिल्लामा थुप्रै चुनौतीहरु छन्।स्थानीय स्वास्थ्य संस्था सञ्चालन ऐन अनुसार स्वास्थ्य कार्यालयबाट समन्वयको जिम्मेवारी रहेको छ भने स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापनको मुख्य भूमिका भनेको स्थानीय तहबाटै हुने व्यवस्था रहेको छ।भौगोलिक विकटता यातायात पहुँचको अभावको कारण समयमै विरामीहरुलाई रिफर गरि थप उपचारमा सहयोग गर्न समस्या नै रहेको छ।धेरै जसो स्वास्थ्य संस्थाहरुमा करारका स्वास्थ्यकर्मीहरुबाट सेवा प्रवाह भै रहेको छ।स्थायी स्वास्थ्यकर्मी पदपूर्ती हुन सकेको छैन।स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवा प्रवाह भन्दा चिकित्सकबाट हुने सेवा गुणस्तर हुने हुन्छ।स्वास्थ्य विमालाई थप प्रभावकारी बनाउन सकिएको छैन।पुथा १२ कोलमा दरबन्दी अनुसार कर्मचारी नभएता पनि कार्यरत कर्मचारीबाट सेवा प्रवाह भए/नभएको कर्मचारीहरुको नियमित उपस्थितबारे पालिकाबाट अनुगमन हुन जरुरी देखिन्छ।समस्याको बाबजुद पनि स्वास्थ्यकर्मीहरुबाट सेवा प्रदान गर्न प्रयासरत रहेको छ।
- दक्ष जनशक्तिको अभाव।
- भौतिक पुर्वाधारको अभाव।
- दुर्गम भेगमा यातायातको समस्या।
- जनचेतनाको कमी।
- आर्थिक विपन्नता ।
जिल्लाको तीन पालिका मध्य सबै भन्दा कमजोर स्वास्थ्य सेवा कुन छ ? त्यहाँ सुधारका लागि के योजना छन्?
तीन स्थानीय तह भएको यस जिल्लामा सवै भन्दा कमजोर कुन पालिका हो भनी भन्न सकिदैन।तीनै वटा पालिका भौगोलिक विकता यातायातको पहुँच नपुगेको वडा।स्थानीय तहका अध्यक्ष उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृतबाट गुणस्तरिय स्वास्थ्य सेवा कसरी दिन सकिन्छ भन्ने बारेमा चिन्तित रहनु भएको छ।विभिन्न सुचकलाई आधार मानी प्रत्येक वर्ष स्वास्थ्य क्षेत्रको बार्षिक समिक्षा गरिन्छ कुन वर्षमा कुन पालिका पालिका प्रथम आउने गर्दछ।कर्मचारीहरुले दिएको सेवाको आधारमा मापन गरिन्छ।सेवा प्रवाह गर्न स्वास्थ्य संस्थाको भौतिक संरचाना नै महत्वपूर्ण हुने रहेछ।अधिकांश स्वास्थ्य संस्थाहरुको मापदण्ड अनुसार भवन नै छैन।कर्मचारी नियमित उपस्थित भै सेवा प्रवाह भएको छ कि छैन।औषधीको आपुर्तिको अवस्था कस्तो छ।कर्मचारी र सेवाग्राही विचको सम्बन्ध के कस्तो छ भन्नेबारे पालिका स्तरबाट अनुगमन हुन जरुरी देखिन्छ।स्वास्थ्य संस्था तथा सेवा सुधारका लागि योजना स्थानीय तहबाटै हुने गरेको छ।स्वास्थ्य कार्यालयबाट कर्मचारीको सेवा प्रवाहमा क्षमता अभिबृद्धि गर्न स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य तालिम केन्द्र र संघ/संस्थाहरुको समन्वयमा तालिमको व्यवस्थापन गरि दक्ष जनशक्तिबाट गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने कार्यको भूमिका रहन्छ।
स्वास्थ्य कार्यालयले चालु आर्थिक वर्षमा कस्ता प्राथमिकता र कार्यक्रम ल्याएको छ?
गत आ.ब. ०८१।०८२ मा महत्वपूर्ण क्रियाकलाप जस्तै ३० वर्ष भन्दा माथीका नागरिकहरुका लागि नसर्ने रोगको परीक्षण, जेष्ठ नागरिक तथा क र ख बर्गलाई घरैमा स्वास्थ्य सेवा, विद्यालयमा अध्ययनरत किशोरीहरुको रक्त अल्पता परीक्षण, बालबालिकाहरुको पोषण अवस्थाको लेखाजोखा र नसर्ने तथा संक्रामक रोगसंग स्वास्थ्यमन्त्री कार्यक्रम जनताको घरैमा पुगी स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रह्यो भने चालु आ.ब. ०८२।०८३ मा माननीय स्वास्थ्य मन्त्री खेम बहादुर सारुज्यूको पहलमा लुम्बिनी प्रदेश मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीती कार्ययोजना (२०८१-२०८६) सार्वजनीकिकरण भै सकेको छ।जस्मा मानसिक स्वास्थ्यमा सुधारः स्वस्थ नागरिक लुम्विनीको आधार भन्ने मुल नाराका साथ बढ्दो मानसिक स्वास्थ्य समस्याको आत्महत्याको रोकथाम र उपचारको लागि स्वास्थ्य संस्था र समुदाय स्तरमा योग ध्यान तथा मनोसामाजिक परामर्श कार्यक्रम, मेरो स्वास्थ्य मेरो जिम्मेवारी, सुरक्षित मातृत्व अभियन र समुदाय स्तरमा विद्यार्थी स्वास्थ्य क्लब गठन जस्ता महत्वपूर्ण कार्यक्रम समावेश भएको छ।
मातृशिशु स्वास्थ्य सुधारका लागि के काम भइरहेको छ?
मातृशिशु स्वास्थ्य सुधारका गर्न स्वास्थ्य कार्यालय स्थानीय तह र संघ/संस्थाको सहयोगमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेका छौं।कार्यक्रमको मुख्य उद्धेश्य गर्भवती सुत्केरी नवजात शिशु र ५ बर्ष मुनिका बालबालिकाको स्वास्थ्य सुधार गर्नु नै हो।मातृशिशु सुधारका लागि निम्न कार्यहरु सञ्चालन भै रहेका छन्।
- सुरक्षित मातृत्व कार्यक्रम
- गर्भवती महिलाको नियमित जाँच
- नवजात शिशु सेवा
- सामुदाय स्तरमा महिला स्वास्थ्य स्वंय सेविका मार्फत सेवा
- पोषण सुधार कार्यक्रम
- स्वास्थ्यकर्मी र संस्था सुदृढीकरण
- निःशुल्क एम्बुलेन्स सेवा
निःशुल्क स्वास्थ्य सेवा (OPD, प्रसूति, खोप, आदिको प्रभावकारिता कस्तो छ?खोप अभियान, परिवार नियोजन, कुष्ठरोग, क्षयरोग, सरुवा रोग नियन्त्रणको अवस्था कस्तो छ?
तीन तहको सरकार मध्य नजिकको सरकार स्थानीय सरकार जनतासंग प्रत्येक्ष सरोकार रहेको हुन्छ।OPD सेवा प्रसुती सेवा खोप कार्यक्रम स्वास्थ्य सुधारको मेरुदण्ड मानिन्छन्।स्वास्थ्य संस्थाबाट दिइने सेवा सवै निःशुल्क नै हुन्छ।बच्चाले पाउनु पर्ने खोप नियमित खोपकेन्द्र मार्फत प्रत्येक महिनामा खोप सञ्चालन भैरहेका छन्।संस्थागत प्रसुती हुन विभिन्न कार्यक्रम सञ्चालन भएका छन्।निःशुल्क एम्बुलेन्स सेवा, सुत्केरी भान्सा घर, विभिन्न पोषण किट बक्स लगायत २०८१/०८२ मा स्थानीय तहका स्वास्थ्य संस्थाहरु मार्फत जिल्लामा १२०१ भन्दा बढी बच्चाहरुलाई ५७ वटा खोप केन्द्रहरुबाट १३ प्रकारका रोग विरुद्ध Antigen खोप लगाईएको छ।जस अन्तर्गत जन्मेदेखि १५ महिनासम्म खोप पाउनेको संख्या सिस्ने गाउँपालिकामा ४४२, भूमे गाँपालिकामा ३५४, र पुथा उत्तरगंगा गाउँपालिकामा ४०५ जना बच्चाहरुले पूर्णखोप पाएका छन।जिल्लामा घर धुरी सर्वेक्षणबाट (१६ महिना देखि २३) महिनासम्मको खोप पाउने बच्चाको संख्या ७२९ जना र (२४ महिनादेखि ५९ महिनासम्मको २३९५ गरि कुल ३१२४ जना बालबालिकाहरुले पूर्णखोप प्राप्त गरेको सुनिश्चितता भएको छ।माघको २२ गतेदेखि शुरु भएको राष्ट्रिय अभियान HPV खोप विद्यालयमा अध्ययन गर्ने किशोरी ६ कक्षादेखि १० कक्षासम्म अध्ययन गर्ने र विद्यालय बाहिर रहने १० बर्ष देखि १४ वर्षसम्मका किशोरीहरेमा २२७२ ९७.७६% खोप लगाईएको छ।४ पटक गर्भ जाँच (१६ हप्ता, २०-२४ हप्ता ३२ हप्ता ३६ हप्तामा) गर्भ परीक्षण गर्ने महिलाको संख्या ६६८ रहेको छ।भौगोलिक विकटता र यातायात पहुँच नभएको दक्ष प्रसुतीकर्मीको अभावको कारण घरैमा सुत्केरी हुने संख्यालाई अझै कम गर्न सकिएको छैन।पूर्णखोप निर्देशिकाले तोके बमोजिम बालबालिकाहरुले खोप लगाए नलगाएको सुनिश्चितता गर्ने क्रममा रुकुमपूर्वमा १६ महिना देखि ५९ महिनासम्मका ३१२४ बालबालिकाहरु र १५ महिना मुनिका १२०१ बालबालिकाहरु समक्ष हाम्रा स्वास्थ्यकर्मीहरु घरमै पुगेर तथ्याङ्क संकलन भएको छ।यी तथ्याङ्कको आधारमा जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिदै आइरहेको छ।परिवार नियोजना सेवा पनि जिल्लाको सवै स्वास्थ्य संस्थाबाट सेवा उपलब्ध रहेको छ।जिल्लामा कुष्ठरोगीको पत्तालाग्ने दर पनि रहेको छ।जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका र भूमे गाउँपालिकाको केही बस्तीमा कुष्ठरोगीलाई लक्षित गरि स्क्रिनिङ्ग शिविर समेत भएको थियो।
जनचेतनामूलक कार्यक्रम कत्तिको सञ्चालन गर्नु भएको छ? जिल्लामा स्वास्थ्य जनशक्तिको अभाव कत्तिको छ? सबै पदहरू भरिएका छन्?
स्वास्थ्य कार्यालयको दरबन्दी अनुसार कर्मचारीहरुको पदपूर्ती छैन जनशक्तिको अभाबको कारण कार्य सञ्चालन गर्न समस्या नै भएको छ।जनशक्तिको अभाव भएता पनि संघ/प्रदेशबाट प्राप्त जिम्मेवारी इमान्दारीताका साथ सम्पन्न भएका छन्।सहयोगी संघ संस्थाको सहयोगमा पत्रकार महासंघको सहकार्यमा चेतनामूलक क्रियाकलाप जस्तै विश्व उच्च रक्तचाप दिवस, स्वास्थ्य प्रबर्द्धन सेवा सम्बन्धी मिडियाकर्मी संग पैरवी कार्यक्रम, विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम, महिनावारी स्वच्छता दिवस, विश्व क्षयरोग दिवश, विश्व धुम्रपान दिवश जस्ता क्रियाकलाप समुदाय स्तरका सञ्चालन गरिदै आएका छौं। भूमे गाउँपालिका अन्तर्गत सिमा वडा नं.३ मा महिलाको पाठेघर क्यान्सर सम्बन्धी स्क्रिनिङ्ग वडा नं. ६ महत बजार क्षेत्रमा क्षयरोगको स्क्रिनिङ्ग गरि क्षयरोग के हो ? कसरी लाग्छ भन्ने बारेमा सचेतना कार्यक्रम समेत सञ्चालन भएको छ।
स्वास्थ्य चौकीहरूमा सुत्केरी सेवा, ल्याव सेवा, एक्सरे सेवा आदि कत्तिको सुलभ छन्? सिस्ने पुथा, भूमे लगायत दुर्गम क्षेत्रमा स्वास्थ्य पहुँच पुर्याउन के प्रयास भइरहेको छ?
स्वास्थ्य चौकीमा सुरक्षित प्रसुती सेवा उपलब्ध गर्न २४ सै घण्टा बर्थिङ्ग सेन्टरबाट सेवा प्रवाह भै रहेको छ।बर्थिङ्ग सेन्टरमा कार्यरत नर्सिङ्ग कर्मचारीलाई SBA (दक्ष प्रसुतीकर्मी) तालिम प्रदान पश्चात स्वास्थ्य संस्थाबाट प्रसुती सेवा अझ प्रभावकारी बनेको छ।सेवालाई थप गुणस्तर र दिगो बनाउन ग्रामीण अल्ट्रासाउण्ड ROUSG सेवा, स्थानीय तहबाट स्वास्थ्य चौकीमा ल्याव स्थापना गरि गर्भवती महिलाको स्वास्थ्य परीक्षणमा अझ सहज भएको छ।प्रदेश स्वास्थ्य मन्त्रालयबाट सेवा प्रभावकारी बनाउन भूमे गाउँपालिका अन्तर्गत काँक्री स्वास्थ्य चौकी र सिस्ने गाउँपालिका अन्तर्गत पोखरा स्वास्थ्य चौकीलाई १/१ थान ROUSG उपलब्ध भएको छ।जिल्लाको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्र पुथा १२ कोलमा एक्सरे सेवा सुचारु हुन सकेको छैन।ल्याव सेवा रहेता पनि विविध कारणले गर्न त्यहाँका नागरिक सेवाबाट बन्चित हुनु परेको छ।यस विषयमा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारी बढी जिम्मेवारी हुनु पर्दछ जस्तो लागेको छ।जिल्लामा स्थानीय तहबाट सञ्चालन हुने आधारभूत अस्पताल सञ्चानको अन्तिम अवस्थामा रहेको छ।आशा गरौ पक्कै पनि स्वास्थ्य सेवाको क्षेत्रमा सकारात्म फड्को मार्ने छ।
कोभिड पछिको स्वास्थ्य सेवा सुधारमा के–कस्ता सकारात्मक परिवर्तन भएका छन्?महामारीका बेला सिकेका पाठहरूलाई नीति निर्माणमा कसरी लागू गर्नुभएको छ ?
कोभिड -१९ महामारी पछी जिल्लामा स्वास्थ्य सेवा सुधारका क्षेत्रमा केही महत्वपूर्ण र सकारात्मक परिवर्तनहरु देखिएका छन्।महामारीका समयमा प्राप्त अनुभवलाई नीति निर्माण र कार्यान्वयमा समाबेश गर्न विभिन्न छलफल माध्यमबाट प्रयास पनि भएको छ।कोभिड पछि स्वास्थ्य सेवा सुधारमा सकारात्मक परिवर्तनहरु जस्तैः-
- स्थानीय तहबाट स्वास्थ्य संस्थामा ल्याव स्थापना हुनु।
- जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट आइसोलेसन बेड लगायत आपतकालिन पुर्वाधारको विस्तार हुनु।
- कोभिडको परीक्षण निगरानी र प्रतिकार्य क्षमतामा सुधार हुनु।
- महामारीको बेला विकास गरिएको भएको बहु निकायसंगको सहकार्यमा हुने कार्य विकास हुनु।
- एम्बुलेन्स सेवालाई अझ प्रभाकारी सञ्चालनमा ल्याउनु।
- प्रत्यक जोखिम पूर्व व्यवहार भए पछि साबुन पानीले मिचिमिचि हात धुन पर्छ भन्ने बानिको विकास हुनु।
- सामान्य रुधाखोकीको अवस्थामा स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गर्ने बानीको विकास हुनु।
स्थानीय सरकारसँगको समन्वय कत्तिको प्रभावकारी छ?आम नागरिकलाई तपाईं स्वास्थ्य सेवा उपयोग गर्न के सन्देश दिनुहुन्छ?
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्थानीय सरकारसंगको समन्वय सहकार्य अत्यन्त महत्वपूर्ण हुन्छ।नीति तथा योजना निर्माणमा सहभागीता स्थानीय तहले आफ्ना क्षेत्रका आवश्यकताको आधारमा स्वास्थ्य योजनामा प्राथमिकता दिन थालेका छन्।स्वास्थ्य सम्बन्धी नीति अनुरुप स्वास्थ्यको अवस्थाबारे लेखाजोखा हुन थालेका छन्।स्थानीय तहबाट सञ्चालन हुने कार्यक्रमहरुका समन्वयका साथ स्वास्थ्य कार्यालयबाट प्राथमिकताको आधारमा कार्यक्रम सञ्चालन भएको छ।स्वास्थ्य संस्थाको निगरानी सेवा गुणस्तरमा सुधार ल्याउन पालिकाले निगरानी र अनुगमन गर्ने बानिको विकास भएको छ।संघ,प्रदेश र स्थानीय तहको सहकार्यमा स्वास्थ्य सेवा प्रबाहमा सहजता थपिएको छ।आम नागरिकहरुमा स्वास्थ्य नै धन हो भन्ने मुल मन्त्रका साथ केहि स्वास्थ्य समस्या देखिएमा नजिकैको स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहोस।स्वास्थ्य यहाँहरुको अधिकार हो।सरकारले उपलब्ध गराएका निःशुल्क स्वास्थ्य सेवा जस्तै खोप, मातृ शिशु सेवा, परिवार नियोजना सेवा लिन र अरुलाई सेवा लिन प्रेरित गर्नुहोस।हल्लामा विश्वास होइन बास्तविकताको आधारमा प्रमाणको आधारमा स्वास्थ्यकर्मीसंग सल्लाह लिनुहोस भन्ने सुझाव दिन चाहन्छु।
अन्तमा केही भन्नु छ कि ?
तपाईको पत्रिका मार्फत आम जनता समक्ष आफ्नो धारण प्रस्तुत गर्न पाउँदा खुसी लागेको छ।स्वास्थ्य जस्तो सम्वेदनशील विषयमा सबै सरोकारवालाहरुको साझा बुझाई हुनु पर्दछ।चिकित्सक तथा स्वास्थ्यकर्मीको परामर्श अनुसार मात्र औषधी प्रयोग र्ने बानीको विकास हुनुपर्दछ।नीति निर्माण तहमा रहेको जिम्मेवारी व्यक्तिहरुबाट महत्वपूर्ण भुमिका खेल्नु पर्दछ र सेवा प्रवाह छिटो – छरितो र प्रभावकारी बनाउन स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारी पालिकाको जनप्रतिनिधिज्यूहरुबाट अनुगमन, दण्ड/सजाय र राम्रो काम गर्ने स्वास्थ्यकर्मीको मूल्याङ्क भएको अवस्थामा अझ सेवामा सक्रीय हुने देखिन्छ।
















प्रतिक्रिया दिनुहोस्