- तिलक गौतम
बच्चा भाँडा खेलाउन खोज्छ, हामी तिनीहरू फुट्ने ठान्छौँ।बच्चा पानी खेलाउन खोज्छ, हामी पानी पोखिने वा बच्चा भिज्ने ठान्छौँ।बच्चा जेसुकै गरोस्, हामी समस्या बढ्ने ठान्छौँ।अनि शुरू हुन्छ धावा बोल्ने काम।यो पनि नगर, त्यो पनि नगर।अनि केचाहिँ गर्ने हो बच्चाले।बच्चा केही नगरी बस्नै नसक्ने, हामी उसलाई केही गर्नै नदिने।समस्या यहिँनेर छ।
आज भर्खरै हामीले बाल दिवस मनायौँ।बालबालिकाका सम्बन्धमा बहसहरू भए, छलफल तथा तर्कवितर्कहरू भए।कर्मकाण्डीय रूपमा वर्षैसाल हामी यस्ता दिवसहरू मनाउँछौँ। बालबालिकालाई उचित ध्यान नदिएको भनी राज्यलाई गाली गर्छौं, उपदेश दिन्छौँ।तर हामीले बालबालिकाप्रति हाम्रो आफ्नै व्यवहार कस्तो छ भनी कहिल्यै विश्लेषण गर्दैनौँ।हामी राज्यले यो गरेन, त्यो गरेन भन्न खप्पिस छौँ तर बालबालिकाप्रतिको आफ्नो व्यवहार सही वा गलत के छ, कहिल्यै सोच्तैनौँ।यस विषयमा, कमसेकम बाल दिवसको अवसर पारेर हामी ठूलाहरूले एक पटक स्वमूल्याङ्कन गर्नु सान्दर्भिक हुनेछ।
स्वभावैले बालबालिका चञ्चल हुन्छन्।खेल्न खोज्छन्।खान खोज्छन्।निर्वाध रूपमा रमाउन खोज्छन्।तर हामी आफ्नो सोच र परिपक्वताको ‘फ्रेम’ भित्र उनीहरूलाई जबरजस्ती कोच्न खोज्छौँ।बच्चा एक थोक गर्न खोज्छ, हामी तर्कको तगारो लगाइदिन्छौँ।बच्चा केही नयाँ गर्न खोज्छ, हामी परिस्थितिको नापतौल गर्न थाल्छौँ।बच्चा बेपरबाह अगि बढ्न खोज्छ, हामी बडप्पनको लगाम कस्न थाल्छौँ।जति बेला बच्चा केही खान खोज्छ, हामी हाम्रो पेट छाम्छौँ र खान मिल्ने नमिल्ने निर्धारण गर्छौं।यस्ता तमाम कुराहरू छन्, जसबारे हामी सोच्तै सोच्तैनौँ। हामी ठूलो हुनुको, पाको हुनुको र जान्ने हुनुको ध्वांस बालबालिकामा देखाइरहन्छौँ।हामी नै हौँ जो बाहिर कतैबाट ल्याएको तनाव बच्चामा खन्याउँछौँ।बाहिर कसैलाई जित्न नसकेको तुष बच्चामा थोपर्छौ।बच्चा कसरी बस्नुपर्ने, बच्चा कसरी बोल्नुपर्ने, बच्चा कति बोल्नुपर्ने, बच्चा कुन बेला हाँस्नुपर्ने, कुन बेला नहास्नुपर्ने, सबै हामी निर्धारण गर्न खोज्छौँ।बच्चाभित्र संस्कृति, संस्कार, ‘हुनर’ र ‘म्यानर’ हामी नै जबरजस्ती थोपर्न खोज्छौँ।बच्चाको संवेदनशीलता, रुचि, चाहना र क्षमताको ख्याल नगरी हामी हाम्रो रुचि उनीहरूमा लाद्न प्रयत्न गर्छौं।
बच्चा ढुंगा खेलाउन खोज्छ, हामी त्यसमा फोहोर देख्छौँ।बच्चा भाँडा खेलाउन खोज्छ, हामी तिनीहरू फुट्ने ठान्छौँ।बच्चा पानी खेलाउन खोज्छ, हामी पानी पोखिने वा बच्चा भिज्ने ठान्छौँ।बच्चा जेसुकै गरोस्, हामी समस्या बढ्ने ठान्छौँ।अनि शुरू हुन्छ धावा बोल्ने काम।यो पनि नगर, त्यो पनि नगर।अनि केचाहिँ गर्ने हो बच्चाले।बच्चा केही नगरी बस्नै नसक्ने, हामी उसलाई केही गर्नै नदिने।समस्या यहिँनेर छ।सबै कुरामा बच्चाको निर्णय परिपक्व नहुन सक्छ।बच्चाले गुणस्तर नचिन्न सक्छ।मौसम अनुसार कुन लुगा लगाउने भन्ने नजान्न सक्छ। खानाको प्रकृति अनुसार कुन खाने र कति खाने, थाहा नपाउन सक्छ।यस्तो बेला गाइड गर्ने हाम्रो कर्तव्य हो।तर आफ्नो सजिलो, चाहना र अहंकारभित्र बच्चाको कलिलो रहर निमिट्यान्न पार्ने र उसको प्राकृतिक स्वभावलाई जबरजस्ती उल्टाउन खोज्ने प्रवृत्तिलाई भने हामी ठूलाहरूले सच्याउनै पर्छ।
बच्चालाई तर्साएर, थर्काएर, हप्काएर वा पाटपिट पारेर नियन्त्रणमा राख्न खोज्नु सबैभन्दा ठूलो मूर्खता रहेछ।हामी बच्चालाई जति जबरजस्ती नियन्त्रण गर्न खोज्छौँ, त्यति नै धेरै जिङ्सिने, बुङ्सिने रहेछ।बच्चालाई डराएर, धम्क्याएर हामी जति नजिक र मान्ने बनाउन खोज्छौँ, बच्चा त्यति टाढा र नमान्ने हुँदो रहेछ।अनुभवले त्यस्तै भन्छ।मिहिन रूपमा विष्लेषण गरी हे¥यौँ भने बालबालिकाप्रतिका हाम्रा व्यवहार कम्ती अचम्मका हुँदैनन्।हामी बच्चाका लागि खेलौना किनिदिन्छौँ तर तिनको निर्वाध उपयोगमा अंकुश लगाउँछौँ।हामी बच्चाका लागि हर्लिक्स, फलपूmल वा अन्य चिजबिज किन्छौँ, तर तिनकै विषयमा बच्चालाई बारम्बार पिट्छौँ वा धम्क्याउँछौँ।अझ् डरलाग्दो कुरा के छ भने हामी बच्चालाई ‘यो गर्नुपर्छ, त्यो गर्नुपर्छ’ भनेर सिकाउँछौँ तर हाम्रो अपेक्षा अनुरूप नभए उनीहरूमाथि जाइलाग्छौँ।बिचरा तिनलाई थाहै हुँदैन— दोष के हो ?
के गर्ने त ?
जति सकिन्छ सकारात्मक बनौँ :बच्चाको अगाडि जति सकिन्छ, सकारात्मक कुरा गर्नु राम्रो हुन्छ।‘सकिन्छ’, ‘गर्नुपर्छ’, ‘हुनुपर्छ’ खालका पदावली प्रयोग गर्नु राम्रो हुन्छ।बच्चालाई यसो ‘गर्न सक्तैनस्’, ‘उसो गर्न सक्तैनस्’ भन्नु हुँदैन।‘यो नगर’ ‘त्यो नगर’, ‘यता नजाऊ’ ‘त्यता नजाऊ’, ‘यो नखाऊ’ ‘त्यो नखाऊ’, ‘यो नबोल’ ‘त्यो नबोल’, ‘योसँग नखेल’ ‘त्योसँग नखेल’ आदि पनि भन्नु राम्रो हुँदैन।बच्चालाई सकारात्मक मात्रै बन्न सिकायौँ भने पनि समाजका लागि ठूलो योगदान हुन पुग्छ।
जति सकिन्छ नरम बनौँ : हामी नै हौँ बच्चाका लागि प्रथम पाठशाला, शिक्षक वा गुरु।हाम्रा व्यवहारबाटै बच्चाले आफ्ना व्यवहार बनाउँदा रहेछन्।त्यसैले बच्चासँग र बच्चाका अगि सधैँ नरम बनौँ।हप्काउने, धम्क्याउने, ठूलो स्वरले झ्पार्ने, रिसाउने, मुरमुरिने, कड्किने जस्ता व्यवहार बच्चासँग नगरौँ।आफ्नो रिस काबु गरौँ।बच्चाका अगाडि ठूलाहरू नबाझैँ।सल्लाह र सहभागिताको संस्कृति सिकाऔँ।हल्ला, झ्गडा र रिसको संस्कृति नसिकाऔँ।
बच्चालाई काम दिऔँ : स्वभावैले बच्चाहरू केही न केही नगरी बस्नै सक्तैनन्।त्यस कारण तिनलाई केही न केही काम दिइरहनुपर्छ।उमेर, अवस्था हेरेर लेख्ने, चित्र बनाउने, ब्लकहरू मिलाउने, तरकारी भाँच्ने, किताब मिलाउने वा यस्तै कामहरू गर्न भन्न सकिन्छ।हामी जे काम गर्छौं, बच्चाहरू त्यही गर्न खोज्छन्।यसलाई हामी डिस्टर्ब मान्छौँ।खास गरी सानो परिवारमा डेरामा बस्नुपर्नेहरूका लागि यो अझ् बढी समस्याको रूपमा देखिन्छ।त्यस कारण ‘डिस्टर्ब’ गरेको ठानी हप्काउने वा आफूले गरेको काम छुनै नदिने नगरौँ।उसलाई के काम दिन सकिन्छ, आफूसँगै लगाऔँ।यसले बच्चा सन्तुष्ट हुन्छ, इन्गेज हुन्छ र सबैभन्दा ठूलो कुरा उसमा जिम्मेवारी र जवाफदेहिताको विकास हुन्छ।
प्रतिक्रियावादी (Reactive) नबनौँ : हामी बच्चाका हरेक गतिविधिमा तत्काल प्रतिक्रिया जनाउँछौँ।‘ए त्यो फुट्ला, ए त्यो ढल्ला, ए त्यसले पोल्छ, ए पिरो हुन्छ’, यस्तै यस्तै।बच्चाले जे गर्छ, गर्न खोज्छ, त्यसको नकारात्मक टिप्पणी वा प्रतिक्रिया।तर त्यसो नगरौँ।हामी पनि धैर्यशाली बनौँ।अनि मात्रै बच्चालाई धैर्यशाली बनाउन सक्छौँ।बारम्बारका प्रतिक्रियाले बच्चालाई चिडचिडे, अधीर र आत्तिने बनाउँदो रहेछ।केही गर्दा पनि बिग्रिहाल्छ कि भन्ने डर पैदा हुँदो रहेछ बच्चामा।त्यसैले बच्चाका गतिविधिलाई सकारात्मक रूपमा हेरौँ, प्रतिक्रियाका लागि धैर्यता गरौँ, तत्काल नबोलौँ।
बच्चालाई सुनौँ : हामी प्राय: ठूलाहरू बालबालिकाका कुरा सुन्दै सुन्दैनौँ या कम सुन्छौँ। बच्चाका प्रश्न, जिज्ञासा सुनिदिँदा उनीहरूमा सकारात्मक प्रभाव पर्छ।बच्चामा जिज्ञासुपन र ज्ञानको भोक बढाउने भनेकै हामीले हो।तिनका कुरा नसुनेपछि बच्चा बिस्तारै बोल्न छाड्छन्।मनका कुरा मनमै राख्ने अन्तरमुखी बन्छन्।हामी हाम्रा विभिन्न ‘ह्याङ’ का कारण बच्चाहरूलाई ‘ह्या¥यास’ गर्छौं।‘बाबा, रेशम फिरीरी भनेको के हो ?’, मलाई छोरीले सोधी।हामीलाई सिल्ली जस्ता लाग्ने यस्ता प्रश्न बच्चाहरू सोधिरहन्छन्।हामीलाई सिल्ली जस्ता लागे पनि बच्चाका लागि यिनले अहम् महत्व राख्छन्।त्यस कारण तिनका कुराहरू सुन्नुपर्छ।जिज्ञासा मेटिदिनुपर्छ।बच्चाका कुरा सुन्नेहरू मात्रै बच्चाका साथी, विश्वासी बन्न सक्छन्।अन्यथा बच्चाहरू आफ्नैबाट टाढिन्छन्।यसमा ख्याल गर्नु जरुरी छ।
बच्चाको खुशीलाई ध्यान दिऔँ : हामी ठूलाहरू हाम्रो आफ्नो खुशीका लागि प्रशस्त लगानी र प्रयत्न गर्छौं।लगाउने लुगाफाटोदेखि मन परेका सरसामान किन्न, चाहेको काम गर्न हामी हरदम लागिरहन्छौँ।हामीमध्ये कतिपय प्रत्येक दिन म्यारिज खेल्ने, विभिन्न थरी रक्सीको चुस्की लिने, नानाथरी रमाइलो गर्ने गरिरहन्छौँ।तर हामी बच्चाको खुशीलाई ध्यानै दिँदैनौँ।जबकि बच्चालाई खुशी पार्न हाम्रो जस्तो महँगो पर्दैन।बच्चासँग केही बेर ब्याडमिन्टन खेल्ने प्रयत्न गरौँ। बच्चालाई केही बेर ल्याप्टममा खेलाऔँ।किनमेल गर्न जाँदा बच्चालाई पनि हात समातेर लैजाऔँ।बच्चासँग कहिलेकाहीँ ‘मोटु पत्लु’ वा ‘निन्जा हतौरी’ हेरौँ।बच्चा त्यसै खुशी भइहाल्छन्।
हामी बच्चालाई जति धेरै समय दिन्छौँ, बच्चा उति धेरै खुशी हुन्छ।र बच्चा जति धेरै खुशी हुन्छ, उसको शारिरिक, मानसिक, भाषिक, सामाजिक, भावनात्मक वा संवेगात्मक विकास उति धेरै हुन्छ।त्यस कारण बच्चालाई खुशी तुल्याउन अधिकतम प्रयत्न गरौँ र उसको सर्वाङ्गीण विकासमा सकारात्मक योगदान गरौँ।
बच्चाको सुरक्षालाई ध्यान दिऔँ : बाल्यकालमा सबैभन्दा बढी संकटापन्न (Vulnarable) अवस्था हो।स्वाभाव र संकटापन्न अवस्थाका कारण बच्चाहरूमा सधैँ सुरक्षा खतरा रहिरहन्छ।त्यस कारण बच्चाहरूको सुरक्षालाई हामी ठूलाले पर्याप्त ध्यान दिनु जरुरी छ।हिँडडुल गर्दा वा दगुर्दा लड्ने, हातखुट्टा भाँच्ने, कौसी, बार्दली, छत वा यस्तै अग्ला ठाउँबाट खस्ने, खोलामा वा पोखरीमा डुब्ने, रूखबाट खस्ने, गाडी मोटरको ठक्करबाट अंगभंग हुने वा ज्यानै जाने लगायतका घटनाहरू आम रूपमा सुनिइरहन्छन्।हामीले थोरै भए पनि सजगता अपनायौँ वा ध्यान दियौँ भने यस्ता घटनाबाट बच्चालाई सुरक्षित राख्न सकिन्छ।यसका लागि हामी बच्चा सँगसँगै हुनु वा आफ्नो निगरानीमा मात्रै बच्चाहरूलाई छोड्नु राम्रो हुन्छ।बच्चाहरूलाई मनोवैज्ञानिक रूपमा समेत सुरक्षित राख्नुपर्छ।खास गरी ठूला बच्चाले साना बच्चालाई वा बलियाले कमजोरलाई गर्ने पेलाई (Bullying) र गलत व्यवहार, पाटपिट, धम्की आदिबाट जोगाउन विशेष ध्यान दिनु जरुरी छ भने अर्कातिर तिनीहरूलाई अँध्यारो, अग्लो ठाउँ, कुकुर वा अन्य यस्तै चिजबिजबाट हुने स्वाभाविक डरबाट पनि बचाउनुपर्छ।बच्चालाई संवेगात्मक रूपमा सबल बनाऔँ।उनीहरू डराउने कुरामा जबरजस्ती नगरौँ।भ्रमहरू हटाउने प्रयत्न गरौँ।
चक्लेटी माया नगरौँ : हामी बच्चालाई चक्लेट खुवाउन खुब मन गर्छौ।चक्लेट, चुइगम, चाउचाउ, बिस्कुट, बरफ लगायतका विभिन्न ‘जंक फुड’ हरू माया गर्ने नाममा बच्चालाई नखुवाऔँ।हिजोआज चक्लेट, चुइगमको बानी बच्चाहरूमा नराम्ररी बढिरहेको छ।र यसले कुपोषण लगायतका विविध स्वास्थ्य समस्याहरू बढिहेका छन्।फेन्टा, कोकाकोला, पेप्सी लगायतका पेय पदार्थ अत्यधिक खान खोज्ने तथा हरपल टेलिभिजन हेरिरहन खोज्ने बानीलाई पनि दुरुत्साहन गरौँ।बाहिरबाट आउँदा वा बच्चाहरूलाई घुमाउन लैजाँदा चक्लेट, चुइगम दिएर माया देखाउने प्रवृत्ति हटाउनुपर्छ।हामीले गर्ने चक्लेटी मायाले अन्तत्वोगत्वा बच्चाहरूमा नकारात्मक असर गर्छ।बच्चाका कतिपय हठहरू प्रष्ट रूपमा नकार्नु पनि पर्छ।जोसँग पनि पछि लागेर जान खोज्ने, पसलमा जे पनि किनाउन खोज्ने, सलाई, लाइटर खेलाउन खोज्ने जस्ता बालचाहना, हठ वा स्वभावालाई नकार्न सक्नुपर्छ।बच्चा एक–दुई पटक रुन, कराउन, रिसाउन, वा ठुस्सिन सक्छ।यस्तोमा हामी गल्नु हुँदैन।सही कुरा बुझउने प्रयत्न गर्नुपर्छ।
आफै बनौँ रोलमोडल :हाम्रा हरेक गतिविधिमा बच्चाको नजर र निगरानी हुन्छ।त्यस कारण हाम्रो व्यवहार सही र सकारात्मक हुनु जरुरी छ।जाँडरक्सी खाने, चुरोटबिँडी तान्ने, तास खेल्ने, अर्कालाई होच्याएर बोल्ने, अर्काका कुरा काट्ने, काम नगरी बस्ने, सरसफाई नगर्ने, झ्गडा गरिरहने लगायतका कुराहरूले बच्चालाई पनि त्यस्तै सिकाउँछ।तसर्थ हामी बच्चाका अगाडि सधैँ रोलमोडल बन्न प्रयत्न गरौँ।आफू राम्रो बनौँ, बच्चाहरूलाई राम्रो बनाऔँ।











प्रतिक्रिया दिनुहोस्