२०८३ साउन १५ गते शुक्रवार

माओवादी केन्द्र अर्घाखाँचीले संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन



नेकपा माओवादी केन्द्र अर्घाखाँचीले ११ औं संविधान दिवस २०८२ को अवसरमा शहिद स्मृति प्रतिष्ठान भवनमा दीप प्रज्ज्वलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज ठाकुर कुमार विक ‘किशोर’ले संविधानको रक्षा र कार्यान्वयनका लागि सक्रिय हुन सबैलाई आह्वान गर्नुभयो । उहाँले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो।

नेता विकले भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका क्रममा केही घुसपैठ भएको र अर्घाखाँची जिल्लामा पनि अपूरणीय क्षति भएको बताउँदै दोषीलाई कानूनी दायरामा ल्याउनुपर्ने माग गर्नुभयो । फरक परिवेश र परिस्थितिमा संविधान दिवस मनाउनुपर्ने अवस्था आउनु दुःखद भएको उल्लेख गर्दै उहाँले संविधान ल्याउन बलिदानी दिने बेपत्ता योद्धा, घाइते योद्धाप्रति सम्मान व्यक्त गर्नुभयो ।

संविधानले सबैलाई अधिकार दिएकोले अब व्यवस्था परिवर्तनका लागि नभई अवस्था परिवर्तनका लागि लड्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा केन्द्रीय सदस्य तथा पूर्व राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का ‘उज्ज्वल´ केन्द्रीय सदस्य छमकुमारी खनाल ‘चिनारी’, जिल्ला संयोजक राजेन्द्र भुसाल लगायतका नेता कार्यकर्ताको उल्लेखनीय सहभागिता थियो ।

प्रदेश सचिवालय सदस्य तथा सन्धिखर्क इन्चार्ज देव बहादुर रायमाझीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा जेनजीको आन्दोलनमा आगजनी भएको पार्टी कार्यालय नेता कार्यकर्ताको श्रमदानबाट पुनर्निर्माण गर्ने उद्घोष गरिएको थियो ।

प्रकाशित मिति : २०८२ असोज ४ गते शनिवार