रुकुम पूर्व । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको आयोजनामा संविधानको रक्षा र समसामयिक राजनीतिक विषयमा केन्द्रित अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा केन्द्रदेखि स्थानीय तहका नेता तथा प्रतिनिधिहरूले संविधानको संरक्षण, जेनजी आन्दोलनको पृष्ठभूमि र आगामी राजनीतिक मार्गरेखाबारे विस्तृत धारणा राखेका छन् ।
मुख्य अतिथि तथा पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज तेजबहादुर ओलीले नयाँ पुस्ताले माओवादीका मूल विचारहरू अंगिकार गरिरहेको बताए । उनका अनुसार जेनजी आन्दोलनले माओवादीको एजेन्डालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ। ओलीले प्रधानमन्त्री प्रचण्डको राष्ट्रपतिको साथमा भएको लामो छलफलकै कारण संविधान जोगिएको दाबी गर्दै, “रूपान्तरणमा ढिलाइ भयो भने जेनजी जस्तै अर्को आन्दोलन अपरिहार्य बन्न सक्छ,” भन्ने चेतावनी दिए ।
केन्द्रीय वैकल्पिक सदस्य मेघबहादुर श्रेष्ठले जेनजी आन्दोलनमा विभिन्न षड्यन्त्रकारी तत्वले अवसर खोजेको आरोप लगाउँदै सरकारको अहंकार र तानाशाही प्रवृत्तिले आन्दोलनलाई सडकमा ल्याएको बताए। स्पष्ट दर्शन र मार्गदर्शनको कमीले आन्दोलन अधुरो रहनु उनको मूल्यांकन थियो ।
त्यसैगरी, जिल्ला पार्टी इन्चार्ज तथा केन्द्रीय वैकल्पिक सदस्य रामसुर बुढाले जेनजीको माग माओवादीकै पुराना मुद्दासँग मेल खाने बताए। कार्यकारी राष्ट्रप्रमुखको व्यवस्था संस्थागत गर्नुपर्नेमा जोड दिंदै उनले आन्दोलन अन्तिममा संसद् विघटन र चुनावमा सीमित भएको टिप्पणी गरेका छन् ।
केन्द्रीय वैकल्पिक सदस्य होम प्रकाश श्रेष्ठले जेनजी पुस्ताको विद्रोहलाई स्वीकार गर्दै आगामी निर्वाचनको अनिश्चितताबारे चिन्ता व्यक्त गरे। “चुनावमा जाने हो भने हाम्रो मुद्दा स्पष्ट हुनुपर्छ,” उनको भनाइ थियो ।
लुम्बिनी प्रदेश समिति सदस्य उपेन्द्रलाल कामीले श्रम र उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदै जेनजी आन्दोलनलाई समाजवादको आधारशिला ठहर गरे। नेतृत्वमा आउन चाहने व्यक्तिले आफ्नो दृष्टिकोण समयमै जनतालाई प्रष्ट पार्नुपर्ने उनको सुझाव थियो ।
प्रदेश समिति सदस्य रुपधन कामीले जिल्लामा पार्टी सचिव चयन नहुँदा संगठनात्मक कार्य अस्तव्यस्त भएको भन्दै तत्काल पदपूर्ति गर्न माग गरेका छन् ।
अखिल नेपाल शिक्षक संगठन रुकुम (पूर्व) अध्यक्ष जोखबहादुर लामिछानेले “जनता त सही छन्, नेताहरूले मात्र सुध्रिनुपर्ने हो,” भन्दै संविधानको रक्षा सबैको साझा जिम्मेवारी भएको बताए ।
नेपाल दलित मुक्तिमोर्चा जिल्ला अध्यक्ष हर्कवीर कामीले उत्पादन र श्रमलाई अगाडि बढाउन नसके समाजवादको लक्ष्य अधुरै रहने चेतावनी दिए। राजनीतिज्ञहरू स्वयं श्रम र व्यवसायमा संलग्न हुनुपर्ने उनको धारणा थियो ।
अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष चन्द्र रसाइलीले संविधान रक्षा अभियानमा माओवादी अग्रपंक्तिमा उभिनुपर्ने आवश्यकता औंल्याउँदै, जेनजी आन्दोलनको समयमा वाइसीएल र विद्यार्थी संगठनले पार्टी र नेतृत्वको सुरक्षा सुनिश्चित गर्न नसकेको भन्दै प्रश्न उठाए ।
अन्य सहभागीहरूले पनि नेताहरूले समयमै सुधार नगरे जेनजी जस्तै आन्दोलन पुनः भड्किन सक्ने चेतावनी दिए ।
कार्यक्रमको समापन गर्दै जिल्ला पार्टी संयोजक कुमारी बरालले संविधानको रक्षा राजनीतिक दलहरूको साझा दायित्व भएको र माओवादीलाई अझ ठूलो जिम्मेवारी वहन गर्नुपर्ने बताए । उनले जिल्लाभरका जनवर्गीय संगठनको पहिलो चरणको बैठक र छलफल सम्पन्न भएको उल्लेख गर्दै आगामी कार्यक्रमलाई निरन्तर अघि बढाउने प्रतिवद्धता जनाए ।











प्रतिक्रिया दिनुहोस्