२०८३ साउन १५ गते शुक्रवार

सामाजिक व्यक्तित्व नन्दलाल श्रेष्ठको निधनले सिंगाे समाजलाइ अपूरणीय क्षति : मुख्यमन्त्री आचार्य



अनिल नेपाली : अर्घाखाँची

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अग्रज सामाजिक व्यक्तित्व नन्दलाल श्रेष्ठको निधनले सम्पूर्ण समाजले अपूरणीय क्षति व्यहोर्नु परेको भन्दै गहिरो दुःख प्रकट गर्नुभएको छ । शनिबार नेकपा (एमाले) अर्घाखाँची जिल्ला कमिटीले सन्धिखर्कमा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले श्रेष्ठको निधनले आफू अत्यन्त मर्माहत भएको बताउनुभयो । दिवंगत श्रेष्ठ जिल्लाको सामाजिक, राजनीतिक र शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने धरोहर व्यक्तित्व भएको उल्लेख गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

मुख्यमन्त्री आचार्यले श्रेष्ठलाई नेकपा (एमाले) अर्घाखाँचीका असल अभिभावकको रूपमा स्मरण गर्नुभएकाे छ ।`पार्टीमा आईपर्ने हरेक कठिनाइमा उहाँले संरक्षकको भूमिका निर्वाह गर्नुभयो । उहाँ केवल संरक्षक मात्र होइन, मेरो व्यक्तिगत जीवनमा मार्गदर्शक पनि हुनुहुन्थ्यो । कठिन घडीमा उहाँले मलाई सधैं ऊर्जा र प्रेरणा दिनुभयो´भावुक हुँदै मुख्यमन्त्री आचार्यले भन्नुभयाे ।

सन्धिखर्क बजार विस्तार, सदरमुकाम स्थापना तथा जनज्योति र भगवती माध्यमिक विद्यालयको स्थापना र विकासमा श्रेष्ठले पुर्याएको योगदान अमूल्य रहेको मुख्यमन्त्री आचार्यले बताउनुभयो ।

श्रद्धाञ्जली सभामा वक्ताहरूले श्रेष्ठको जीवनीबारे प्रकाश पार्दै उहाँको सामाजिक, राजनीतिक तथा शैक्षिक योगदानलाई उच्च मूल्याङ्कन गरेका थिए । लामो समयसम्म वडाध्यक्ष र उपप्रधानपंचको जिम्मेवारी सम्हाल्दै जिल्लाको प्रशासनिक केन्द्र सन्धिखर्क ल्याउन र त्यसको व्यवस्थापनमा उहाँले महत्वपूर्ण भूमिका खेल्नुभएको स्मरण गरिएको थियो । विद्यालय, धार्मिक स्थल तथा पूर्वाधार निर्माणमा उहाँको सक्रियता उल्लेखनीय रहेको स्मरण गरिएको थियाे ।

श्रद्धाञ्जली सभामा एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष कुशल भुसालले श्रेष्ठको जीवनीकाे ब्याख्या गर्नुभएको थियाे । कार्यक्रममा मौनधारणसहित तस्बिरमा फूल र अबिर अर्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो ।श्रद्धाञ्जली सभामा एमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्य नरेन्द्र कुमार क्षेत्री र जनार्जन खनाल, एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसाल, नेपाली कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठसहित विभिन्न राजनीतिक दलका जिल्ला, नगर र वडा तहका नेताकार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८२ असोज ४ गते शनिवार