२०८३ साउन १४ गते बिहिवार

सर जी नोट साट्नु थियो पो ! हा! हा! हा



 सर जी नोट साट्नु थियो पो !
रुकुमपूर्वको नेपाल बैंक अगाडि दशैंमा चहलपहल छ। मानिसहरू “नयाँ नोट” लिएर दैलो सजाउन, टिका थाप्न, दाजुभाइसँग रक्सी–मासु खान उत्साहित छन्। तर, यो उत्साह बैंकको ढोका पार गर्दा एक्कासि फिका हुन्छ।

“१० हजार भएमा मात्र!” भनेर काउन्टरभित्रको कर्मचारीले घोषणा गर्छ। मानौं, दशैंको रस्म–रिवाज पनि बैंकले क्यालकुलेटरमा मिलाएरै मनाउनुपर्ने भयो।

एक वृद्ध किसान काउन्टरमा पुग्छन्। उनको खल्तिमा २ हजार मात्र छ।
“मलाइ त २ हजारकै नयाँ नोट चाहिन्छ,” उनले भन्छन्।
कर्मचारी मुस्कुराउँछन्, तर त्यो मुस्कानमा सरकारी नियमको कठोरता मिसिएको छ।
“बा, तपाईँलाई नयाँ नोट त पाइन्छ, तर १० हजारभन्दा बढी ल्याएको भए अझै राम्ररी चिनेको जस्तो हुन्थ्यो।”

त्यति खेर लाग्छ, दशैंमा कर्मचारीले होइन, नोटले नै गरिब–धनी छुट्याइदिएको हो।
१० हजार ल्याउनेलाई “सम्मानित ग्राहक”,
२ हजार ल्याउनेलाई “तरकारीको झोलामा राख्ने ग्राहक”।

बाहिर भीडमा एक जना युवक व्यंग्य गर्दै भन्छ,
“अब दशैंमा आशिर्वाद दिने शब्द पनि बदलिनुपर्ने रहेछ नि —
धेरै नोट आओस्, बैंकले चिनोस्।”

दशैं भनेको परिवार, संस्कार, साझा खुशी हो। तर नेपाल बैंकको यो नयाँ नियमले दशैंलाई पैसाले नाप्ने तराजुमा राखिदिएको छ। कर्मचारीले त नियम मात्र पालन गरेका हुन्, तर नोटले नै गरिब–धनी छुट्याएर दशैंको आत्मालाई व्यंग्य गरिदिएको छ।

प्रकाशित मिति : २०८२ असोज १२ गते आइतवार