२०८३ बैशाख ५ गते शनिवार

अन्वेषण : दशैं र अनुभूति तिलक गौतम



तिलक गौतम

नेपालीहरुको महान पर्व बडा दशैं यतिवेला सबै नेपालीहरुको घर आँगनमा आईपुगेको छ। खासमा हिन्दु धर्मावलम्वीहरुले मनाउने पर्वको रुपमा भएपनि यो अहिले नेपालको राष्ट्रिय पर्वकै रुपमा स्थापित भएको छ।हर्सोल्लाषको पर्व¸खुशी र उमङंगको पर्व एवम् सत्य र सहिष्णुताको पर्वको रुपमा स्वदेश र विदेशमा धुमधामसँग दशैं मनाइन्छ।दशैंको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको पारिवारिक मिलन हो।स्वदेश वा विदेशमा जुनसुकै ठाउँमा रहेपनि दशैंको वेला एउटै थलोमा जम्मा हुनु र मान्यजनबाट टिका¸जमरा र आशिर्वाद ग्रहण गर्नु यसको अनुपम विरासत हो।कामकाजको सिलसिलामा छुट्टिए पनि वर्षको एकदिन पारिवारिक मिलन बनाउने दशैं पर्व आफैमा एक महत्वपूर्ण निधी हो।आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म ९ दिन नवदुर्गा भगवतिको पूजा अर्चना सहित यो पर्व मनाइन्छ।विधिपूर्वक घटस्थापना गरेदेखि पहिलो दिन शैलपुत्री देवी¸दोस्रो दिन ब्रम्हचारीणी¸ तेस्रो दिन चन्द्रघण्टा¸ चौथो दिन कुष्माण्डा¸ पाँचौ दिन स्कन्दमाता¸ छैठौं दिन कात्यायनी¸ सातौ दिन कालरात्री¸ आठौं दिन महागौरी¸ र नवौं दिन सिद्धीदात्रीको पुजा गरी शक्तिको आराधना गरिन्छ। भगवतीले दानवमाथि र रामले रावणमाथि विजय हासिल गरेको दिनको सम्झनामा दशौं दिन आफुभन्दा ठूलाबाट रातो टिका र जमरा लगाउने र आशिर्वाद थाप्ने प्रचलन रहेको छ।असत्यमाथि सत्यको बिजयको रुपमा दशैं पर्व जुग जुगान्तर चलि रहने छ।

मानिसहरुको वदलिदों रहनसहन र प्रविधिको विकासले गर्दा होला अहिले दशैं पहिले भन्दा कतिपय कुराहरुमा फरक बन्दै गएकोजस्तो लाग्छ।दशैं मनाउने तरीका र दशैंलाई ग्रहण गर्ने तरीका अहिले अलिक साघुरीएका हुन की ? हुनत यो आ-आफ्नो बुझाई पनि हुन सक्छ तर पनि दशैंको रौनकता अहिले भन्दा हामी सानो हुँदा बढी उल्लासमय हुन्थ्यो जस्तो लाग्छ।

हामी कक्षा ४/५ मा पढ्दा होला¸दशैंको शुरुवात विद्यालय रङगाउने कार्यबाट हुन्थ्यो। घटस्थापनासँगै करिव १ महिना विदा हुने भएकोले विदा अगावै हामी विद्यालयमा कमेरो छ्याप्थिम।विद्यालयमा ५ सम्म पढाइ हुने भएकोले  ४/५ कक्षाका अलि ठूला विद्यार्थी कमेरो ल्याउन गैरीसाज वा कुरेपानी जान्थिम।विद्यालय छ्यापीसकेपछि छिप्रिदहमा पखाल्लीन जानुको छुट्टै मजा हुन्थ्यो।छिप्रिदहमा डुवेर एकपटक झन्डै ज्यान गएको घटना मेरो मानस्पटलमा अहिलेपनि ताजै छ।

विद्यालयसँगै अव घर छ्याप्ने पालो हुन्थ्यो।हामी घरमा कहिलै कमेरो छ्याप्थिम त कहिलै पहेंलो माटो।झ्याल ढोका रङ्ग्याउने कालीमाटी ल्याउन धौलापहिरा जानु पर्थ्यो।पछि पछि रेडियो बजाएर सक्कीएका ब्याट्री फुटालेर पनि झ्याल रङ्गाउने काम हुन्थ्यो।घर छ्याप्ने कार्यले दशैं आइसकेको सङ्केत गर्थ्यो।अष्टमीका दिन भगवती मन्दिरमा मेला हुन्थ्यो।त्यो वर्षको पहिलो नयाँ लुगा त्यसै दिन लाइन्थ्यो।तर कहिलेकाही सिलाउन दिएको नयाँ लुगा ननिवाज्दिएर अष्टमी खल्लो हुन्थ्यो।लुगा सिलाई नदिउन्जेलसम्म हामी सिलाउने ठाउँमै पलेटी कस्थिम्।कहिलेकाही लुगा पाउन दशमीकै दिनसम्मै कुर्नु पर्थो।कहिले काही बुवा काठमाडौं गएको मौका पर्यो भने रेडीमेड लुगा पनि लाउन पाइन्थ्यो।जे होस् नयाँ लुगा लाउन दशैं आउनु पर्थ्यो।नयाँ लुगाले दशैंमा नया उमङ्ग थप्थ्यो।

उतीवेला अहिलेको जस्तो मासु फालाफाल हुँदैन थियो दशैंमा।हाम्रो परिवार ठूलो थियो।घरमा छुट्टै बोका काट्ने खासै प्रचलन थिएन।तथापि गाउँमा काटेको ठाउँबाट मासु ल्याइन्थ्यो। अहिलेको जस्तो प्रेसर कुकर थिएनन् त्यतीवेला।कसौडीमा पानी थपी थपी पकाको मासु खुव मिठो हुन्थ्यो।मासु पकाउँदा त्यसको बास्ना परपरसम्मै पुग्थ्यो।दशमीको दिन टिका लाउन हजुरवाको घरमा जम्मा हुनु पर्थ्यो।नयाँ लुगा लाएर टिका थाप्न जाँदा ज्यान अति फुरुङ्ग हुन्थ्यो।अहिले यसो सम्झिन्छु वास्तविक दशैं त पहिले नै थियो।जव उमेर बढ्दै गयो ¸दशैंको अनुभव पनि बद्लिदैं गयो।सानो छँदाको जस्तो उमङ्गता ठूलो भए पछि नहुँदो रहेछ शायद।

अहिले दशैंमा तडकभडक बढेको छ।सकिनसकि घरघरमा बोका काट्ने होडबाजी जस्तै छ। हुने र नहुनेबीचमा तिक्तता देखाउने व्यवहार यो पर्वको नराम्रो पक्ष हो जस्तो लाग्छ।परम्परा र संस्कृतिको अभ्यास गर्दे गर्दा मानवता¸सहिष्णुता¸समता र हार्दिकतालाई कहिलै भुल्न हुँदैन।दशैं पारिवारिक मिलन¸सौहार्दता र सामाजिक संवादको पर्व बन्नु पर्छ।दशैं प्रत्येक वच्चाको जीवन्त अनुभूतिको अवसर बन्न सक्नु पर्छ।यतिवेला विद्यालय¸कार्यालय¸कलकारखाना र संस्थाहरु बन्दछन्।यो समयलाई विशेषगरी बालबालिकाहरुका लागि रचनात्मक र सामाजिक बनाउन सक्नु पर्छ।यस्तैबेला हो बालबालिकाहरुमा राष्ट्रियता¸सहिष्णुता¸समता¸सामाजिकता¸आदर सम्मान र संस्कृति प्रतिको सद्भाव विकास गर्ने।दशैंका प्रत्येक अवयवहरुमा बालबालिकालाई जोडौं।दशैंको बारेमा निबन्ध लेख्ने¸चित्र बनाउने¸घरको सरसफाई गर्ने¸सामाजिक जमघट्मा सहभागि बनाउने लगायतका कार्यबाट बाल बालिकाहरुलाई दशैंसँग प्रत्यक्ष रुपमा जोड्न सकिन्छ।दशैंलाई मस्ती गर्ने¸खानेपिउने र कोठाभित्र चुकुल लगायर इन्टरनेटमा शयर गर्ने फुर्सदको रुपमा मात्रै लिनु हुँदैन।यो दशैं समस्त सबैका लागि उल्लासमय¸सौहार्द¸सहज र जीवन्त बन्न सकोस् ¸हार्दिक मङ्गलमय शुभकामना।

प्रकाशित मिति : २०८२ असोज १२ गते आइतवार