२०८३ बैशाख ५ गते शनिवार

मानसिक स्वास्थ्यमा मौनता र यसको कारण



गिता विश्वकर्मा 

नेपालमा मानिसहरूले मानसिक स्वास्थ्यका बारेमा खुलेर बोल्न अझै हिच्किचाउने गरेका छन्। शारीरिक स्वास्थ्य जस्तै मानसिक स्वास्थ्य पनि मानव जीवनको महत्त्वपूर्ण पक्ष भए तापनि यसबारे खुलेर कुरा गर्न समाज अझै तयार छैन।विशेषगरी नेपाली समाजमा मानसिक स्वास्थ्यलाई नकारात्मक दृष्टिकोणले हेर्ने प्रवृत्ति गहिरो जरा गाडेर बसेको छ।मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिहरूलाई “पागल”, “मेन्टल” जस्ता असभ्य र अमानवीय शब्द प्रयोग गरी जिस्काउने, गाली गर्ने, र समाजमा अपहेलित गर्ने संस्कार अझै प्रचलनमा छ।यसले गर्दा प्रभावित व्यक्तिहरूमा लाज, अपमान र बहिष्कृत हुने भय पैदा हुन्छ।मानसिक स्वास्थ्य समस्या भएकालाई कमजोर वा लाजको विषय ठान्ने सोचले पनि उनीहरूलाई मौन रहन बाध्य बनाउँछ।

त्यसमा थप, मानसिक स्वास्थ्य सामान्य जीवनको एक हिस्सा हो भन्ने बुझाइको अभाव छ। धेरैलाई मानसिक समस्या भनेको “नदेखिने रोग” हो, त्यसैले महत्व नदिने प्रवृत्ति छ।गोपनीयता कायम नहुने डर, गलत व्यक्तिसँग समस्या साझा गर्दा बदनाम हुने आशंका, रोजगारी, विवाह वा भविष्यका अवसरमा प्रतिकूल असर पर्न सक्ने भयले पनि मानिसलाई यस विषयमा बोल्न रोक्छ।यसका अतिरिक्त, धेरैले सहयोग नपाउने अनुभव गरेका छन्।समस्या सुनाउँदा गम्भीरतापूर्वक नलिने वा वास्तविक सहयोग नगर्ने अवस्था पनि रहँदै आएको छ।त्यसमाथि परिवार वा संस्कृतिको दबाबले “यस्ता कुरा बाहिर भन्नुहुन्न” भन्ने सोचलाई अझ गहिरो बनाएको छ।यी सबै कारणले गर्दा मानिसहरूले मानसिक स्वास्थ्यबारे खुलेर बोल्न डराउने गरेका छन्।

सकारात्मक वातावरण बनाउन सकिने उपायहरू

मानसिक स्वास्थ्यबारे खुलेर बोल्ने वातावरण बनाउन विभिन्न तह र स्तरमा सामूहिक प्रयास आवश्यक छ।सचेतना अभिवृद्धि विद्यालय, कार्यलय तथा समुदायमा नियमित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ। मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य सरह महत्त्वपूर्ण हो भन्ने सन्देश फैलाउनुपर्छ।गोपनीयताको सुनिश्चितता मनोपरामर्श, उपचार र मनोविमर्श सेवामा गोपनीयता कायम गर्नुपर्छ।हेल्पलाइन वा अनलाइन परामर्श सेवा सहज उपलब्ध गराउन सकिन्छ, जसले मानिसलाई सुरक्षित महसुस गराउँछ।सकारात्मक उदाहरण प्रस्तुत गर्नेसार्वजनिक व्यक्तित्व, सामुदायिक अगुवा वा समाजमा प्रभावशाली व्यक्तिहरूले आफ्ना अनुभव र दृष्टिकोण साझा गर्ने हो भने अरूलाई पनि सहज रूपमा बोल्ने हौसला मिल्छ।कानुनी र नीतिगत सहयोग कार्यस्थल, विद्यालय र सम्बन्धित संस्थाहरूमा मानसिक स्वास्थ्य अनुकूल नीति बनाउनुपर्छ। भेदभाव वा अपमानजनक व्यवहारविरुद्ध कानुनी सुरक्षा सुनिश्चित गर्न आवश्यक छ।हानुभूति र समर्थन मानसिक स्वास्थ्य समस्या शारीरिक रोग सरह उपचार गर्न सकिने कुरा बुझाउनुपर्छ। पीडामा परेका व्यक्तिहरूलाई सुन्ने, समझदारी देखाउने र सहयोग गर्ने संस्कार विकास गर्नुपर्छ।मानसिक स्वास्थ्यबारे मौनता तोड्न व्यक्तिगत, पारिवारिक, सामुदायिक र संस्थागत सबै तहमा एकसाथ पहल गर्नु अपरिहार्य छसचेतना, गोपनीयता, संवाद, कानुनी सुरक्षा, सहानुभूति र समाजमा सकारात्मक सोचको विकास भए मात्र मानिसहरूले आफ्नो समस्या सहज रूपमा साझा गर्न सक्ने वातावरण तयार हुन्छ।मानसिक स्वास्थ्य समस्यालाई कमजोरी वा लाजको कुरा नभई सामान्य र उपचारयोग्य रोगका रूपमा बुझ्ने संस्कार विस्तार हुन सकेमा मात्र हाम्रो समाज यस विषयमा परिपक्व बन्न सक्छ।

प्रकाशित मिति : २०८२ असोज १३ गते सोमवार