- जीवन कुमार खड्का सहायक प्रमुख जिल्ला अधिकारी
मानव स्वास्थ्य र उपभोक्ता अधिकार जिल्ला प्रशासन कार्यालयको प्रमुख दायित्वमै पर्छ र यसका लागि नियमित बजार अनुगमन गर्ने गरेका छौं।प्रत्येक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई उपभोक्ता संरक्षण ऐनमा उल्लिखित निरिक्षण अधिकृतको अधिकार दिइएको हुन्छ।नेपालभरी नै चाडपर्वको समयमा बजार अनुगमनले प्राथमिकता एवम् तीव्रता पाएको पाइन्छ र हाम्रो जिल्लामा पनि।रुकुम (पूर्वी भाग) जिल्लामा उपभोक्ताको हित संरक्षण गर्न जिम्मेवारी प्राप्त निकाय प्रशासन कार्यालय मात्र भने होइन्।जिल्लाका तीन वटै स्थानीय तह, घरेलु तथा साना उद्योग विकास कार्यालयहरु पनि जिम्मेवारी प्राप्त निकाय हुन्।यस जिल्लामा यी सबै निकायहरुको सहभागितामा संयुक्त रुपमा बजार अनुगमन हुने गरेको छ र यो वर्ष पनि यसले निरन्तरता पाएको छ।
चाडपर्वमा खाद्यान्नको विक्रि वितरण अन्य समयको तुलनामा अधिक हुने र यसैको मौका छोपी केही विक्रेताहरुले म्याद गुज्रेका, मानव स्वास्थ्यका लागि हानिकारक वस्तुहरु विक्रि गर्ने, मुल्य वृद्धि गर्ने, नापतौलमा ठगी गर्ने जस्ता कार्यहरु गर्न सक्छन्।यसलाई दृष्टिगत गरी यस जिल्लामा हाल संयुक्त रुपमा बजार अनुगमन हुँदै आएको छ।असोज ७ र ८ गते सिस्ने गाउँपालिकाको रुकुमकोट बजारका अधिकांश खाद्यान्न विक्रेताहरुलाई अनुगमन गरिएको थियो।नतिजा सोचे भन्दा फरक आयो यहाँ म्याद गुज्रिएका वस्तुहरु अत्याधिक भेटिएका छन्।यस क्रममा करिब रु १ लाख १० हजार बराबरको म्याद गुज्रिएका वस्तुहरु जफत गरि नष्ट गरिएको छ।यो हाम्रो सफलता होइन यो त व्यवसायिहरु नैतिकवान नभएको अवस्था हो।कोक, फ्यान्टा जस्ता पियपदार्थहरु, चामल, आटा, विस्कुट, मसला, चियापत्ती जस्ता बस्तुहरु म्याद नाघेका पाइएका छन।यस जिल्लामा जागरुक उपभोक्ता न्यून छन् र जिम्मेवार व्यवसायी पनि।मुख्य गरी ठुला होलसेलरहरुले स-साना व्यापारीहरुलाई म्याद गुज्रिनै लागेका वस्तुहरु सस्तो मुल्यमा विक्रि गर्ने र स-साना व्यापारीहरुले उपभोक्ताहरुलाई विक्रि गर्ने गरेको देखियो।वस्तुहरुको कृत्रिम अभाव त देखिएन तर मुल्य सूची नराख्ने, राखे पनि हालको मुल्य नराख्ने, व्यवसाय दर्ता नगर्ने, नियमित रुपमा नविकरण तथा करचुक्ता नगर्ने, प्रमाणित नापतौल यन्त्र प्रयोग नगर्ने जस्ता प्रवृत्ति भने पाइयो।यो आर्थिक वर्षमा हामीले म्याद नाघेका वस्तुहरु जफत गरी नष्ट गरी विक्रेतालाई कानुनी दायित्व सम्बन्धमा सचेत गराएका छौ।केही व्यवसायी सचेत पनि छन्।
पटक पटक सचेत गराउदा पनि नसच्चिए उपभोक्ता संरक्षण ऐन बमोजिम कानुनी कारवाही गरिने छ। विक्रेताले म पनि उपभोक्ता हुँ है भन्ने बोध गरेको पाइएन।यहाँ उपभोक्ता सचेतनाको धेरै आवश्यकता देखियो।हाम्रो उद्देश्य भनेको बजारलाई अनुशासित, नैतिक्तायुक्त र विश्वसनिय एवम् उपभोक्तामैत्री बनाउनु हो।बजार अनुगमनले ग्रामिण क्षेत्रका उपभोक्ताहरुलाई सम्भावित स्वास्थ्य जोखिमबाट जोगाउनुको साथै बजारमा अनुशासन कायम गर्ने सन्देश पनि पुगेको छ।प्रत्येक उपभोक्ताहरुले आफूले उपभोग गर्ने वस्तु गुणस्तर र स्वस्थकर छ छैन बुझेर मात्र खरिद गरौं र विक्रेतालाई प्रश्न गर्ने बानीको विकास गरौं।उपभोक्ता अधिकार मानव अधिकार हो सबैले सम्मान गरौं।











प्रतिक्रिया दिनुहोस्