२०८३ साउन १४ गते बिहिवार

रुकुमपूर्वकाे पुपाल बुकिमा चौँरी पालन 



समाचार सारांश
Generated Using AI
  • रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–१ र २ का बुकी पाटन क्षेत्रमा दुई वर्षअघि सुरु गरिएको चौँरी पालन सफल भएको छ।
  • सुरुवाती २८ मध्ये २३ चौँरीबाट संख्या बढेर हाल ४३ पुगेको छ।
  • परीक्षण सफल भएपछि चौँरी पालनलाई व्यवसायिक रूपमा विस्तार गरी स्थानीय आयआर्जन र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने योजना बनाइएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्वमा चौँरी पालन सफल बन्दै गएको छ। पुथाउत्तरगङ्गा गाउँपालिका–१ र २ का उच्च पहाडी पाटन क्षेत्रमा सुरु गरिएको चौँरी पालनले छोटो अवधिमै उल्लेखनीय परिणाम देखाएको छ।दुई वर्षअघि पुथाउत्तरगङ्गा गाउँपालिका–१ र २ का बुकी पाटन क्षेत्रमा परीक्षणका रुपमा चौँरी पालन सुरु गरिएको थियो। लुम्बिनी प्रदेश सरकारको ८ लाख र गाउँपालिकाको १० लाख रुपैयाँ गरी १८ लाख रुपैयाँमा २८ वटा चौँरी डोल्पाबाट खरिद गरी ल्याइएको थियो।

वडा नम्बर १ का वडाध्यक्ष बिरमान कामीका अनुसार सुरुवाती चौँरी संख्या दुई वर्षमा बढेर ४३ पुगेको छ। “दुई वर्षमै १५ वटा चौँरी थपिएका छन्। परीक्षण सफल भएकोले अब यसलाई व्यवसायिक रूपमा विस्तार गरिदै जाने कामीले भने।

लुङजुङ, देउराली, सिङखोला, गुरुगाड, निकुङ, फूलबारी, पुपाल, पानीधाल र पूर्बाङलगायतका बुकी पाटन क्षेत्र चौँरी पालनका लागि उपयुक्त मानिएकाे छ। हाल १ र २ नम्बर वडाका दुई कृषक समूहले चौँरीको हेरचाह गरिरहेका छन्।

गाउँपालिका अध्यक्ष पुनिराज घर्तीमगरका अनुसार चौँरी बहुउपयोगी पशु भएकाले यसपालनले स्थानीय आय–आर्जन मात्र नभई पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। “चौँरीबाट मासु, बाक्लो दूध, घिउ र ऊन उत्पादन गर्न सकिन्छ। साथै यसले भारी बोक्ने काम पनि गर्छ। यसले आर्थिक गतिविधि र पर्यटन दुवैमा योगदान पुर्‍याउने सम्भावना देखिएको छ,” उनले बताए।

समुद्री सतहदेखि ५ हजार ७३ मिटर उचाइमा रहेको गुर्गाद र पुलाल बुकी क्षेत्रमा चौँरी पालन फस्टाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धुर्व बिकले जानकारी दिए। उनका अनुसार परीक्षण सफल भइसकेकाले अब यसलाई योजनाबद्ध रूपमा दीर्घकालीन व्यवसायमा रूपान्तरण गर्ने तयारी भइरहेको बिकले भने।

पुथाउत्तरगङ्गा गाउँपालिकामा चौँरी पालनले स्थानीय समुदायमा रोजगारी र आम्दानीका नयाँ ढोका खोल्ने संकेत दिएको छ। यसलाई पर्यटनसँग जोडेर दीर्घकालीन योजना बनाइए र प्राविधिक सहयोग पुर्‍याइए स्थानीय अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने सरोकारवालाको विश्वास छ।

प्रकाशित मिति : २०८२ कार्तिक २ गते आइतवार