- डिल्लीराज पौडेल
कृषि क्षेत्रको विकास नै दिगो आर्थिक विकास र बहुसंख्यक नेपालीको आय तथा रोजगारीको आधारस्तम्भ भएकाले कृषि तथा पशुपन्छी विकास फार्म- स्रोत केन्द्रको स्थापना गरी नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले सिफारिस गरेका नवीनतम प्रविधिको अवलम्बन गर्दै स्थानीय जलवायु अनकुल कृषि तथा पशुपन्छीजन्य उत्पादन वृद्धि गरी उत्कृष्ट कृषि प्रविधि कृषक समक्ष प्रसार गर्ने र कृषि व्यवसायमा आधुनिकीकरण, व्यवसायीकरण गरी कृषि उत्पादन एवंम् उत्पादकत्व वृद्धि गरी कृषकहरुको आयस्तरमा सुधार गर्न बाली विशेष फार्म-स्रोत केन्द्रको अवधारणालाई अगाडि सार्नु आजको आवश्यकता रहेको छ । बालीविशेषको उत्पादन प्रदर्शन, नयाँ जात र प्रविधिको प्रदर्शन, गुणस्तरीय माउँबोट संरक्षण, गुणस्तर बीउ, बिरुवा उत्पादन कार्यलाई निरन्तरता दिन जरुरी छ । कृषकस्तरमा प्रविधि प्रसार-प्रचार, क्षमता विस्तार गर्न सरकारी फार्म/स्रोत केन्द्रको आवश्यकता पर्दछ । अतः यी फार्म/स्रोत केन्द्रलाई सबै पक्षको सहयोग, समन्वय तथा सक्रियतामा अझ प्रभावकारी रूपमा सञ्चालन र वैज्ञानिक व्यवस्थापनमा लैजानुपर्ने हुन्छ । स्रोत केन्द्रहरुलाई संरचनागत सुधार, जनशक्ति विकास र व्यवस्थापन तथा स्रोतसाधनको उचित व्यवस्था गरेर आवश्यकता अनुसार देशको सबै भू-भागमा विस्तार गर्न सकिएको अवस्थामा आम कृषकहरुलाई गुणस्तरीय बीउ, बेर्ना तथा अन्य श्रोतहरूको मागलाई सजिलै सम्बोधन गर्न सकिने कुरामा कुनै दुइमत नै छैन ।
कृषि क्षेत्रमा उत्पादन वृद्धि लगायतका कार्यक्रम सञ्चालन गर्न वीउको स्रोत निर्धारण गर्नु पहिलो उत्पादनको क्रियाकलाप हो । क्षेत्र विस्तारको लागि प्रयोग गरिने बीउको स्रोत निकै कमी रहेको र नजिकको क्षेत्रमा उपलब्ध हुने स्रोत केन्द्रहरुको अभावका कारण सहज रुपमा र माग अनुसार गुणस्तरिय बिउ/ बेर्ना उपलब्ध हुन सकिरहेको छैन । सम्भाव्यताको आधारमा जिल्ला तथा स्थानीय तहमा स्रोत केन्द्रहरुको स्थापना गर्न नसक्नु, माग अनुसार बीउको उपलब्धतामा कमी हुनु आदी कारणहरुले कृषि क्षेत्रको विकासमा ठुलो धक्का लागेको देखिन्छ । त्यसकारण प्रविधि प्रसार, प्रविधि हस्तान्तरण तथा सीप विकासमा कृषि फार्म/ स्रोत केन्द्रको महत्वपुर्ण भूमिका हुने भएकोले बाली विशेष सम्भाव्यता अध्ययन गरी संरचनागत सुधार, जनशक्ति विकास र व्यवस्थापन तथा स्रोतसाधनको उचित व्यवस्था गरेर मात्र स्रोत केन्द्र विकासको सम्भव रहेको छ ।
भौगोलिक विविधताले भरिएको हाम्रो देश विभिन्न प्रकारका बाली उत्पादनका लागि उपयुक्त छ । विकासको क्रमसंगै कृषि क्षेत्रको अनुसन्धान तथा विकासका लागि विभिन्न समय र स्थानमा बाली, बागवानी, व्यावसायिक किट, मत्स्य तथा पशुपन्छी फार्म/ स्रोत केन्द्रहरू स्थापना भएका छन । तर ती फार्म/ केन्द्रहरुबाट आवश्यकता अनुसार उपलब्धतामा कमी रहेको पाइन्छ । विभिन्न भौगोलिक क्षेत्र समेटिने गरी फार्म/ केन्द्रहरूको स्थापना गर्न सकिएको अवस्थामा कृषि क्षेत्रको समग्र विकासमा उल्लेखनीय योगदान दिन सकिने विश्वास राख्न सकिन्छ । नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत रहेका फार्म केन्द्रहरु मुख्य तया अनुसन्धान कार्यमा केन्द्रित छन् भने गुणस्तरीय बीउ, बिरुवा, उन्नत नस्ल उत्पादन तथा संवर्धनका लागि स्थापना भएका स्रोत केन्द्रहरु निकै कमि रहेको र सबै वाली विशेष उत्पादन कार्यमा जोडिन सकिरहेका छैनन् ।
नेपालमा संघियता अगाडि रहेका फार्म केन्द्रहरु एकातिर सबै सञ्चालनमा रहेको पाईदैन भने अर्को तर्फ प्रदेशहरुको स्थापना पश्चात थप फार्म/ स्रोत केन्द्रको वृद्धि विकास र संख्या बृद्धि हुन नसकेको कारण एका तर्फ आवश्यक परिमाण अनुसार गुणस्तरीय बीउ/वेर्ना/ नश्ल वितरण गर्न सकिएको अवस्था छैन भने अर्को तर्फ उल्लेखनीय रुपमा उत्पादन बृद्धि गर्न सकिएको छैन ।
बाली विशेष स्थापना भएका सरकारी फार्म केन्द्रहरु जस्तै उष्ण प्रदेशीय बागवानी केन्द्र सर्लाही; जसले मुख्यतया आँप, लिची, बेल, केरा, रुखकटहरु जस्ता गर्मी हावापानीमा उत्पादन हुने फलफूलहरुको खेती तथा विरुवा उत्पादन कार्यमा लागिरहेको छ । त्यसै गरी शीतोष्ण बागवानी विकास केन्द्र मार्फा, मुस्ताङले उच्च पहाडी र हिमाली जिल्लामा उत्पादन हुने मुख्यतया स्याउ, ओखर, आलुबखडा जस्ता फलफूल खेती सम्बन्धी काम गरिरहेको छ । आलु विकास केन्द्र निगाले, सिन्धुपाल्चोकले आलुको स्रोत बीउ उत्पादन तथा वितरण कार्यमा जोड दिइरहेको छ । यसरी सिमित क्षेत्रमा भएका स्रोत केन्द्रहरुबाट सबै क्षेत्रहरुलाई आवश्यक पर्ने वीउ तथा विरुवाको मागलाई पुरा गर्न सकिरहेको अवस्था देखिदैन त्यसैले फार्म/ स्रोत केन्द्रबाट उत्पादित वीउ, विरुवा तथा नश्ललाई कृषक स्तरमा सहजरुपमा उपलब्ध गर्नको लागि स्रोतकेन्द्रको विकास तथा संख्या वृद्धिमा प्रदेश सरकार तथा स्थानीय सरकार लाग्नु पर्ने देखिन्छ ।
सामान्यतया फार्म केन्द्रहरूले रैथाने, स्वदेशी र उपयुक्त विदेशी जर्मप्लाज्मको सङ्कलन, संरक्षण, मूल्याङ्कन र वृद्धि गरी स्रोत बीउ (बाली, तरकारी, फलफूल, पशुपन्छी र माछा) र अन्य वस्तु (रेशम किराको फुल र लार्भा, रानी मौरी) को गुणस्तर कायम गरी फार्मलाई स्रोत केन्द्रका रूपमा विकास गर्ने; विभिन्न जातका उच्च गुणस्तर माउबोट वा स्रोत बीउ उत्पादन गरी सहुलियत मूल्यमा निजी स्रोत केन्द्रलाई उपलब्ध गराउने र भौगोलिक क्षेत्र अनुसार अन्न बाली दलहन : तेलहन तरकारी, फलफूल बालीको उन्नत वा रैथाने जातीय विकास, प्रजनन तथा मूल बीउ उत्पादन गरी निजी क्षेत्रसँगको समन्वयमा बाली वस्तुको भरपर्दो स्रोत सामग्री उत्पादन गरी सहज रूपमा किसानलाई उपलब्ध गराउन सकिएको अवस्थामा कृषि क्षेत्रमा अवश्य आकर्षण बढ्न सक्ने देखिन्छ ।
यस्तै कृषि फार्म/ स्रोतकेन्द्रहरुको सम्भावना खोजिको सन्दर्भमा लुम्बिनी प्रदेशको रुकुम पूर्वी भाग, भूमे गाउँपालिका वडा नं. २ र ७ को सिमानामा रहेको मारिङ एउटा उपयुक्त स्थानको रुपमा देखिएको छ । जसको भौगोलिक अवस्थालाई हेर्दा समुद्री सतहबाट करिव २६४० मिटर उचाइमा अवस्थित रहेको छ । करिव १५ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त स्थानमा विशेष गरी हिउँदे फलफूल जस्तै स्याउ, ओखर र वर्षे आलु खेतीको लागि राम्रो सम्भावना भएको क्षेत्र मानिन्छ । अधिक उचाइमा रहेको स्थान भएका कारण शरद ऋतुमा करिब ३ महिना जति हिउँ जमेर जीवजन्तु तथा बिरुवाहरुको लागि प्रतिकुल हावापानी हुने भएता पनि अन्य समयमा सहज रुपमा आवत जावत गर्न कुनै कठिनाइ हुदैन । मारिङको स्वच्च हावापानीमा, धौलागिरी हिमश्रृखला तथा सिस्ने र पुथा हिमालको सुन्दर दृष्यावलोकन गर्न सकिन्छ । साथै भूमे गाउँपालिका र पुथा उत्तरगंगा गाउँपलिका तथा रोल्पा जिल्लाका विभिन्न स्थानहरुको अवलोकन गर्न सकिन्छ । मध्यपहाडी लोकमार्गबाट नजिकै भएकाले उत्पादित वस्तुको ढुवानीको लागि सहज भएको साथै कृषि क्षेत्रमा नयाँ प्रजातिहरु परिक्षण, प्रदर्शन एंव स्रोत बीउ उत्पादन गर्न सकिने राम्रो सम्भावनाको रुपमा मारिङ क्षेत्र रहेको छ ।
भूमे गाउँपालिकाको आर्थिक वर्ष २०७४/०७५ को बार्षिक नीति तथा कार्यक्रममा मारिङ कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने घोषणा बमोजिम केन्द्र स्थापना गरिएको र उक्त क्षेत्रको सम्वर्द्धन तथा विकासका लागि आवश्यक पूर्वाधार विकासमा जोड गरेको पाईन्छ । जहाँ कृषि फर्म/ स्रोत केन्द्र स्थापनाका लागि आवश्यक पूर्वाधार जस्तै सडक, बिजुली, सिंचाइ, कार्यालय भवन, आवास भवन लगायतका आधारभुत पुर्वाधार तयार भैसकेको अवस्था रहेकोले उक्त क्षेत्रलाई संघ, प्रदेश र स्थानीय सरकारको आपसी समन्वयमा बाली विशेष स्रोत केन्द्रको अवधारणामा लैजान सकिएको अवस्थामा रुकुमपूर्व मात्र नभइ अन्य छिमेकी जिल्ला रोल्पा, रुकुम पश्चिम, सल्यान लगायतका जिल्लाहरुमा समेत सेवा पुर्याउन सकिने सम्भावनाको रुपमा लिन सकिन्छ ।
रुकुमपूर्व वर्षे आलु र स्याउ उत्पादनमा राम्रो सम्भावना बोकेको जिल्ला हो । यस क्षेत्रमा उत्पादित अधिकाँश बाली अर्गानिक नै भएको र अर्गानिक प्रमाणिकरणको कार्यालाई समेत अगाडि बढाइएको हुँदा वर्षे आलुको वीउ उत्पादन कार्यमा जोड गर्न सकिएको अवस्थामा जिल्ला भित्र मात्र नभइ अन्य जिल्लाहरुमा समेत बीउ विक्रि वितरणको मुख्य स्रोतको रुपमा मारिङलाई स्थापित गर्न सकिने प्रचुर सम्भावना देखिन्छ ।
बीउ उत्पादनको विकास दिन प्रति दिन बढ्दै गइरहेको छ । बीउ उत्पादन कार्यलाई प्रत्यक्ष सहयोग पुर्याउन सरकारी तथा नीजि क्षेत्रबाट बीउ उत्पादनका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । जहा जुन बालीको उत्पादन ज्यादा हुन्छ त्यस ठाउँमा वीउको माग पनि ज्यादा नै भएको हुन्छ । त्यसको लागि गुणस्तरयुक्त बीउ/ बेर्नाको आवश्यकताको महसुस गरिन्छ । गुणस्तरयुक्त बीउ उत्पादन गर्नको लागि उपयुक्त हावापानी भएको स्थान,दक्ष प्राविधिकहरू तथा उक्त स्थानमा कृषकहरूमा जागरूकताको आवश्यकता पर्छ । यसै सन्दर्भमा मारिङ क्षेत्र हिउँदे फलफूल अन्तर्गत स्याउ र ओखरका नर्सरी विरुवा उत्पादन तथा वर्षे आलुको स्रोत बीउ उत्पादन गर्न उपर्युक्त स्थान रहेको हुँदा उक्त क्षेत्रलाई कृषि स्रोत केन्द्रको अवधारणामा लैजान आवश्यक देखिन्छ ।











प्रतिक्रिया दिनुहोस्