समाचार सारांश
- रुकुमपूर्वको सिस्ने–८ मा सुन्तला उत्पादन उत्कृष्ट भए पनि बजार र सरकारी सहयोग अभावले किसानहरू उत्पादन बेच्न दैनिक चार घन्टा यात्रा गर्न बाध्य छन्।
- सुन्तला पकेट क्षेत्र र स्मार्ट गाउँ घोषणा भए पनि चिस्यान केन्द्र, ढुवानी र बजार संरचना नहुँदा किसानले अपेक्षित आम्दानी लिन सकेका छैनन्।
- स्थानीय सरकारले कृषि एम्बुलेन्सजस्ता कार्यक्रमको तयारी गरे पनि किसानहरू अझै बजार व्यवस्थापन र राज्यको सक्रिय हस्तक्षेपको प्रतीक्षामा छन्।
मंसिर २७ , रुकुमपूर्वको सिस्ने –८ का किसानहरू सुन्तला उत्पादनमा उत्कृष्ट भए पनि बजार अभाव र सरकारी सहयोगको कमीले निराश छन् । उत्पादन बेच्न उनीहरूले दैनिक चार घन्टा यात्रा गर्दै रुकुमकोटसम्म पुग्नुपर्छ ।
शुसिला घर्तीमगर बिहान ५ बजे लम्पाकोटबाट सुन्तला बोकेर चार घन्टा यात्रा गरी रुकुमकोट पुग्छिन् । करिब ४ सय दाना सुन्तला लिएर उनी छिप्रीदह गणतन्त्र चोकमा बिक्री गर्छिन् । यस वर्ष उत्पादन घटेको र बजार अभाव भएको कारण गत वर्षको तुलनामा आम्दानी कम भएको उनी बताउँछिन् । सिस्ने–८ को सुन्तला गुणस्तरका हिसाबले उत्कृष्ट छ । तर दाङ र सुर्खेतजस्ता ठूला बजार टाढा भएकाले ठूला व्यापारीहरू आउँदैनन् । स्थानीय बजार रुकुमकोट, खलङ्गा (पश्चिम रुकुम) का मागले सबै उत्पादन थेग्न सक्दैन । “हामीले उत्पादन गरेर नुन, तेल, चामल किन्दै घर फर्किनुपर्छ,” सुसिला भन्छिन्, “तर सरकारको सहयोग नहुँदा राम्रो उत्पादन पनि खेर जान्छ।” शुसिलालले भनिन् ।
उमेरले ४७ वर्षकी नन्दकुमारी बुढा पनि यस्तै दैनिकी चलाउँछिन् । उनी भन्छिन्, “सुन्तला सिजन सुरु भएदेखि रुकुमकोट आउँदै गइरहेको छु । अहिलेसम्म सरकारले अनुदान दिएको छैन । २०७६ सालमा फाईल पेश गर्दा गाउँपालिकाले हराइदियो ।”
पुथा उत्तरगंगा–८ की कबिता मल्ल पनि दैनिक रुकुमकोटसम्म सुन्तला बेच्न आउँछन् । उनले तीन वर्षअघि एक व्यवसायीलाई ३ गाडी सुन्तला बिक्री गर्दा अझै पैसा पाएका छैनन् । किसानहरूले बताउँछन्, उत्पादनबाट राम्रो आम्दानी गर्न सकिने भए पनि विभिन्न रोग र विपद्का कारण उत्पादन घटेको छ ।
सिस्ने–८ लाई २०७४ सालमा ‘सुन्तला पकेट क्षेत्र’ घोषणा गरिएको हो । प्रदेश सरकारले ०७६/७७ देखि ‘कृषि स्मार्ट गाउँ’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । प्रदेशले सिंचाइ ट्यांकी, पाइप, विरुवा, काटछाँट सामग्री, स्टोर, मल पिट र तालिमजस्ता कार्यक्रम रहेन किसानले अनुदान पाएका छैनन् ।
करिब ३५ देखि ४० हेक्टरमा सुन्तला खेती हुन्छ । ९५ देखि १०० घरधुरी किसान सक्रिय रहेका छन् । गत वर्ष मात्रै यहाँबाट २४० मेट्रिक टन सुन्तला उत्पादन भएको र ६० लाख रुपैयाँ बराबरको बिक्री भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख दिल्लीराज पौडेलले बताए । उत्पादन, वातावरण र कृषि सम्भावना सबै अनुकूल भए पनि बजार संरचना र राज्यको प्रभावकारी समन्वय अभावले सिस्ने–८ का किसानहरू वर्षैभरि घाटा–नाफाको अनिश्चिततामा बाँचिरहेका छन्। सुन्तलाको उत्पादनको चमक बीच बजारको छाया फैलिरहँदा, किसानहरूले एउटै कुरा दोहोर्याइरहेका समस्या दुखद् बनेको पौडेलले भने ।
सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउलेका अनुसार सिस्ने–८ मा सुन्तला खेतीले आर्थिक गतिविधिलाई ठूलो सम्भावना देखाए पनि आवश्यक पूर्वाधार अभावले किसानले पूर्ण लाभ लिन नसकेको अवस्था छ।उनी भन्छन। “विगतका वर्षमा कृषकको उपज खेर नजाओस् भनेर चिस्यान केन्द्र बनाउने हाम्रो लक्ष्य थियो। तर बजेट, प्राविधिक तयारी र कार्यान्वयन प्रक्रियामा आएको ढिलाइका कारण त्यो योजना सफल हुन सकेन। बजारमा सुन्तला बिक्री नहुँदा किसानले आफैं जुस बनाएर बेच्ने प्रयास गरियो , तर आवश्यक प्रविधि र बजार पहुँच नपुग्दा त्यो पनि व्यवसायिक रूपमा टिक्न पाएन।”
किसानको वास्तविक पीडा बुझेर गाउँपालिका यस वर्षबाट कृषि क्षेत्रमा केही ठोस कदम चाल्ने तयारीमा छ। “किसानलाई उत्पादन बटुल्न, ढुवानी गर्न र बजारसम्म ल्याउन सहज होस् भनेर हामी यस वर्ष ‘कृषि एम्बुलेन्स’ सञ्चालन गर्ने तयारीमा छौँ,” रेउले भने ।
उपाध्यक्ष रेउलेका अनुसार सिस्ने गाउँपालिकामा कृषि सम्भावना धेरै छ तर त्यहाँ पुग्न अझै योजनाबद्ध लगानी, बजार व्यवस्थापन र किसान–मैत्री नीतिको आवश्यकता रहेको बताए । “उत्पादन राम्रो छ, किसानमा इच्छाशक्ति छ । अब कमी भनेको प्रभावकारी प्रणाली र सरकारी सक्रियता हो,” उनले थपे,
रुकुमपूर्व अर्गानिक जिल्ला घोषणा भएको चार वर्ष भइसक्दा पनि किसानहरू रोग, विपद् र बजार समस्यासँगै अल्झिरहेका छन्। सुन्तला खेती विस्तार, उत्पादन वृद्धि र किसान उत्साह सबै छ । कमी भनेको बजार व्यवस्थापन र सरकारी सक्रियता हो। किसानहरू भन्छन् । “नाममा स्मार्ट गाउँ बन्यो, तर काम अझै कागजमै छ।”











प्रतिक्रिया दिनुहोस्