परिचय र महत्व : साधारण अर्थमा गोठेमल वा गोबरमल भन्नाले गाई–बस्तुको मल भन्ने बुझिन्छ ।गाई–बस्तुको गोठबाट जम्मा गरिएको सोतर, गोबर र गहु“त जम्मा गरेर कुहिएपछि गोठेमल तयार हुन्छ । खेती पातीको लागि गोठेमल नभई हुदैन । गोठेमलमा बिरुवाको लागि आवश्यक खाद्यतत्वहरु पाईन्छन् । यसमा सरदर ०.५ प्रतिशत नाईट्रोजन, ०.२५ प्रतिशत फस्फोरस, ०.५ प्रतिशत पोटास र अन्य आवश्यक तत्वहरु पनि हुन्छन् । त्यसैले आवश्यक परिमाणमा गोठेमल प्रयोग गरेमा बालीको उत्पादकत्व र उत्पादनमा बृद्धि गर्न सकिन्छ । एक रोपनी जग्गामा कम्तिमा ४० डोको (१ टन प्रति रोपनी) गोठेमल प्रयोग गर्न सकेमा माटोको उर्वराशक्ति बढ्नुका साथै बाली उत्पादन दिगो रुपमा बृद्धि गर्न सकिन्छ । खेत बारीको माटो कृषकको मुटु हो तर अधिकांश किसान माटो के हो त भन्ने विषय अनविज्ञ हुनु, माटोको अवस्था कसरी थाहा पाउने, माटोमा अम्लिय तथा क्षारिपना बढि भए बालीलाई कस्तो असर गर्दछ, माटो अम्लिय बनाउने तत्वहरु के–के हुन, माटो सुधारका लागि गाई वस्तुको गोबर मल व्यवस्थापन नै महत्वपुर्ण विषय हो भन्ने कम जानकार हुनु साथै कृषकहरुले गाई वस्तुको गोबर मललाई मलखादोमा यत्रतत्र छरिएर राख्नु, घाम र पानीबाट जोगाउन उचित चिस्यान/छाहारी/ वा कुनै छाप्रोको व्यवस्थापन नगर्नु, खेत बारीलाई गाई वस्तु चरन क्षेत्रको रुपमा लिनु, कांचो गोवर मलको प्रयोग गर्नु, खेतबारीमा लामो समय सम्म खुल्ला रुपमा गोबर मल छरेर राख्नु आदि कारणले माटो र मलमा भएको खाद्यतत्व संरक्षण पनि हुन नसक्ने र दिनानु दिन बालीमा रोग र किराको प्रकोप बढेर जाने आदी कारणले कृषकहरुले सोचे अनुसार उत्पादन लिन सकिरहेका छैनन् ।
तसर्थ गोबर तथा गोठे मल र पशुमुत्रलाई ब्यवस्थित र बालीलाई उच्च पोषकतत्व प्रदान गरि उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न गोठेमल व्यवस्थापनलाई प्राथमिकता दिनु सबै भन्दा उत्तम उपाय रहेको छ । पशु मुत्रको क्यूरिङ तथा मलमा भएको पोषकतत्व कायम गर्न र यसलाई शिघ्र डिकम्पोज गरि पोषक तत्व विरुवालाई प्रचुरमात्रामा उपलब्ध गराउन र मलमा भएका प्रमुख खाद्यतत्वहरुको संरक्षण गर्न गोबर मल तथा माटो व्यवस्थापनको महत्व रहेको छ ।
गोठेमल बनाउन सुधारिएको तरिका किन आवश्यक ?
गोठेमलमा भएको प्रांगारिक पदार्थहरुलाई सूक्ष्म जीवहरुले कुहाएपछि मल तयार हुन्छ । गोठेमललाई सूक्ष्म जीवहरुद्वारा राम्ररी कुहाउन उचित मात्रामा ताप, चिस्यान र हावा सञ्चारको आवश्यकता हुन्छ । यी सबै कुराहरुलाई उचित मात्रामा मिलाउन सुधारिएको प्रविधि आवश्यक हुन्छ । गोठेमलको थुप्रोमा उचित ताप उत्पन्न गराउन गोबर मिसिएको सोतरलाई तह–तह पारेर राख्नु आवश्यक हुन्छ । कृषि चूनको प्रयोगले पनि थुप्रो भित्रको तापक्रम बढ्छ । गोठेमल सिधा चर्को घाममा पर्न गएमा बढी सुख्खा भएर नकुहिने र त्यसमा भएको नाईट्रोजन तातिएर ग्यासको रुपमा नष्ट हुन्छ । वर्षाको पानीबाट नजोगाएमा गाठेमलमा भएको ५० प्रतिशत नाईट्रोजन, ५० प्रतिशत फस्फोरस र ९० प्रतिशत सम्म पोटाशियम पानी संगै चुहिएर नाश हुन्छ । गोठेमलको थुप्रोभित्र हावाको राम्रो सञ्चार हुन आवश्यक छ । यी सबै कुराहरुको कमीले गर्दा परम्परागत तरिकाले तयार पारेको गोठेमल राम्ररी कुहिंदैन र कमशल गुणस्तरको हुन्छ । त्यसैले हाम्रा कृषकहरुले सुधारिएको प्रविधिको प्रयोग गरेर राम्रो गुणस्तरको गोठेमल बनाउन आवश्यक छ । परम्परागत तरिकाबाट बनाएको राम्ररी नकुहिएको गोठेमल कमसल गुणस्तरको (राम्ररी नकुहिएको) भएको हुनाले खाद्यतत्वहरुको आपूर्ति कम हुने र माटोमा रोग र कीरा (खुम्रे, रातो कमिला) को प्रकोप बढ्ने हुन्छ ।
गाई भैसीको गोबरलाई छिटो कुहाउनका लागि आवश्यक सामग्रीआवश्यक सामग्री: गाईको गोबर: ताजा वा सुक्खा, उपलब्धताका आधारमा। सुक्खा जैविक पदार्थ: सुकेको पात, पराल, काठको धुलो, वा काठका टुक्राहरू। हरियो जैविक पदार्थ: हरियो घाँस, तरकारीका फालिने भागहरू, वा अन्य नाइट्रोजनयुक्त सामग्री। पानी: चिस्यान ५०–६०% आद्रता कायम राख्नका लागि। कम्पोस्ट स्टाटर: लाभदायक सूक्ष्मजीवहरू थप्न तयार गरिएको कम्पोस्ट छोप्ने सामग्री: पराल, त्रिपाल, वा प्लास्टि ,हावा लगाउने उपकरण: काँटा, बेल्चा, वा कम्पोस्ट पल्टाउने साधन।अन्य सामग्री: सूक्ष्मजीव बढाउने पदार्थ: कम्पोस्ट एक्टिभेटर, जस्तै गाईको पिसाब। बायोचार: सूक्ष्मजीवहरूको सक्रियता बढाउन। गोठेमल व्यवस्थापनका कमजोरीहर मुत्रको सदुपयोग नहुनु ।घामपानीबाट मलको गुणस्तरमा क्षति हुनु । नपाकेको मलको प्रयोग हुनु । खेतबारीमा मल लैजानु अघि सुकाउने गरिनु । खेतबारीमा पुर्याएपछि पनि मल घाममा सुक्न दिनु । सुधारका लागि अपानउन सकिने तरिकाहरु : गोबर, सोत्तर, मुत्रलाई खाडल वा थुप्रोमा जम्मा गरी यसलाई घामबाट बचाउने वर्षा, भलपानी र वर्षाको पानीबाट बचाउने । गहुँतको राम्ररी सदुपयोग गर्ने । खाडलबाट निकालेपछि मललाई नसुकाई सीधै खेतबारीमा पुर्याउने । खेतबारीमा पुर्याएपछि तुरुन्तै फिजाउने र जोतेर माटोमा मिलाई हाल्ने । यदी माटोमा तुरुन्तै मिलाई हाल्न नसक्ने भएमा सो मललाई घामबाट बचाउन ठुला ठुला थुप्रामा पराल, स्याउलाहरुले छोपेर राख्ने ।
गाई वस्तुको गहुँत वा मुत्रलाई सदुपयोग गर्न सकिने उपायहरु
• कुलेसो बनाइ मुत्र सीधै खाडलमा पुर्याउने ।
• बढीभन्दा बढी सोत्तर प्रयोग गरी मुत्र सोसाउने
• ड्रममा मुत्र जम्मा गरी मल खाडलमा लगेर राख्ने ।
• पानी मिसाई बालीमा सीधै प्रयोग गर्ने ।
• गाईवस्तुको गोबर र गहुँतबाट प्राप्त हुने नाईट्रोजनमध्यै मुत्रमा ५ भाग र गोबरमा ३ भाग मात्र पाइन्छ ।
घामपानीबाट जोगाउने
मलको खाडल वा थुप्रोमा स्याउला, सुकेका झारपात वा मकैका ढोडले छोपेर, बलेसीको पानी र भल तर्काएर मलमाथि छानो बनाइ लहरेबालीहरु लगाएर र रुखको छायाँ पर्ने ठाउँमा मल खाडल वा थुप्रो बनाएर मललाई घामपानीबाट बचाउन सकिन्छ । यसै गरी कुनै पनि बाली लगाउनुभन्दा पहिले मललाई माटोमा मिसाउने र घामबाट सुक्नबाट बचाएर गोठेमलको खाद्यतत्व संरक्षण गर्न सकिन्छ । गोठेमलको कमी भएको वा टाढाको खेतबारीको लागि त्यही ठाउँमा नै कम्पोष्ट मल बनाएर प्रयोग गर्न सकिन्छ ।
मलको उचित प्रयोग थुप्रोमा राम्रोसँग हावा खेल्न पाएन भने बढी तापक्रम र हावाको अभावका कारण गोबरलाई कुहाउने स-साना जीवाणुहरू मर्न जान्छन् जसको कारणले गर्दा गोबर लामो समयसम्म नकुहीने हुनाले जस्ताको तस्तै रहन सक्छ। त्यसैले थुप्रोमा राम्रोसँग हावाको आवतजावत होस् भन्नका लगि थुप्रोलाई ३-४ पटकसम्म पल्टाउनु पर्दछ । मल तयार पार्दा थुप्रोको चिस्यान, तापक्रम, सोत्तरको किसिम र आकारमा ध्यान दिनुपर्दछ । वर्षायाममा थुप्रोमा र हिउँदयाममा खाडलमा मल जम्मा गर्नु उपयुक्त मानिन्छ । यसरी जम्मा गरेको मल साधरणतया ३ महिनामा तयार हुन्छ । मल तयार भईसकेपछि खेतको गह्रामा लगेर तुरुन्तै जोतिहाल्नु पर्दछ नत्र लामो समय मललाई गह्रामा फिँजाएर राख्दा त्यसमा भएको पोषण तत्व सबै हावामा उडेर नष्ट हुन्छ। गोठेमललाई एउटै खाडलमा घरी कतै घरी कतै राख्नु भन्दा खाडललाई तीन भाग गरेर एउटा भागमा भर्दै जाने, त्यो भागलाई करिब एक हात जति माथिसम्म चुल्याउने र चिस्यानको मात्रा कम भए आवश्यकताअनुसार पानी राखिदिनु पर्दछ । त्यसपछि मात्र खाडलको माथिबाट माटो र गोबरको बराबरी मिश्रणले लिपिदिनु पर्दछ र खाडल वा थुप्रोको अर्को भाग भर्न थाल्नुपर्छ । यसो गर्दा मल तयारी गर्न पनि सजिलो र वातावरण मिलाउन पनि सजिलो हुन्छ। यसरी हेर्दा साधारण व्यवस्थापनबाट करिब ८५ प्रतिशत नाइट्रोजन नोक्सानी भई केवल १५ प्रतिशत नाइट्रोजन बिरुवाले लिन सक्छन् जसलाई सुधारिएको व्यवस्थापन बाट २८ प्रतिशत मात्र नाइट्रोजन नोक्सानी भई ७२ प्रतिशत नाइट्रोजन बिरुवाले लिन सक्छन् ।
कम्पोस्ट मल जैविक तथा वानस्पतिक पदार्थहरूलाई तह तह पारी खाडल र थुप्रोमा जम्मा गरी सूक्ष्म जैविक प्रक्रियाद्वारा विघटन गराई बनाएको जैविक मललाई कम्पोस्ट मल भनिन्छ । कम्पोस्ट मल नेपालमा प्रमुख मलको रूपमा रहे तापनि कृषकहरूले निर्धारित विधि अपनाई प्रयोग नगरेको कारणले कृषकहरूले जति नै यो मल प्रयोग गरे पनि कम गुणस्तरका कारण माटोको उर्वराशक्तिमा खासै प्रगति भएको पाइँदैन । कम्पोस्ट मल तयार पार्ने ठाउँ तथा सामग्रीको व्यवस्था मल बनाउने ठाउँ छान्दा कम खर्चिलो तर बढी मल तयार हुने खालको, खाद्यतत्व संरक्षण हुने, पानी नपस्ने र जमिनमुनिको पानीको सतह नजिक नभएको ठाउँ छान्नु पर्दछ । गोठे मल तथा कम्पोस्ट मलका लागि ठाउँको छनोट गर्दा निम्न कुराहरूमा ध्यान दिनु पर्दछ ।
• गोठको नजिकको ठाउँको छनोट गर्नु पर्दछ ।
• टाढा भएमा श्रम तथा समय दुवैको लगानी बढ्छ ।
• गोबरको भन्दा पनि मुत्रको अझ बढी महत्व हुने हुँदा गोबर र गहुँत दुवैको संरक्षण हुने स्थान रोज्नु पर्दछ ।
• खाडल वा थुप्रोलाई वर्षा तथा घाम पानी दुवैबाट जोगाउनु पर्दछ ।
• सुधारिएको गोठमा मुत्र सङ्कलनका लागि नाली बनाउनु पर्दछ र टंडी वा खाडल पनि बनाउन सकिन्छ ।
• सामाग्री पाउने भएमा खेत बारीकै एक छेउमा कम्पोस्ट मल बनाउन सकिन्छ । यसो गर्दा मल ढुवानी गर्ने खर्च तथा मेहनत कम लाग्दछ ।
• कम्पोस्ट खाडल गोठको नजिक पनि खन्न सकिन्छ, यसो गर्दा गोठे मललाई पनि कम्पोस्ट मलमा परिणत गर्न सकिन्छ ।
• घर नजिक कम्पोस्ट खाडल खन्दा घरमा फ्याँकिने जैविक अवशेषहरू सबैलाई कम्पोस्टमा परिणत गर्न सकिन्छ ।
• कम्पोस्ट बनाउने वस्तुहरू (पात पतिङ्गर, झारपात) सजिलै पाइने ठाउँ नजिकै कम्पोस्ट बनाउँदा बढी सुविधाजनक, सस्तो र श्रमकोसमेत बचत हुन्छ ।
कम्पोस्ट मल बनाउने सामाग्रीको छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरू
कम्पोस्ट मल बनाउँदा प्रयोग गरिने वस्तुहरू जति कलिला र नरम हुन्छन् त्यति नै चाँडै कुहिने हुन्छन् । उदाहरणका लागि खेतबारीका कलिला झारपातहरू चाँडै विघटित हुन्छन् भने ढोड, नल र पराललाई कुहाउन धेरै समय लाग्दछ । त्यस्तै दलहन बालीका अवशेष चाँडै कुहिने हुन्छन । छिटो र ढिलो कुहिने हुने कुरा तिनमा निहित कार्बन र नाइट्रोजनमा भर पर्दछ ।
गोठेमल तथा कम्पोस्ट मल विघटित हुने प्रक्रियामा असर पार्ने कारक तत्वहरू
तापक्रम : प्राङ्ग्रारिक वस्तु कुहिने प्रक्रियामा तापक्रमको प्रमुख भूमिका हुन्छ । जाडो वा गर्मी मौसमले कम्पोस्ट मल बनाउने प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पार्दछ । नेपालको पहाडी तथा मध्यपहाडी भेगमा जहाँ जाडो याममा तापक्रम निकै कम (१०° से. भन्दा कम) हुन्छ, यस्तो अवस्थामा पात पतिङ्गर कुहिएर कम्पोस्ट मल बन्न लामो समय लाग्छ । तर तराई तथा गर्मी भेगमा तापक्रम बढी हुने हुँदा तुलनात्मक रूपमा मल छिटै तयार हुन्छ । कम्पोस्ट मल बनाउने प्रक्रियामा आफैँ पनि (खाडल वा थुप्रोमा) तापक्रम बिस्तारै ५५ देखि ७०° से. सम्म बढ्छ तर पनि कम्पोस्टिङ प्रक्रिया सुरु गराउन वातावरणीय तापक्रमको ठूलो महत्व हुन्छ । कम (१०° से. भन्दा कम) र अधिक तापक्रम (७०° से. भन्दा बढी) मा कुहाउने जीवाणुहरूको सक्रियता घट्छ, जसले गर्दा कम्पोस्ट मल तयार हुन धेरै समय लाग्न जान्छ ।
हावा (अक्सिजन) : सूक्ष्म जीवाणुहरूको वृद्धि तथा तिनका गतिविधिलाई बढाउन अक्सिजनको आवश्यकता हुन्छ । त्यसैले प्राङ्गारिक पदार्थ कुहाउन उपयुक्त प्रक्रियाको लागि कम्पोस्ट खाडल वा थुप्रोमा निम्न कारणहरूले गर्दा हावाको अवातजावतको व्यवस्था मिलाउन जरुरी हुन्छ ।
•अक्सिजनको अभावमा सूक्ष्म जीवहरूको गतिविधि बन्द हुने हुँदा यी जीवाणुहरूको क्रियाशीलता बढाउन ।
•हावाको उपस्थितिमा विघटित हुने प्रक्रियालाई बढावा दिन ।
•जीवाणुहरूको क्रियाकलापबाट उत्पन्न कार्बनडाइअक्साइड बाहिर पठाउन । थुप्रोको तापक्रम केही हदसम्म कम गर्न ।
पानी:कुनै पनि प्राङ्गारिक वस्तु विघटन हुनका लागि अर्थात् त्यसमा सूक्ष्मजीवाणुहरूको क्रियाकलाप बढाउन त्यसमा उपयुक्त चिस्यान हुन जरुरी हुन्छ । कम्पोस्ट बनाउने वस्तुहरू छिटो विघटन गराउनका लागि तिनमा ५०-६० प्रतिशत चिस्यानको आवश्यकता पर्दछ । बढ्ता वा कम पानी भए विघटित हुन बढी समय लाग्ने हुँदा कलिला, हरिया वस्तुसँग सुख्खा पदार्थ मिसाउने र कम चिस्यान भए माथिबाट पानी छर्कनु उपयुक्त हुन्छ ।
सूक्ष्म जीवाणुहरूको सङ्ख्या र तिनको सक्रियता
प्राङ्गारिक पदार्थ छिटो तथा प्रभावकारी ढङ्गले विघटित हुनका लागि सूक्ष्म जीवाणुहरूको सङ्ख्या र तिनीहरूको गतिशीलतामा भर पर्दछ । वस्तुमा जति धेरै सूक्ष्म जीवाणुहरू हुन्छन् त्यति नै छिटो वस्तुलाई टुक्रयाउँछन । यी सूक्ष्म जीवाणुहरू वृद्धि गर्नका लागि माथि उल्लिखत सबै कारक तत्वहरू अनुकूल हुनुपर्दछ ।
कम्पोस्ट मल बनाउँदा अपनाउनुपर्ने विधिहरू
मल थुपार्ने तरिका
विभिन्न परिस्थितिका लागि निम्न तीन तरिकाबाट कम्पोस्ट मल बनाउन सकिन्छ ।
खाडल विधि थुप्रो विधि
विभिन्न परिस्थितिका लागि थुप्रो वा खाडलविधिहरू अपनाउन सकिन्छ । जस्तै : खाडल विधि | सुख्खा या हिउँद याममा मल बनाउनु पर्दा वा मल बनाउने | सामग्रीमा कम चिस्यान भएको अवस्थामा खाडल विधि अपनाउन सकिन्छ । खाडल विधि स्थाई हुने हुँदा एक पटक खाडल खने पछि सँधैलाई भइरहन्छ । वर्षा याममा मल बनाउनु पर्दा वा मल बनाउने सामग्रीमा बढी चिस्यान भएको अवस्थामा यो विधि उपयुक्त हुन्छ । वर्षा याममा खाडलमा पानी पस्ने र पौस्टिक तत्वहरू चुहिएर खेर | जाने सम्भावना बढी हुने हुँदा यो समयमा धुप्रो विधि फाइदाजनक हुन्छ ।
गर्मी समयमा घाम र पानीबाट धुप्रोलाई अनिवार्य रूपमा जोगाउनु पर्दछ, नत्र मल सुक्दछ ।
कम्पोस्ट मल बनाउने विधि : कम्पोस्ट मल बनाउँदा प्रयोग गरिने चीजहरू काटेर टुक्रा बनाई राख्नुपर्दछ । जति साना-साना टुक्रा भयो त्यति नै छिटो र सजिलोसँग विघटन हुन्छ । कम्पोस्ट मल बनाउने वस्तुहरू केही दिन सोत्तरको रूपमा प्रयोग गरेर खाडलमा राख्न सके सबै भन्दा राम्रो हुन्छ । यसो गर्न नसकिएमा करिब १ हातको उचाइको फरकमा जोरनको प्रयोग गर्दै जानुपर्छ । कम्पोस्ट बनाउन प्रयोग गरिएको वस्तुमा आवश्यक चिस्यान हुनुपर्छ । चिस्यान कम भए पानी वा गहुँत छर्कनु उत्तम हुन्छ । चिस्यान व्यवस्थापनका लागि सुख्खा याममा खाडल विधि र वर्षामा थुप्रो विधिबाट मल बनाउने, खाडलको वरिपरि लहरे बाली विघटन भएको वा कुहिएको मल हातमा लिएर मिच्दा धुलो हुन्छ र हातमा लाग्दैन ।
जोरन के हो ?
जोरन कम्पोस्ट मल बनाउन राखिएका समाग्रीलाई राम्ररी विघटित गराउन प्रयोग गरिने वस्तु हो । यसमा सूक्ष्म जीवाणुहरूको संख्या बढाउन मद्दत पुऱ्याउने वा तिनले खानाको रूपमा प्रयोग गर्ने वस्तुहरू हुन्छन् । जस्तै पाकेको गोठेमल वा कम्पोस्ट मल, मुत्र, खरानी, वनको माटो, चुना, प्रभावकारी जीवाणु (ई.एम.) गोबरको र मुत्रको घोल, गोबर ग्याँसवाट निस्केको लेदो आदि ।
गोठेमल र कम्पोस्टमलमा के फरक छ ?
गोठेमल कम्पोस्ट मल
गोठेमल गाईवस्तुको गोबर, मुत्र तथा सोत्तरलाई मुख्य स्रोतका रूपमा लिएर त्यसमा थप स्याउला, झारपात, वालीको अवशेष आदि मिसाई वा नमिसाई गोठ नजिक तयार गरिएको मल नै गोठे मल हो, यसको मुख्य अंश गाई वस्तुको गोबर र मुत्र हो । खेर जाने जैविक तथा वानस्पतिक पदार्थहरूलाई तह तह पारी खाडल, अर्धखाडल र थुप्रोमा जम्मा गरी कुहाउनको लागि उपयुक्त वतावरण सिर्जना गरी सूक्ष्म जैविक प्रक्रियाद्वारा विघटन गराई बनाएको जैविक मल नै कम्पोस्ट मल हो। यसमा जोरनको रूपमा गाईवस्तुको गोबर तथा मुत्रको प्रयोग गरिन्छ ।पशुमुत्र : पशुमुत्र बिरुवाका लागि आवश्यक खाद्यतत्वहरू मुख्यतया नाइट्रोजन छिट्टै उपलब्ध गराउने प्राङ्गारिक स्रोत हो । यसलाई पानीमा मिसाएर बिरुवामा छर्न सकिन्छ, जसबाट नाइट्रोजनका साथसाथै अन्य खाद्यतत्वहरू बिरुवाले पाउन सक्छ र यसमा भएका विभिन्न तत्वहरूले लाहि लगायत विभिन्न कीरा मार्दछ भने यसबाट निस्किएको गन्धले विभिन्न कीराहरूलाई भगाउँछ । मुत्र सङ्कलन एवं सदुपयोगको अभावमा मुत्रमा पाइने खाद्यतत्वको नोक्सान भइरहेको अवस्था एकातिर छ भने अर्कोतर्फ बाली बिरुवालाई चाहिने नाइट्रोजनको धेरै हिस्सा वर्षेनि बाहिरबाट आयत गनुपर्ने स्थिति हामी माझ छ । रासायनिक मल हालसम्म हाम्रो देशमा बन्न नसकेकाले विदेशबाट आयत गर्नु परिरहेको अवस्था छ । तर गाई भैंसीकै मुत्रमा पाइने धेरैजसो नाइट्रोजन (८० – ९०%) त्यसै खेर गइरहेको छ । गाई भैसीको मुत्रलाई सङ्कलन र सदुपयोग गर्न सकेमा यसबाट प्राप्त हुने नाइट्रोनज विदेशबाट आयात गरिएको युरियाको तुलनामा धेरै प्रभावकारी र सस्तो हुनुको साथै रासायनिक मलको मानव र वातावरणमा परेको नकरात्मक असरबाट बच्न पनि सकिन्छ । पशुमुत्रको प्रयोगले स्वच्छ बाली उत्पादनमा वृद्धि हुन गई वातावरण जोगाउनमा समेत महत्वपूर्ण भूमिका खेलेको हुन्छ । गहुँतको महत्वपूर्ण पक्ष भनेको गोबरमा भन्दा गहुँतमा दोब्र नाईट्रोजन पाईन्छ । उदाहरणको लागि गाई-भैसीलाई १०० प्रतिशत भाग नाईट्रोजन भएको घाँस दाना खुवायो भने ८० प्रतिशत भाग गोबर र गहुँतमा फर्कन्छ र शरीरमा केबल २० प्रतिशत भाग मात्र प्रयोगमा आउँछ । यो ८० प्रतिशत भागमा ५२ प्रतिशत भाग गहँतमार्फत र २८ प्रतिशत भाग गोबरमा फर्कन्छ । गहुँतमा सोत्तर मिसाएर कुहाएको मल बालीनाद्यका लागि राम्रो पोषणको स्रोत बन्न सक्दछ । पराल, सुकेका पातपतिङ्गर, झारपात आदि सोत्तरको रुपमा प्रयोग गर्दा तिनीहरुमा आफ्नो तौलको दुई गुणाभन्दा बढी पिसाव सोसेर राख्ने क्षमता हुन्छ । बन्दै गएको मलबाट खाद्यतत्व उडेर जान नदिनका लागि घाम र वर्षातको पानीबाट जोगाउनु पर्दछ । यसका लागि मलको थुप्रो माथि छाप्रो बनाई लहरे कारकारी बाली लगाउन सकिन्छ ।
हाल किसानहरुले मुत्रको प्रयोग नगरीकन त्यसै खेर फाल्ने गरेका छन् । गाईवस्तुबाट प्राप्त हुने कुल नाइट्रोजनमध्ये ४० प्रतिशत गोबरमा हुन्छ भने ६० प्रतशित मुत्रमा हुन्छ । एउटा गाई वा भैंसीले २४ घण्टामा बम्तीमा ६ लिटर मुत्र उत्पादन गर्दछ । यस हिसाबले ४ वटा गाईवस्तु मात्र पाल्नाले वर्ष दिनमा ८७६० लिटर मुत्र उत्पादन हुन्छ । जुन १३१ के.जी नाइट्रोजन प्राप्त हुन्छ । यस हिसाबले विचार गर्दा हामी कति लापरवाही गरिरहेका छौं ।
पशुमुत्र सङ्कलन तथा प्रयोगबाट हुने फाइदाहरू
• पशुमुत्रमा नाइट्रोजन र पोटासको मात्रा धेरै हुने भएकाले रासायनिक मलको आपुर्ति कम गरी ठूलो धनराशी देश बाहिर जानबाट जोगाउन सकिन्छ ।
• पशुमुत्रबाट वानस्पतीक विषादी बनाएर बाली नालीको रोग तथा कीराको व्यवस्थापन गर्न तथा सूक्ष्म तत्वको पूर्ति गर्न सकिन्छ ।
• रासायनिक मलमा कटौती गरी उत्पादन लागत घटाउन सकिन्छ ।
• बालीबिरुवामा प्रयोग गर्दा पिसाब सँगै सिँचाइ पनि हुने ।
• गोबरग्याँसमा प्रयोग गर्दा मिथेन ग्याँस बढी उत्पादन हुने ।
• गाई वस्तुको भकारो सफा भई रोग कम लाग्ने र दूध उत्पादनमा वृद्धि हुने । गोठेमलको गुणस्तर बढाउन सकिने ।
गोठेमलको उचित व्यवस्थापन गरी प्रयोग गर्दा हुने फाईदाहरु
• गोठेमलमा थोरै मात्रामा भए तापनि बिरुवाहरुलाई आवश्यक प्राय सबै खाद्यतत्वहरु पाइने भएकोले यसले एक प्रकारको पूर्ण मलको रुपमा काम गर्दछ ।
•गोठेमलमा पाइने खाद्यतत्वहरु विस्तारै माटोमा बिरुवाहरुले उपयोग गर्न सक्ने रुपमा परिवर्तन हुने भएकोले रासायनिक मलहरु जस्तो चुहिएर नाश हुने समस्या कम हुन्छ । यसै गुणले गर्दा प्राड्डारिक मलहरुको असर माटोमा लामो समयसम्म रहन्छ र पछि लगाइने अरु बालीलाई पनि काम दिन्छ ।
• गोठेमलको प्रयोगबाट माटोको भौतिक गुणमा सुधार आउँछ । फलस्वरुप माटो खुकुलो हुने, माटो भित्र हावाको सञ्चार राम्रो हुने, माटोले पानी सोस्ने र अड्याउन सक्ने शक्ति बढ्ने, माटोको बनौट राम्रो हुने र भू-क्षय कम हुने आदि हुन्छ ।
• गोठेमलको प्रयोगबाट माटोमा रहने लाभदायक सूक्ष्म जीवाणुहरुको संख्या र क्रियाकलाप बढ्दछ ।
• गोठेमलको प्रयोगबाट माटोमा बिरुवालाई आवश्यक तत्वहरुको सन्तुलनमा नराम्रो असर पर्दैन । माटो अम्लीय अथवा बढी क्षारीय बन्दै जाने समस्या पनि हुँदैन् ।
• गोठेमल आफ्नै मिहेनतबाट गाउँ-घरमा नै तयार गर्न सकिन्छ । यसको लागि ठूलो धनराशि खर्च गर्नु पनि पर्दैन ।











प्रतिक्रिया दिनुहोस्