साउन २२ , रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुमपूर्वभित्रको शक्ति संघर्ष अब खुला विद्रोहतर्फ उन्मुख भएको छ। जिल्ला इन्चार्जको नेतृत्व र प्रबृतिको विषयलाई लिएर लामो समयदेखि चर्किएको अन्तरसंघर्ष अब पार्टीको आधार तहसम्म पुगेको छ । यसको पहिलो प्रभाव सदस्यता नवीकरण अभियानमै देखिन थालेको छ ।
विश्वसनीय स्रोतका अनुसार शुक्रबार भूमे गाउँपालिका –९, चुन्वाङमा बसेको वडा कमिटीको बैठकले जिल्लाको समस्या समाधान र जिम्मेवारी हेरफेर नभएसम्म पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ । पार्टी नेतृत्वले जिल्लाभित्र देखिएको विवादलाई बेवास्ता गरेको कुरालाई प्रदेश सदस्य प्रवेश पुनमगर (विवेक) ले उल्लेख गर्दै वडा कमिटीको निर्णयप्रती ऐक्यबद्धता जनाएको कुरा आफ्नो आधिकारीक फेस्वुकमा लेखेका छन् । उनले समस्या हल गर्न पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल प्रचण्ड ,सह –संयोजक माधवकुमार नेपाल र रुकुमपूर्वका केन्द्रीय नेताहरुलाई अनुरोध समेत गरेका छन् ।
स्रोतका अनुसार चुन्वाङ मात्र होइन, भूमेका अन्य वडा कमिटी , सिस्ने गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिकाका केही वडा कमिटीले पनि उस्तै निर्णयको तयारी गरेका छन् । ती वडाहरूले समेत जिल्ला नेतृत्वको विवाद टुंगो नलागेसम्म सदस्यता नवीकरण नगर्ने रणनीति बनाइरहेको एक स्रोतले जनाएको छ ।
पार्टीको केन्द्रीय निर्देशनअनुसार रुकुमपूर्वमा सदस्यता नवीकरणको अवधि साउन ३० गतेसम्म तोकिएको छ । तर जिल्लाभित्रको आन्तरिक विवादका कारण सदस्यता अभियान नै प्रभावित हुने संकेत देखिएको छ । यदि आधार तहबाट सदस्यता नवीकरण बहिष्कार हुने क्रम बढेमा त्यसले पार्टी संगठनमा गम्भीर राजनीतिक संकट उत्पन्न हुने विश्लेषण भइरहेको छ।
नेकपा रुकुमपूर्वमा जिल्ला इन्चार्जको विषयलाई लिएर केही समययता दुई धार स्पष्ट रूपमा देखिएका छन् । एक पक्ष हालको नेतृत्वको निरन्तरताको पक्षमा उभिएको छ भने अर्को पक्ष तत्काल इन्चार्ज परिवर्तनको विषय उत्थान गर्दै आएको छ। रुकुमपूर्वमा नेकपा विवाद, नेतृत्वको दाबी र उपस्थितिलाई लिएर प्रश्न यही विवादका कारण जिल्ला तहका गतिविधिसमेत प्रभावित बनेका छन्।
रुकुमपूर्वमा जनयुद्धकालदेखि बलियो संगठन भएको नेकपाभित्र सदस्यता अभियानकै बेला देखिएको यस्तो असन्तुष्टि नेतृत्वका लागि ठूलो चुनौतीका रूपमा हेरिएको छ। विवाद समयमै समाधान हुन नसके पार्टीको संगठनात्मक एकता र आगामी राजनीतिक गतिविधिमा प्रत्यक्ष असर पर्ने स्थानीय राजनितिक विश्लेशकहरुको बुझाइ छ।














प्रतिक्रिया दिनुहोस्