प्राकृतिक प्रकोपहरू—जस्तै बाढी, पहिरो, भूकम्प, डुबान, आगलागी आदि—नेपालजस्तो भौगोलिक विविधता भएको देशका लागि सामान्यजस्तै भएका छन्। यस्ता प्रकोपले जनधनको ठूलो क्षति पुर्याउँदै आएको तथ्यलाई नकार्न सकिन्न। हालै मात्र प्राय: दैनिक हावा, हुरी सहित पानी परिरहेको छ । हावा, हुरीले धनजनको क्षति पुर्याउन सक्छ । त्यसैले यी प्रकोपबाट बच्न स्वयम् व्यक्ती नै सजक हुनु पर्ने हुन्छ । हावा, हुरी चल्दा अनावश्यक आउजाउ नगर्ने, घरका सरसामान सुरक्षित ठाउँमा राख्ने गरौं । पूर्वाधार निर्माणमा सावधानी अपनाउनु जरुरी छ। भूकम्प मात्र नभइ हावा, हुरी प्रतिरोधी भवन, बाढीबाट सुरक्षित पुल तथा बाटो बनाइनु आवश्यक छ। विकासको नाममा जथाभावी डोजर प्रयोग गर्नु, जंगल फँडानी गर्नु, नदी किनारमा अवैध बसोबास गर्नुजस्ता कार्यले प्राकृतिक प्रकोपको सम्भावना बढाउँछन्। त्यसैले, दिगो विकासका सिद्धान्तलाई आत्मसात् गरेर मात्र पूर्वाधार विकास गर्नुपर्छ।
प्राकृतिक प्रकोप कुनै एक क्षेत्र वा वर्गको समस्या होइन, यो सम्पूर्ण समाजको साझा चुनौती हो। त्यसैले यसको समाधान पनि साझा प्रयासबाट मात्र सम्भव छ। सरकार, स्थानीय तह, सामाजिक संस्था र आम जनताबीच सहकार्य हुनुपर्छ। हामी सबैले आफू र अरूको सुरक्षाको लागि अग्रसर भई प्राकृतिक प्रकोपबाट बच्ने उपायहरूमा गम्भीर ध्यान दिन आवश्यक छ।
विडम्बना के छ भने हामी प्रायः प्रकोप आएपछि मात्र सक्रिय हुने गर्छौं, जब कि सतर्कता र पूर्वतयारी नै बचावको सबैभन्दा प्रभावकारी उपाय हो।
वर्षात् सुरु भएसँगै देशका विभिन्न भागमा बाढी र पहिरोको जोखिम बढ्ने गर्छ। तर, सम्बन्धित निकायहरू समयमै पूर्वतयारी लिन चुकेका उदाहरण प्रशस्तै छन्। यसले गर्दा जनताको ज्यानमाल संकटमा पर्ने गरेको छ। एकातिर पूर्वसूचना प्रणाली कमजोर छ भने अर्कोतर्फ जनचेतना अभाव पनि उत्तिकै चिन्ताको विषय हो।
प्रकोपबाट जोगिनका लागि राज्य, स्थानीय तह, सामाजिक संघसंस्था र आम जनताबीच सहकार्य हुनु अत्यन्त आवश्यक छ। पूर्वसूचना प्रवाह गर्ने, जोखिमयुक्त क्षेत्रबाट समयमै स्थानान्तरण गर्ने, सुरक्षित बसोबासको व्यवस्था मिलाउने, र आपतकालीन उद्धार टोली तयारी अवस्थामा राख्नेजस्ता कार्य अनिवार्य छन्।
विद्यालय, सञ्चार माध्यम र सामाजिक अभियानहरू मार्फत जनस्तरमा चेतना फैलाउने खालका कार्यक्रम प्रभावकारी बन्न सक्छन्। बाढीको समयमा कुन बाटो प्रयोग गर्ने, कहाँ जानु सुरक्षित हुन्छ, प्राथमिक उपचार कसरी दिने—यस्ता विषयमा सर्वसाधारणलाई जानकारी दिनु जरुरी छ।
अन्ततः, प्रकोपलाई पूर्णरूपमा रोक्न नसकिने भए पनि त्यसबाट हुने क्षति भने घटाउन सकिन्छ—यदि हामी समयमै सजग, सचेत र तयारी अवस्थामा रह्यौं भने। अब ढिलो गर्नुहुन्न, प्रकोप आउनु अघि नै सजक बनौं।
















प्रतिक्रिया दिनुहोस्