हिउँदको चिसोले यतिबेला जनजीवनलाई प्रत्यक्ष प्रभावित बनाएको छ। हिमाली र उच्च पहाडी भेगमा चिसोका कारण नागरिकको दैनिक जनजीवन मात्र होइन, जनस्वास्थ्य र सार्वजनिक सुरक्षामा समेत गम्भीर चुनौती थपिएको छ। प्राकृतिक रूपमा आउने यस्ता मौसमी परिवर्तनलाई रोक्न नसकिए पनि समयमै अपनाइने पूर्वतयारी र सचेतनाले यसबाट हुने र भौतिक क्षतिलाई भने निश्चित रूपमा न्यूनिकरण गर्न सकिन्छ।
जाडोको समयमा विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक र सुत्केरी महिलाको स्वास्थ्य निकै संवेदनशील हुन्छ। निमोनिया, श्वासप्रश्वास र मुटु सम्बन्धी रोगहरूको जोखिम बढ्ने यो समयमा सन्तुलित खानपान र न्यानो कपडाको प्रयोगमा विशेष ध्यान दिनु आवश्यक छ। अर्कोतर्फ, चिसो छल्न प्रयोग गरिने हिटर वा आगो ताप्ने क्रममा हुने असावधानीले वर्षेनी निसास्सिएर ज्यान जाने र आगलागी हुने गरेका दुःखद घटनाहरू दोहोरिने गरेका छन्। यस्ता विपद् बाट जोगिन पर्याप्त हावा ओहोरदोहोर हुने ठाउँमा मात्र आगोको प्रयोग गर्न र सुत्नुअघि अनिवार्य रूपमा आगो र हिटर निभाउने जस्ता प्राथमिक सुरक्षा नियमको पालना गर्न सर्वसाधारणमा सचेतना फैलाउनु आजको आवश्यकता हो।
हिउँदको अर्को अदृश्य तर भयावह जोखिम सडकमा जम्ने ‘तुसारो’ हो। बिहानीपख सडकको सतहमा जम्ने बरफको कारण सवारी साधनहरू अनियन्त्रित भई दुर्घटना हुने जोखिम हाम्रो जिल्लामा उच्च रहको छ। विशेष गरी घुम्ती र पहाडी सडकखण्डहरूमा तुसारोका कारण सडक अत्यन्तै चिप्लो हुने हुँदा सवारी चालकहरूले गति नियन्त्रण र उच्च सतर्कता अपनाउनु अनिवार्य छ। सडक विभाग र ट्राफिक प्रहरीले यस्ता जोखिमपूर्ण सडकखण्डको पहिचान गरी आवश्यक संकेत चिह्नहरू राख्ने र चालकहरूलाई पूर्वजानकारी दिने कार्यमा तदारुकता देखाउनु पर्दछ ।
यस विषम परिस्थितिमा राज्यको ‘अभिभावकीय’ भूमिका अझ बढी प्रखर हुन जरुरी छल। स्थानीय सरकारहरूले आफ्नो क्षेत्रभित्रका विपन्न र असहाय नागरिकलाई न्यानो कपडा र आश्रयको व्यवस्था मिलाउन ढिलाइ गर्नु हुँदैन। स्वास्थ्य संस्थाहरूमा औषधी र जनशक्तिको पूर्ण उपलब्धता सुनिश्चित गर्दै ग्रामीण भेगसम्म स्वास्थ्य सचेतनाका कार्यक्रमहरू पुर्याउनु पर्दछ ।
अतः चिसोको सामना गर्नु केवल व्यक्तिको मात्र नभई राज्य र समाजको साझा दायित्व हो। सरकारी निकायको प्रभावकारी समन्वय, सुरक्षा संयन्त्रको सक्रियता र नागरिकको व्यक्तिगत जागरूकताले नै हामीलाई चिसो र यसबाट सिर्जित जोखिमहरूबाट सुरक्षित राख्न सक्छ। प्रतिकूल मौसमका बीच पनि जनजीवनलाई सहज र सुरक्षित बनाउनु नै आजको प्रमुख प्राथमिकता हो ।











प्रतिक्रिया दिनुहोस्