२०८३ जेष्ठ १७ गते आइतवार

कार्टून : टेलिफोन टावर उखाली रेडियो जाेड समाचार सुन्न पाईन्छ



ए बाबू रेडियो खोल त टावर दियो कि दिएन हेर !
सम्बन्धित निकाय, तपाईँहरूलाई हाम्रो शत-शत नमन! तपाईँहरू अहिले यती गहिरो ‘योग निद्रा’मा हुनुहुन्छ कि, नेटवर्क गयोस् कि बिजुली, तपाईँहरूको ध्यान भंग हुँदैन! विदेशमा रहेका आफन्तले फोन गरेर ‘हजुरबा, सन्चो-बिसन्चो?’ सोध्न खोज्दा, यहाँ ‘हेलो… हे…’ भन्दै नेटवर्कले यस्तो अड्कलेर कुरा गर्छ, लाग्छ— अहिले हामी डिजिटल युगमा होइन, ‘परेवाको खुट्टामा चिठी बाँधेर’ सूचना आदानप्रदान गरिरहेका छौँ!
विदेशमा बस्नेहरूले दसैँमा भिडियो कल गर्ने रहर गर्छन्। उता उनीहरू हाई-स्पिड इन्टरनेटमा ‘४-के क्वालिटी’मा कुरा गर्छन्, तर तपाईँको नेटवर्कमा त्यो भिडियो कल यस्तो देखिन्छ, मानौँ हामी भिडियो कल होइन, पुरानो हुलाकबाट आएको चिठीलाई एक-एक अक्षर गरी पढिरहेका छौँ! आवाज एक घण्टा अगाडि, अनुहारमा हासो एक घण्टा पछाडि! यो त भिडियो कल होइन, ‘डिजिटल जुरासिक पार्क’ हो!
तपाईँहरूको नेटवर्कलाई कसैले ‘नेपालको सबैभन्दा ठूलो राष्ट्रिय झन्डा’ घोषणा गरे हुन्छ— किनकि दुवै चीज ‘झन्डा मन्डा’ भएकै हुन्छन्! टाढाबाट हेर्दा राम्रो, नजिक गएर काम खोज्यो भने निराशा!
एउटा कुरा सोध्न मन छ: हाम्रो नेटवर्क ‘कहिले बन्ने’ होला? कहिलेसम्म हामीले ‘अक्षर मात्र पढ्न सकिने’ इन्टरनेट प्रयोग गरेर चित्त बुझाउनुपर्ने हो?
कहिलेकाहीँ त लाग्छ— नेपाल टेलिकमले हाम्रो ‘सम्बन्ध’ नै बिगार्न लागेको छ। विदेशमा हुनेहरूले हरेक पटक फोन गर्दा नेटवर्क बिग्रेर कुराकानी नहुँदा, उनीहरूले सोच्ने होलान्: “यीनीहरूको नेटवर्क त के बन्नु, सम्बन्ध पनि यस्तै कमजोर हुन थाल्यो!”
अन्त्यमा, नेपाल टेलिकमलाई एउटा अनुरोध: कृपया चाडपर्वमा कम्तीमा पनि रुकुमपूर्वको पुथाउत्तरगगा गाउँपालिकाको सबै वडा भूमेका अधिकाशं वडा र सिस्नेको १ र ६ (खोपिचार) को नेटवर्कको समस्या समाधान गरियोस’ । जनताको गुनासो सुन्नुस सुन्नेमात्र होइन समस्या समाधान गर्नु होला! होइन भने, अब हामी मोबाइलबाट होइन, हुलाकको बक्समा मोबाइल राखेर चिठी पठाउन थाल्छौँ!
जय होस्, तपाईंको ‘अद्भूत’ सेवाको!

प्रकाशित मिति : २०८२ असोज १४ गते मङ्गलवार