२०८३ जेष्ठ ७ गते बिहिवार

प्रसूति कक्षमा बितेका ती आठ मिनेट …………..



 जहाँ स्वास्थ्य सेवा केवल उपचार होइन, जीवनसँगको जुधाइ हो

शर्मिला कठायत

बिहानको उज्यालो अझै राम्ररी फैलिएको थिएन । हिमाली जिल्ला रुकुम पूर्वको भूमे गाउँपालिका –४ स्थित काँडा स्वास्थ्य चौकी वरिपरि कुहिरो बाक्लै थियो। पहाडका टाकुरामाथि रातको चिसो अझै बाँकी थियो। गाउँ बिस्तारै ब्युँझिन खोज्दै थियो। तर त्यो बिहान एउटा परिवारको जीवन भने रातभरको पीडासँग जुधिरहेको थियो । २०८३ साल वैशाख २८ गते, बिहान करिब ६ बजे स्वास्थ्य चौकीको फोन एक्कासि बज्यो। फोनको घण्टीमा सामान्यताभन्दा बढी आतुरता थियो।फोन उठाउन नपाउँदै उता आत्तिएको स्वर सुनियो ।

“डाक्टर्नी… कता हुनुहुन्छ ? हामी आउँदैछौँ…!”   

स्वरमा हतार मात्र थिएन, डर पनि मिसिएको थियो। मैले सोधेँ, “के भयो?” उताबाट जवाफ आयो । “मेरी श्रीमतीलाई सुत्केरी व्यथाले धेरै च्यापेको छ।” फोन राखेपछि म हतारिँदै प्रसूति कक्षतर्फ लागेँ। आवश्यक सामग्री तयार गरियो। उपकरण जाँचिए। सलाइन, औषधि, प्रसूति सामग्री सबै व्यवस्थित पारियो। तर तयारीबीच मनमा एउटा प्रश्न लगातार घुमिरह्यो । “कतै अवस्था जटिल त छैन?”

करिब बिहान ७ बजे गर्भवती महिला, उनका श्रीमान् र चार वर्षीया सानी छोरी स्वास्थ्य चौकी आइपुगे। उनीहरू पैदल हिँडेर आएका रहेछन्। थकानले गलेको शरीर, पीडाले थरथराएको अनुहार र आँखाभरि त्रास बोकेको त्यो परिवारको दृश्य अहिले पनि स्मृतिमा ताजै छ। दुर्गम गाउँका अधिकांश महिलाजस्तै ती महिलाको यात्रा पनि अस्पतालसम्मको सहज यात्रा थिएन। सुत्केरी व्यथाले च्यापिँदै गर्दा उकालो–ओरालो पार गर्दै स्वास्थ्य संस्था पुग्नु आफैँमा एउटा संघर्ष थिए। जाँच गर्दा अवस्था सहज देखिएन। पाठेघरको मुख ७ सेन्टिमिटर खुलिसकेको थियो। भ्रूणको मुटुको धड्कन सामान्य थियो, तर आमाको रक्तचाप १६०/१०५ mmHg पुगेको थियो। त्यो अवस्था आमा र बच्चा दुवैका लागि उच्च जोखिमपूर्ण मानिन्छ।

तुरुन्तै उनलाई देब्रेपट्टि फर्काएर सुताइयो। नसाबाट सलाइन सुरु गरियो। त्यसपछि परिवारलाई  रुकुमपूर्व अस्पताल जान सुझाव दिइयो । “यहाँ प्रसूति गराउँदा जोखिम हुन सक्छ,” मैले सम्झाएँ, “म पनि सँगै जान्छु।” तर उनीहरूको पीडा केवल शारीरिक थिएन । त्यो पीडाभन्दा ठूलो थकान मानसिक थियो। किनकि यो परिवार यसअघि पनि पटक–पटक जिल्ला अस्पताल पुगिसकेको थियो। हरेक पटक परीक्षणपछि “सबै सामान्य छ” भन्दै फर्काइएका कारण उनीहरूको अस्पतालप्रतिको भरोसा कमजोर भइसकेको थियो। उनीहरू रुँदै भन्न थाले, “अब हामी फेरि जाँदैनौँ । जे हुन्छ, यहीँ हुन्छ। डाक्टर्नी, कृपया प्रयास गरिदिनुस् ।” त्यो क्षण एउटा स्वास्थ्यकर्मीका लागि अत्यन्त कठिन थियो। एकातिर जिम्मेवारी, अर्कोतिर असहाय परिवारको विश्वास। दुर्गमका स्वास्थ्यकर्मीहरू यस्तै मोडमा बारम्बार उभिन बाध्य हुन्छन् । जहाँ निर्णय केवल चिकित्सा विज्ञानको हुँदैन, मानवीय संवेदनाको पनि हुन्छ ।

धेरै सम्झाउँदा पनि परिवार जिल्ला जान नमानेपछि आवश्यक मञ्जुरीनामा लिएर स्वास्थ्य चौकीमै सुरक्षित प्रसूति गराउने निर्णय गरियो। तर यो केवल त्यो बिहानको घटना थिएन। त्यसअघि पनि यो गर्भावस्था निरन्तर जोखिम र संघर्षबीच गुज्रिरहेको थियो। गर्भको २१ हप्तामै उच्च रक्तचाप देखिएपछि पहिलो पटक जिल्ला अस्पताल प्रेषण गरिएको थियो। परीक्षणपछि “सबै सामान्य” भन्दै नियमित निगरानी गर्न सुझावसहित पुनः स्वास्थ्य चौकी पठाइयो। त्यसपछि नियमित निगरानी चलिरह्यो। तर गर्भको ३६ हप्ता २ दिन पुगेपछि फेरि रक्तचाप अत्यधिक बढ्यो। टाउको दुख्ने र आँखा धमिलो देखिने समस्या देखा परेपछि दोस्रो पटक अस्पताल पठाइयो। त्यहाँ पनि परीक्षण सामान्य आएपछि उनी फर्किइन्।

पुनः स्वास्थ्य परीक्षणका क्रममा रक्तचाप नियन्त्रण बाहिर जान थालेपछि रुकुम पूर्व अस्पतालका नर्सिङ इन्चार्जसँग परामर्श गरी तेस्रो पटक जिल्ला अस्पताल पठाइयो। सम्भावित सुत्केरी मिति नजिकिएकाले आवश्यक परे प्रसूति गराउनुपर्ने सुझावसमेत दिइएको थियो। चार दिन अस्पतालमा निगरानीपछि फेरि “सबै सामान्य” भन्दै घर फर्काइयो।

यो पनि पढ्नुहोस ………….

तर त्यो बिहान अवस्था साँच्चै गम्भीर थियो। बिहान करिब ८:२० बजे पानीको थैली फुट्यो। जाँच गर्दा पाठेघरको मुख पूर्ण रूपमा खुलिसकेको थियो। रक्तचाप अझै नियन्त्रणमा आएको थिएन। बच्चाको मुटुको धड्कन सामान्य भए पनि बच्चाको घाँटीमा दुई फन्को कडा नाल बेरिएको थियो। त्यसमाथि बच्चाले पेटमै दिसा गरिसकेको अवस्था थियो। यस्तो अवस्थाले बच्चामा श्वासप्रश्वासको जटिलता निम्त्याउन सक्थ्यो।

प्रसूति कक्षभित्रको प्रत्येक सेकेन्ड तनावपूर्ण थियो। त्यो सानो स्वास्थ्य चौकीको कोठाभित्र जीवन र मृत्युबीचको दूरी निकै साँघुरो बनेको थियो। मनमा एउटै प्रार्थना थियो । “आमा र बच्चा दुवै सुरक्षित रहून्।” अन्ततः बिहान ८:२८ बजे एउटा स्वस्थ छोरीको जन्म भयो। २ किलो ८०० ग्राम तौल भएकी ती नानीको पहिलो रुवाइले प्रसूति कक्षभरि जीवनको उज्यालो फैलियो। त्यो आवाज केवल नवजात शिशुको रुवाइ थिएन, एउटा संघर्षको विजय थियो। केही समयपछि आमाको रक्तचाप पनि विस्तारै नियन्त्रणमा आयो। आमा र शिशु दुवै सुरक्षित भएपछि परिवारको अनुहारमा देखिएको खुसी बयान गर्न शब्द पर्याप्त हुँदैनन्।

त्यो क्षण एउटा स्वास्थ्यकर्मीका लागि केवल पेशागत सफलता थिएन। त्यो मानवीय सम्बन्ध, विश्वास र जिम्मेवारीको गहिरो अनुभूति थियो। तर यो एउटा घटनाले मात्र सीमित कथा होइन। यो दुर्गम नेपालको मातृस्वास्थ्य सेवाको वास्तविक अनुहार हो। काँडा स्वास्थ्य चौकीबाट जिल्ला अस्पताल पुग्न करिब ४०–४५ मिनेट लाग्छ। तर दूरी केवल समयको हुँदैन।

दूरी सडकको अवस्था, यातायातको अभाव, आर्थिक कमजोरी, मौसम, पारिवारिक चिन्ता र स्वास्थ्य प्रणालीप्रतिको भरोसासँग पनि जोडिएको हुन्छ। दुर्गमका धेरै गर्भवती महिलाका लागि अस्पताल पुग्नु उपचारभन्दा ठूलो संघर्ष हो। कुनै महिला रातको अँध्यारोमा डोकोमा बोकेर लगिन्छिन्। कसैले स्ट्रेचरसमेत पाउँदिनन्। कतिपयले बाटोमै बच्चा जन्माउँछन्। कतिपय आमा अस्पताल पुग्न नपाउँदै ज्यान गुमाउँछन्। पुथा उत्तरगंगा गाउँपालिकाका पेल्मा, हुकाम, मैकोट वा सिस्ने गाउँपालिकाका विकट बस्तीहरूमा बस्ने गर्भवती महिलाको अवस्था अझ कठिन छ। त्यहाँ स्वास्थ्य संस्था पुग्नै घण्टौँ हिँड्नुपर्छ। आपत्कालीन अवस्थामा एम्बुलेन्स समयमै पुग्ने सम्भावना न्यून हुन्छ। सडक छैन, सञ्चार कमजोर छ, र स्वास्थ्य सेवा अझै सीमित छ।

यस्तो अवस्थामा दुर्गमका स्वास्थ्यकर्मीहरू केवल कर्मचारी भएर काम गर्दैनन्। उनीहरू कहिलेकाहीँ चिकित्सकभन्दा बढी अभिभावक बन्छन्। रातभर जाग्राम बस्छन्। आफ्नो डर लुकाएर बिरामीलाई साहस दिन्छन्। सीमित साधनबीच जीवन बचाउने प्रयास गर्छन्। दुर्गममा स्वास्थ्य सेवा केवल उपचार होइन।त्यो धैर्यता, विश्वास, संघर्ष र मानवीय संवेदनाको निरन्तर परीक्षा हो। नेपालले सुरक्षित मातृत्वका क्षेत्रमा धेरै प्रगति गरेको छ। संस्थागत सुत्केरी दर बढेको छ। मातृमृत्युदर घटेको छ। तर हिमाली र दुर्गम भूगोलमा बस्ने महिलाका लागि सुरक्षित मातृत्व अझै पनि अधिकारभन्दा बढी संघर्ष बनेको छ।

नीति र तथ्यांकका भाषणभन्दा बाहिर, वास्तविकता अझै पहाडका उकालोहरूमा हिँडिरहेको छ। त्यो बिहान मैले केवल एउटा प्रसूति गराएको थिइनँ। मैले एउटा आमाको विश्वास जोगाएको थिएँ। एउटा परिवारको आशा बचाएको थिएँ।र फेरि एकपटक महसुस गरेको थिएँ। स्वास्थ्यकर्मी हुनु केवल पेशा होइन, कसैको जीवनसँग जोडिएको जिम्मेवारी हो।

प्रकाशित मिति : २०८३ बैशाख ३१ गते बिहिवार