२०८३ बैशाख ३ गते बिहिवार

रुकुम पूर्वमा तुसारोले चिप्लियो जिप: धौलापहिरामा दुर्घटना



माघ ११, ​रुकुम पूर्वको भूमे गाउँपालिकामा आइतबार बिहान ब्रोइलर कुखुरा बोकेको एक जिप दुर्घटनामा परेको छ। सल्यानबाट रुकुम पूर्वको खाबाङ बगरतर्फ आउदै गरेको लु ३ च ७०३६ नम्बरको जिप भूमे–४ स्थित धौलापहिरामा सडकबाट तल खसेको हो।

​इलाका प्रहरी कार्यालय काँक्रीका प्रहरी निरीक्षक हिमराज विकका अनुसार सडकमा जमेको अत्यधिक तुसारोका कारण टायर चिप्लिएर जिप दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। जिप सडकबाट करिब २० मिटर तल खसेको छ।

​उक्त दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन। जिपमा सवार चालक र सह-चालक सुरक्षित रहेको र ढुवानी गरिएका कुखुरामध्ये दुई सय कुखुरा मरेको प्रहरी निरीक्षक विकले जानकारी दिनुभयो।

​दुर्घटना लगतै इलाका प्रहरी कार्यालय काँक्रीको टोली घटनास्थलमा पुगेको थियो। दुर्घटनाग्रस्त जिप सडकमै रहेका कारण यातायातमा केही अवरोध सिर्जना भएकोमा अहिले प्रहरी र स्थानीयको सहयोगमा जिप पन्छाउने कार्य भइरहेको छ।

सडकहरूमा जम्ने तुसारोका कारण सवारी साधन चिप्लिने जोखिम उच्च रहने गर्दछ। यस्तो अवस्थामा सावधानीपूर्वक सवारी चलाउन ट्राफिक प्रहरीले चालकहरूलाई विशेष अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८२ माघ ११ गते आइतवार