फाल्गुन १९, नेपाली राजनीतिको केन्द्रविन्दुमा रहेका शीर्ष नेतादेखि ११ उम्मेदवारको भाग्य फैसला गर्ने जिम्मा पाएको रुकुम (पूर्व) यतिबेला चुनावी रापले तातिएको छ। तर, लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्लाको यो रापलाई भौगोलिक विकटताको चिसोले चुनौती दिइरहेको छ। सदरमुकाम रुकुमकोटबाट मतदान केन्द्रसम्म मतपेटिका र निर्वाचन सामग्री पुर्याउनु यहाँका कर्मचारी र सुरक्षाकर्मीका लागि कुनै ‘फलामे च्युरा’ चपाउनु भन्दा कम छैन।
भीरको बाटो, ज्यानकै जोखिम
जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाको वडा नं. दुई पेल्मास्थित मतदान केन्द्रकोकथा सुन्दा जोकोहीको आङ सिरिङ्ग हुन्छ। यहाँ खटिने मतदान अधिकृत र सुरक्षाकर्मीले दुई दिनको कठिन यात्रा तय नगरी सुखै छैन। पहिलो दिन कच्ची सडकको धुलो र पहिरोको जोखिम छिचोल्दै जीप यात्रा हुन्छ भने दोस्रो दिनको यात्रा झनै भयावह छ।
”जीपबाट ओर्लिएपछि सुरु हुन्छ असली परीक्षा,” एक स्थानीय कर्मचारी भन्छन्, “दिनभर भीरको बाटो, साँघुरो गोरेटो र कतै त डोरीको सहारामा हिँड्नुपर्ने अवस्था छ। मतपेटिका बोकेर ती भीरहरू काट्नु भनेको ज्यान हत्केलामा राखेर हिँड्नु हो।” यस्तै नियति सिस्ने गाउँपालिका–१, पाखापानीको पनि छ, जहाँ राज्यको उपस्थिति चुनावी बेला मात्र देखिने गरेको स्थानीयको गुनासो छ।
चुनावी अंकगणित: कसको पल्ला भारी ?
यसपटक रुकुम पूर्वको निर्वाचनमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित ११ जना उम्मेदवारहरू चुनावी मैदानमा छन्। ३४ हजार ७ सय ७२ मतदाता रहेको यस जिल्लामा ४४ मतदान स्थल र ५६ मतदान केन्द्र निर्धारण गरिएको छ। भूगोलले ठगे पनि मताधिकार प्रयोग गर्न आतुर मतदाताहरू भने उम्मेदवारका प्रतिबद्धता र विगतको समीक्षा गरिरहेका छन्।
भौगोलिक रूपमा विकट मानिने पुथा उत्तरगंगा गाउँपालिकामा उल्लेख्य संख्यामा मतदाता रहेका छन् । वडागत रूपमा हेर्दा यहाँको वडा नं. १० (तकसेरा र घुम्लिबाङ क्षेत्र) मा १ हजार ५ सय १० मतदाता रहेका छन्, जुन यस पालिकाको उच्च संख्या हो ।
त्यस्तै वडा नं. १२ (कोल) मा १ हजार ३ सय ८१ मतदाता छन् भने वडा नं. १४ (राङसी) मा १ हजार १ सय २६ मतदाता रहेका छन् । वडा नं. १ (मैकोट) मा ९ सय ६१, वडा नं. २ मा ५ सय २३, वडा नं. ५ मा ८ सय ७० र वडा नं. ११ मा १ हजार २ सय ७५ मतदाता रहेका छन् । तुलनात्मक रूपमा कम मतदाता रहेको वडा नं. ७ (खारखोला र जाङ) मा ४ सय ७८ र वडा नं. ६ (मयाङ) मा ३ सय ६७ मतदाता रहेका छन् ।
त्यस्तै, भूमे गाउँपालिकातर्फ हेर्दा वडा नं. ९ (चुनवाङ र सिमचौर) मा मतदाताको संख्या बाक्लो देखिएको छ, जहाँ कुल १ हजार ९ सय ७७ मतदाता छन् । वडा नं. ३ (सिमा) मा १ हजार ६ सय १६ र वडा नं. १ (लुकुम) मा १ हजार ४ सय ७८ मतदाताले मतदान गर्नेछन् ।
वडा नं. ८ (कुचिवाङ र भोटिसमलचौर) मा १ हजार ४ सय ९५ मतदाता रहँदा वडा नं. २ (काक्री) मा १ हजार ४ सय २१ मतदाता सूचीकृत छन् । भूमे गाउँपालिकाको वडा नं. ७ (गुनाम र धर्मशाला) मा भने ८ सय ७३ मतदाता रहेका छन् ।
सिस्ने गाउँपालिकामा मतदाताको चाप अझ बढी देखिन्छ । विशेष गरी वडा नं. ५ (रुकुमकोट) मा जिल्लाकै सबैभन्दा धेरै २ हजार २ सय ५७ मतदाता रहेका छन्, जसका लागि रुक्मिणी मा.वि.मा तीन वटा मतदान केन्द्र (क, ख, ग) तोकिएको छ ।
वडा नं. ६ (छिप्रिदह र खोपिचार) मा १ हजार ७ सय ९२ मतदाता छन् । त्यस्तै वडा नं. ४ (नयाँढाका र झाक्रिपोले) मा १ हजार ६ सय ३४ मतदाता रहँदा वडा नं. ३ (पोखरा) मा १ हजार ३ सय ९७ मतदाता रहेका छन् । सिस्नेको वडा नं. १ मा ९ सय ८० र वडा नं. ७ मा ९ सय ७६ मतदाता रहेका छन् ।











प्रतिक्रिया दिनुहोस्