साउन १९, रुकुमपूर्व ।प्रतिनिधिसभामा रुकुमपूर्वको आवाज कमजोर बन्दै गएको भन्दै जिल्लाका नागरिकले निर्वाचित सांसद तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति असन्तुष्टि व्यक्त गर्न थालेका छन्।
२०८२ पागुन २१ गते प्रतिनिधिसभा निर्वाचनमा रुकुमपूर्वबाट निर्वाचित भएका प्रचण्डले निर्वाचन अभियानका क्रममा जनयुद्धका सहयोद्धा र शहीदहरूको सम्मानका लागि आफू उम्मेदवार बनेको बताएका थिए।निर्वाचनका बेला हेलिमार्फत पटक–पटक जिल्लामा पुगेका उनी विजयी भएपछि भने मतदातासँग औपचारिक भेटघाट गर्न नआएको स्थानीयको गुनासो छ।
स्थानीयका अनुसार जिल्लाले सडक, स्वास्थ्य, शिक्षा, खानेपानी र पूर्वाधारलगायतका अनेकौं समस्या भोगिरहेको भए पनि ती विषय संघीय संसद्मा प्रभावकारी रूपमा उठ्न सकेका छैनन्।संसद्मा राष्ट्रिय राजनीति, संविधान, सुशासन र भू–राजनीतिका विषयमा धारणा राख्ने प्रचण्डले रुकुमपूर्वसँग प्रत्यक्ष सम्बन्धित मुद्दामा भने हालसम्म आवाज नउठाएको भन्दै मतदाता निराश देखिएका छन्।
यता चालु आर्थिक वर्षमा संघीय सरकारबाट रुकुमपूर्वका ठूला विकास आयोजनाका लागि अपेक्षाअनुसार बजेट नआएको भन्दै जिल्लामा असन्तुष्टि बढ्दो छ। स्थानीय जनप्रतिनिधि तथा नागरिकले संघीय तहमा प्रभावशाली नेतृत्वबाट जिल्लाको विकासका लागि थप पहल हुनुपर्ने बताएका छन्।















प्रतिक्रिया दिनुहोस्