२०८३ बैशाख ३ गते बिहिवार

खेलकुद र संस्कृति जोड्ने अभियान: खाराबाङमा मेला सुरु



सिर्जन रसाईली

रुकुमपूर्व, साउन ३ – पुथाउत्तरगंगा गाउँपालिका–९, खाराबाङमा ‘लाल पाटन एकीकृत युवा क्लब’को आयोजनामा खेलकुद र सांस्कृतिक गतिविधिहरूको संगमस्वरूप मेला सुरु गरिएको छ।

स्थानीय सांस्कृतिक पहिचान झल्किने पैसेरु नाचबाट मेलाको उद्घाटन गरिएको हो। औपचारिक समारोहका बीच आयोजक क्लबका अध्यक्ष भुवन ओलीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो। मेलाको उद्घाटन पुथाउत्तरगंगा–९ का वडाध्यक्ष हर्क प्रसाद रोका मगरले प्रमुख अतिथिका रूपमा ब्यानर पढी रिबन काट्दै गर्नुभयो। त्यसपछि उहाँकै सर्भिसबाट खेल प्रतियोगिता प्रारम्भ गरिएको थियो।

कार्यक्रममा पूर्व वडा अध्यक्ष शुरबहादुर रोका मगर, नेकपा (एमाले) लुम्बिनी प्रदेश दलित संघका सदस्य राम बहादुर नेपाली, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय बुद्धिजीवी, समाजसेवी, खेलप्रेमी र सर्वसाधारणको उल्लेखनीय सहभागिता थियो।

कार्यक्रमको स्वागत मन्तव्य उपदेश रामजालीले व्यक्त गर्नुभयो भने सम्पूर्ण सञ्चालनको जिम्मेवारी अभियोग रामजालीले लिनुभएको थियो।

मेला अन्तर्गत विविध खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम र सामुदायिक सहभागिता रहने आयोजकले जनाएको छ। यस पहलमार्फत क्लबले खेलकुदको प्रवर्द्धनसँगै सांस्कृतिक पहिचान जगेर्नाको सन्देश दिन खोजेको छ। सिर्जन

प्रकाशित मिति : २०८२ साउन ३ गते शनिवार