२०८३ साउन १२ गते मङ्गलवार

एनपीएल ट्रफी भूमेमा पुग्यो :लुम्बिनीको १०९ पालिका मध्ये रोजाइमा परेको पहिलो गाउँपालिका



८ पुस, खाबाङबगर । ​नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलाे संस्करण जितेर इतिहास रचेको लुम्बिनी लायन्स यतिबेला ‘च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर’ मा छ। सामान्यतया यस्ता उत्सवहरू सदरमुकाम र ठुला सहरमा सीमित हुने गरे पनि लुम्बिनी लायन्सले भने लुम्बिनी प्रदेशकै उत्कृष्ट गाउँपालिकाको परिचय बनाएको रुकुम पूर्वको भूमे गाउँपालिकालाई आफ्नो विशेष गन्तव्य बनाएको छ।

​प्रदेशका कुल १०९ स्थानीय तहमध्ये ट्रफी लिएर टिम पुगेको भूमे पहिलो गाउँपालिका हो। अन्य जिल्लामा मुख्य गरी जिल्ला सदरमुकामहरूमा मात्रै कार्यक्रम केन्द्रित गरिए पनि भूमेको विकास, व्यवस्थापन र खेलकुदप्रतिको चासोलाई सम्मान गर्दै क्लब सिधै पालिकाको केन्द्र खाबाङबगर पुगेको बताएको छ।

​बालबालिकाहरूले लुम्बिनी लायन्सको झन्डा ओछ्याइएको टेबलमा राखिएको चम्किलो ट्रफीलाई श्रद्धापूर्वक ‘नमस्ते’ गर्दै स्वागत गरिरहेका छन्।

​उत्कृष्ट गाउँपालिकाको रूपमा चिनिएको भूमेमा ट्रफीसहित आएको टोलीलाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले क्लबको यो कदमले गाउँका युवाहरूलाई राष्ट्रिय मूलधारमा जोडिन प्रेरित गरेको बताए । ​”लुम्बिनी प्रदेशका १०९ पालिकाहरू मध्ये हाम्रो भूमेलाई नै पहिलो रोजाइमा पारेर ट्रफी ल्याउनु यहाँको विकास र खेलकुदप्रतिको लगावको सम्मान हो। अरू जिल्लामा सदरमुकाम मात्रै पुग्ने टिम हाम्रो गाउँमै आइपुग्दा यहाँका प्रतिभाहरूलाई राष्ट्रिय स्तरको खेलाडी बन्ने ठुलो हौसला मिलेको छ। हामी अब हिमाली भेगबाटै क्रिकेटका नयाँ ताराहरू जन्माउने छौँ।”श्रेष्ठले भने ।

​सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि चुमेको लुम्बिनी लायन्सले प्रदेशका १२ वटै जिल्लाको भ्रमण गरिरहेको छ। जिल्ला केन्द्रित यो दौडमा भूमे गाउँपालिका एउटा सुखद अपवाद बनेको छ। यो यात्रा पुस १६ गते (सन् २०२४ को अन्तिम दिन) बुटवलमा विशेष ‘ग्रान्ड सेलिब्रेसन’ का साथ समापन हुनेछ, जसलाई ‘न्यु इयर इभ’ सँग जोडेर भव्य बनाउने क्लबको तयारी छ।

तस्बिर अन्वेषण खबर

प्रकाशित मिति : २०८२ पुष ८ गते मङ्गलवार