नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सामा संघीयताको वास्तविक अभ्यास स्थानीय तहबाटै भइरहेको छ । राज्यको सेवा र सुविधालाई नागरिकको घरदैलोसम्म पुर्याउने संवैधानिक संकल्पलाई साकार पार्ने क्रममा लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम पूर्वको भूमे गाउँपालिकाले चालेका कदमहरू चर्चाको केन्द्रमा छन् । विशेषगरी, गाउँपालिकाको वडा नम्बर १ र ७ मा सम्पन्न भएको आफ्नै पक्की प्रशासनिक भवनको उद्घाटनले स्थानीय सरकार अब ‘भाडाको संरचना’ बाट मात्र होइन, ‘अस्थायी कार्यशैली’ बाट समेत मुक्त हुँदै गएको बलियो सन्देश दिएको छ । स्थानीय सरकार गठन भएको झन्डै नौ वर्षपछि आफ्नै सुविधासम्पन्न भवनबाट सेवा प्रवाह सुरु हुनुले स्थानीय शासनको संस्थागत सुदृढीकरणमा एउटा नयाँ मानक स्थापित गरेको छ ।
प्रशासनिक भवन केवल इँटा, सिमेन्ट र बालुवाको भौतिक थुप्रो मात्र होइन । यो त राज्यको स्थायी उपस्थिति, सुशासनको केन्द्र र नागरिकको भरोसाको आधारस्तम्भ हो । अझ प्रशंसनीय पक्ष त के छ भने, नेपालको सार्वजनिक निर्माण क्षेत्रमा व्याप्त ढिलासुस्ती र बेथितिको रोगलाई चिर्दै सम्झौता अवधिभन्दा एक महिना अगावै धर्मशालामा निर्माण भएको झन्डै २ करोड ५० लाखको लगानीमा निर्मित भवनले देखिएको तदारुकता र निर्माण व्यवसायीको इमानदारी अन्य सार्वजनिक आयोजनाका लागि पनि एउटा उदाहरणीय दृष्टान्त बनेको छ । विकासका निम्ति आफ्नो भूमि नि:स्वार्थ रूपमा त्याग गर्ने जग्गादाताहरूको योगदानले विकासमा जनसहभागिताको महत्वलाई उच्च बनाएको छ ।
भूमे गाउँपालिकाले पछिल्लो समय अख्तियार गरेको विकासको स्वरूप बहुआयामिक र जनमुखी देखिन्छ । पालिकाले केवल प्रशासनिक पूर्वाधारमा मात्र आफूलाई सीमित नराखी शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र सडक सञ्जाल जस्ता आधारभूत क्षेत्रमा नागरिकको माग र आवश्यकताका आधारमा योजनाहरू सम्पन्न गर्नुले सहभागितामूलक लोकतन्त्रको मर्मलाई आत्मसात् गरेको छ । दुर्गम भूगोलका बस्तीहरूलाई सडकले जोड्नु, स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने कृषिका कार्यक्रमहरू ल्याउनु र पर्यटनलाई समृद्धिको आधार बनाउनु नै संघीयताको वास्तविक उपलब्धि हो । विकास केवल भौतिक निर्माण मात्र होइन । नागरिकको जीवनस्तरमा आउने गुणात्मक परिवर्तन पनि हो भन्ने तथ्यलाई पालिकाको कार्यशैलीले स्पष्ट पारेको छ ।
यसै बिच अर्को एउटा विशिष्ट र अनुकरणीय पक्ष भनेको ‘खोज र अनुसन्धान’ प्रतिको लगाव हो । नयाँ सम्भावनाहरूको खोजी गर्ने, स्थानीय स्रोत र साधनको वैज्ञानिक उपयोग गर्ने र तथ्याङ्कमा आधारित भएर विकासका योजनाहरू तर्जुमा गर्ने जुन अभ्यास भूमेले गरेको छ। जस्ले भूमेलाई अन्य स्थानीय तहभन्दा पृथक् र आधुनिक पहिचान दिएको छ । विकासलाई केवल परम्परागत शैलीमा होइन । खोज र अनुसन्धानको जगमा उभ्याउनु नै दिगो समृद्धिको आधार हो । यद्यपि, भौतिक संरचनाको भव्यता र योजनाहरूको चाङले मात्रै सुशासनको पूर्ण प्रत्याभूति दिँदैन । अत्याधुनिक भवनबाट प्रवाह हुने सेवा पनि उत्तिकै आधुनिक, प्रविधिमैत्री र झन्झटमुक्त हुन अनिवार्य छ । भवनको बाहिरी चमकसँगै सेवा प्रवाहमा रहने कर्मचारीको व्यवहार र जनप्रतिनिधिको कार्यशैलीमा समेत उत्तिकै जनमैत्री परिवर्तन देखिनुपर्छ । पालिकाले आफ्ना सबै वडाहरूलाई आफ्नै प्रशासनिक पूर्वाधारले सुसज्जित गर्ने जुन लक्ष्य लिएको छ, त्यसलाई समयमै पूरा गर्दै सेवालाई थप पारदर्शी र उत्तरदायी बनाउनु अबको मुख्य चुनौती हो ।
अन्त्यमा, भूमे गाउँपालिकाले बोकेको समृद्धिको सपना र लिएको स्पष्ट ‘मिसन र भिजन’ लाई सफल बनाउन सबै सरोकारवालाहरूको रचनात्मक सहयोग आवश्यक छ । भौतिक विकासले कोरेको यो मार्गमा अब सामाजिक न्याय र आर्थिक रूपान्तरणका थप आयामहरू थपिनुपर्छ । खोज र अनुसन्धानको जगमा उभिएर गरिएको यो विकासको यात्राले नै भोलिको भूमेलाई एक नमुना र समृद्ध पालिकाको रूपमा स्थापित गर्नेछ । यो ऐतिहासिक उपलब्धिमा गर्व गर्दै आगामी दिनमा सेवाको मुस्कान र विकासको गतिलाई अझ तीव्रता दिनु नै अहिलेको प्रमुख आवश्यकता हो ।














प्रतिक्रिया दिनुहोस्