रुकुम पूर्वमा पाँचौँ राष्ट्रिय जेष्ठ नागरिक दिवस विविध कार्यक्रम गरी मनाइएको छ। आज सिस्ने गाउँपालिकाको सभाहलमा “हाम्रो साझा अभियानः जेष्ठ नागरिकप्रति श्रद्धा र सम्मान” भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइएको हो ।
दिवसको अवसरमा जेष्ठ नागरिकका हक, अधिकार र कर्तव्यसम्बन्धी अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो । अन्तरक्रियामा मानव अधिकारकर्मी दिपा अधिकारीले जेष्ठ नागरिकका हक–अधिकार, कर्तव्य तथा उनीहरूले भोग्दै आएका विभिन्न समस्याबारे प्रस्तुतीकरण गर्दै छलफल गराउनुभएको थियो ।
कार्यक्रममा सहभागी अधिकांश जेष्ठ नागरिकहरूले टोल–टोलमा सरकारी स्तरका जेष्ठ नागरिक प्रतिक्षालय निर्माण गरिनुपर्ने, स्वास्थ्य उपचार निःशुल्क हुनुपर्ने, सार्वजनिक सेवा लिँदा प्राथमिकता दिनुपर्ने, सवारीसाधनमा जेष्ठ नागरिकका लागि छुट्याइएका सिट सुरक्षित हुनुपर्ने, गाडी भाडामा छुट दिनुपर्ने तथा गास, बास र कपासको सुनिश्चितता हुनुपर्ने माग राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले जेष्ठ नागरिकका लागि स्थानीय सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले जेष्ठ नागरिकले उठाएका मागहरू जायज रहेको उल्लेख गर्दै पालिकाले जेष्ठ नागरिक भवन वा प्रतिक्षालय निर्माणका विषयमा छलफल गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा विशेष अतिथि सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउले र प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले जेष्ठ नागरिकका समस्या, सुझाव र अपेक्षा बुझ्नकै लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँहरूले आगामी दिनमा जेष्ठ नागरिकका समस्या तथा माग सम्बोधन हुनेगरी पालिकाले कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउनुभयो ।
यसैगरी, स्वास्थ्य कार्यालय रुकुम पूर्वका निमित्त कार्यालय प्रमुख निमप्रसाद गिरी र जिल्ला अस्पतालका डाक्टर ममता अधिकारीले जेष्ठ नागरिक लक्षित स्वास्थ्य सेवा तथा सुविधाबारे जानकारी गराउनुभएको थियो । उहाँहरूले रुकुम पूर्वमा स्वास्थ्य बीमा गर्नेको संख्या न्यून रहेको उल्लेख गर्दै सबैलाई स्वास्थ्य बीमामा आबद्ध हुन आग्रह गर्नुभयो ।
जेष्ठ नागरिक संयोजक तारकबहादुर शाहले अस्पताल, सार्वजनिक सेवा केन्द्र तथा यातायात क्षेत्रमा जेष्ठ नागरिकलाई लामो लाइनमा बस्नुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो । उहाँले यस्ता स्थानमा जेष्ठ नागरिकका लागि विशेष व्यवस्था आवश्यक रहेको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, पत्रकार तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सिस्ने गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख सुनिता खड्काले गर्नुभएको थियो ।।
















प्रतिक्रिया दिनुहोस्