रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ को आयोजनामा आज जेष्ठ नागरिक, अपाङ्ग तथा विपन्न वर्ग लक्षित सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
वडा अध्यक्ष हेराम खड्काको अध्यक्षता तथा जिल्ला समन्वय समिति रुकुम पूर्वका सदस्य लालजित बुढाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिस्ने गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत बजेटबाट पाँचौ राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर वडा भित्रका ९० जना जेष्ठ नागरिक तथा अपाङ्गहरुलाई करिब १ लाख ७५ हजार रुपैयाँ बराबरका काँसका थाल वितरण गरिएको हो ।
वडा अध्यक्ष खड्काले वडाका जेष्ठ नागरिक, अपाङ्ग तथा विपन्न वर्गको सम्मान र सेवा नै वडा सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता लक्षित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै सोही दिन वडा अध्यक्ष हेराम खड्काकै अध्यक्षतामा विषयगत कार्यालय तथा टोल विकास संस्थाका पदाधिकारीहरूसँग वडा स्तरीय अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरिएको सिस्ने गाउँ कार्यपालिका सदस्य मिना के.सी.ले जानकारी दिनुभएकाे छ ।
उक्त अन्तरक्रिया कार्यक्रममा वडा भित्रका ४ वटा टोल विकास संस्थाहरुलाई कार्यालय व्यवस्थापनका लागि प्रति टोललाई ५/५ वटा प्लास्टिक कुर्सीका दरले कुर्सी वितरण गरिएको छ ।
सिस्ने–३ की वडा सदस्य प्रेमाकुमारी कामी, त्रिभुवन जनता माध्यमिक विद्यालय पोखराका प्रधानाध्यापक कलु खड्का, स्वास्थ्य चौकी इन्चार्ज ज्ञानी वली, सौजन्य आधारभूत विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दराम लामिछाने, टोल विकास संस्थाका अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमकै अवसरमा वडा सचिव नरेश कुमार ओली र कार्यालय सहयोगी कर्ने नेपालीको बिदाइ तथा सम्मान कार्यक्रमसमेत गरिएको छ ।।
















प्रतिक्रिया दिनुहोस्