२०८३ कार्तिक १२ गते बुधवार

    मारिङमा बाली विशेष कृषि स्रोत केन्द्र बनाउने लक्ष्य



रुकुमपूर्व – रुकुमपूर्वको भूमे गाउँपालिकाले मारिङ क्षेत्रमा ‘बाली विशेष कृषि स्रोत केन्द्र’ स्थापना गरी प्रदेशभर आवश्यक पर्ने स्याउ, ओखर र आलुको गुणस्तरीय बीउ–बेर्ना आपूर्ति गर्ने तयारी अघि बढाएको छ। स्थानीय स्तरमै बीउ अभाव समाधान गर्ने उद्देश्यले गाउँपालिकाले तीन तहबीच समन्वय गरी स्रोत केन्द्र बनाउने योजना बनाएको छ ।

समुद्री सतहबाट करिब २६४० मिटर उचाइमा फैलिएको १५ हेक्टर क्षेत्र मारिङ स्याउ, ओखर, आलुबखडा तथा वर्खे आलु उत्पादनका लागि उपयुक्त क्षेत्रका रूपमा चिनिन्छ । तीन महिना हिउँ पर्ने भए पनि बाँकी समयमा सहज आवतजावत हुने, मध्यपहाडी राजमार्ग नजिक पर्ने र अर्गानिक उत्पादन सम्भावना अत्यधिक भएको कारण यो क्षेत्र प्रदेशकै सम्भावनायुक्त कृषि क्षेत्र समेत मानिएको छ ।

गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ भन्नुहुन्छ “मारिङलाई प्रदेशकै मोडेल स्रोत केन्द्र बनाउने पर्याप्त पूर्वाधार तयार भइसकेको छ । सडक, बिजुली, भवनलगायत आधारभूत संरचना विस्तार भएका छन्  । अब संघ र प्रदेशसँग सहकार्य गरेर यहाँ उन्नत बीउ–बेर्ना उत्पादन शुरु गर्न लागिरहेका छौँ ।” मारिङमा उत्पादित धेरैजसो बाली अर्गानिक प्रकृतिका हुने भएकाले वर्खे आलुको स्रोत बीउ उत्पादन र वितरणमा यो क्षेत्र प्रमुख केन्द्र बन्न सक्ने श्रेष्ठले बताउनुभयो ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख डिल्लीराज पौडेलका अनुसार “मारिङको हावापानी वर्खे आलु र स्याउका स्रोत बीउ उत्पादनका लागि देशमै उपयुक्त छ । यहाँ प्राविधिक सहयोग र कृषकको सहभागिता जुटाउन सकियो भने यो क्षेत्र लुम्बिनी प्रदेशकै ‘उत्कृष्ट स्रोत केन्द्र’ बन्न सक्छ । उनले भने  बीउ–बेर्नाको माग र आपूर्तिमा रहेको वर्तमान अवस्थामा मारिङ जस्ता सम्भाव्य स्थानलाई वैज्ञानिक स्रोत केन्द्रमा रूपान्तरण गर्न सके बीउ आत्मनिर्भरता अभिमुख बन्न सहयोग पुग्ने पौडेलले बताए ।

गाउँपालिकाको २०७४/७५ को नीति तथा कार्यक्रममा मारिङ कृषि अनुसन्धान केन्द्र स्थापनाको घोषणा भएयता पूर्वाधार विस्तार हुँदै आएको छ ।

प्रकाशित मिति : २०८२ पुष ७ गते सोमवार