२०८३ कार्तिक १२ गते बुधवार

धान होइन, अब भाङ्गो छ पकेटमा – पुथाउत्तरगङ्गाको हरियो क्रान्ति



रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले फल र रेसाका लागि भाङ्गो खेतीलाई वैधानिक दिएको छ । नेपाल सरकारले भाङ्गो खेती गर्नलाई वैधानिक दिएको छैन् । यद्यपि पुथाउत्तरगङ्गा गाउँपालिकाले गत हिउँदे अधिवेशनबाट भाङ्गो जन्य पदार्थ संरक्षण र व्यवस्थापन विधेयक–२०८१ पारित गरेको छ ।
गाउँसभाबाट उक्त विधेयक पारित भएपछि फल र रेसाका लागि भाङ्गो खेतीलाई वैधानिक दिइएको गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगरले जानकारी दिनुभयो । अध्यक्ष घर्तीमगरले भन्नुभयो, –“नेपाल सरकारले भाङ्गो खेतीका लागि कुनै पनि कानुन निर्माण गर्न सकेको छैन्, । पुथाउत्तरगङ्गा गाउँपालिकाले भाङ्गोको फल र रेसाका लागि भाङ्गो खेतीलाई वैधानिक दिइएका छौँ ।”

भाङ्गोको फल र रेसा यस गाउँपालिकाको मात्र नभई रुकुमपूर्व जिल्ला र यस आसपास जिल्लावासीको मुख्य आयस्रोत भएकाले भाङ्गो खेतीलाई वैधानिक दिइएको अध्यक्ष घर्तीमगरले बताउनुभयो । भाङ्गो भन्ने बित्तिकै जिल्ला बाहिरका मान्छेले चरेस र गाँजा उत्पादन भन्ने मात्र बुझिराखेकोमा अध्यक्ष घर्तीमगरले दुखेुसो पोख्नुभयो । उहाँले भन्नुभयो, –“तर, भाङ्गो खेती भनेको भाङ्गोको फलबाट तेल उत्पादन, फलबाटै स्वादिलो चटनी र रेसाबाट धागो उत्पादन हुन्छ र भाङ्गोको फल र रेसाबाट यस जिल्लावासीले आफ्नो जीवनयापन गरिराखेका छन् भन्ने कसैले बुझेका छैन्, हामी बुझेका छौँ, स्थानीयको जनजीवनलाई माथि उकास्नका लागि हामीले भाङ्गो जन्य पदार्थ संरक्षण र व्यवस्थापन विधेयक मार्फत निश्चित मापदण्ड निर्माण गरी भाङ्गो खेतीलाई वैधानिकता दिएका छौँ ।”

भाङ्गो खेती गर्नका लागि स्थानीयले गाउँपालिकालाई पहिले नै कुन ठाउँ र कति खेती गर्न लागेको भन्ने कुरा गाउँपालिकाबाट अनुमति लिनु पर्ने गाउँपालिकाले जनाएको छ । भाङ्गो खेती गर्न अनुमति, अनुगमन लगायत मापदण्ड कार्यविधिमा व्यवस्था गरिएको छ ।
भाङ्गोको फल र रेसाको उपयोगिता

भाङ्गो फलबाट तेल उत्पादन गरी खाने र लगाउनेमा प्रयोग गर्ने गरिएको छ । भने फलबाटै चटनी खाने गरिएको छ । साथै रेसाबाट धागो उत्पादन गरी कपडा निर्माणका साथ पशुचौपायलाई बाँध्ने दाम्लो, भारी बोक्नलाई नाम्लो लगायत घरायसी कामका लागि विभिन्न डोरी निर्माण गरी प्रयोग गर्ने गरेका छन् । यस जिल्लामा धान उत्पादन नहुने भएकोले स्थानीय कृषकले एक भाग भाङ्गोको फलसँग तीन भाग चामल साटफेर गर्ने गरेका छन् ।

भाङ्गोको फल र रेसा बिक्रीबाट घरपरिवारको मुख्य आयस्रोत गरिराखेको स्थानीयको भनाइ रहेको छ । गाउँपालिकाले फल र रेसाको लागि भाङ्गो खेतीलाई अनुमति दिएकोमा स्थानीय खुसी भएका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र २६ गते मङ्गलवार