२०८३ कार्तिक १२ गते बुधवार

भूमे गाउँपालिकाद्वारा छिमेकी गाउँपालिकालाई डेढ लाख सहयोग



रुकुमपूर्व भूमे गाउँपालिकाले विपद् व्यवस्थापनका लागि आकस्मिक कोष खाता २०७४ साल देखि सञ्चालन गर्दै आएको छ । गाउँपालिका भित्रका जनप्रतिनिधि र कर्मचारीले वर्षको दुई दिनको पारिश्रमिक आकस्मिक कोष खातामा जम्मा गर्दै आउनु भएको छ । गाउँपालिकाले मानव जीवनको रक्षा, मानव अधिकारको प्रवद्र्धन गर्नको लागि र जुनसुकै समयमा हुन सक्ने विपद्को अवस्थालाई मध्येनजर गरी राहत, उद्धार र खोजीकार्यका लागि निर्देशिका तयार गरेर आकस्मिक कोष सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

भूमे गाउँपालिकाको यसै हप्तामा बसेको ११ औं कार्यपालिका बैठकले छिमेकी गाउँपपालिका सिस्ने गाउँपालिकामा सञ्चालनमा रहेको अल्पकालीन सुरक्षित आवास गृहलाई एक लाख पचास हजार रुपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । सहयोगको रकम गाउँपालिकाको आकस्मिक कोषबाट विनियोजन गरिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तथा कार्यपालिका सचिव देबिलाल बिकले जानकारि दिनुभयो ।

सुरक्षित आवास गृहले घरेलु हिंसा, सामाजिक शोषण तथा अन्य कारणले संकटमा परेका महिला, बालबालिकालाई अस्थायी आवास, मनोपरामर्श तथा पुनःस्थापना सेवा दिँदै आएको छ । तर यो कार्य सिस्ने गाउँपालिकाको मात्रै नभएर भूमे गाउँपालिकाको पनि सामाजिक उत्तरदायित्व भएकोले उक्त सहयोग गरिएको गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताउनुभयो । अध्यक्ष श्रेष्ठले भन्नुभयो, “हामी नेतृत्वमा बसेका व्यक्तिहरू संकटमा परेका जनताको पीडामा साथ दिन तयार हुनुपर्छ ।”

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार