२०८३ कार्तिक १२ गते बुधवार

अटो चलाएर, घरपरिवार चलाउँदै 



वैदेशिक रोजगारीले अपेक्षाअनुसार कमाइ नदिएपछि रुकुमपूर्वको भूमे गाउँपालिकाका युवाहरू अहिले गाउँमै बसेर अटो व्यवसाय मार्फत आत्मनिर्भर जीवन बिताउन थाल्नु भएको छ । खाडी मुलुक विदेशमा वर्षौ देखि पसिना बगाएर पनि न कमाइ भयो, न सन्तोष निरास हुँदै गाउँ फर्किएका यवाहरु अहिले उनीहरू गाउँमै अटो चलाएर मासिक १५ हजार देखि ३० हजार रुपैयाँसम्म आम्दानी गर्दै आउनु भएको हो ।

भूमे–३ क्याङ्सीका ३५ वर्षीय रमेश सुनार मलेसिया र साउदी अरबमा झन्डै छ वर्ष बिताएर आउनु भएको छ । विदेशमा जीवन त्यति सहज नभएको उहाँले बताउनु हुन्छ । विदेशबाट गाउँ फर्किएर तीन वर्षअघि अटो किनेका रमेशले अहिले महिनामा ३० हजार हाराहारीमा कमाइ गर्दै आउनु भएको छ ।

त्यस्तै, भूमे–८ का २३ वर्षीय साजन रोका २० महिनादेखि अटो चलाउँदै आउनु भएको छ । उहाँले मासिक २० हजार रुपैयाँसम्म आम्दानी गर्दै आउनु भएको छ । साजनको अनुसार विदेशमा घामले पोल्थ्यो, यहाँ आफन्तबीच पसिना बगाउँदा सन्तोष मिलेको छ । गाउँमै दुःख गरेर महिनामा २० हजार कमाउन सफल भएको साजनले सुनाउनुभयो ।

भूमे–२ काक्रीका २८ वर्षीय श्याम बुढा मगरको अटो व्यवसायबाट मासिक १८ हजार रुपैयाँ आम्दानी गर्दै आउनु भएको छ । भूमे–६ महतका विष्णु सुनार ८ वर्ष साउदीमा काम गर्नु भएको थियो । उहाँ पनि एक वर्षदेखि अटो व्यवसायमै लाग्नु भएको छ । यस्तै भूमे–३ मोरावाङका जयराम बुढा मगरले पनि तीन वर्षदेखि अटो चलाउँदै घरपरिवार पाल्दै आउनु भएको छ ।

भूमे गाउँपालिकामा हालसम्म ३० वटा अटो व्यवसाय दर्ता भइसकेका छन् । स्थानीय बजार, स्वास्थ्यचौकी आदिमा सेवा दिन अटोहरूको माग बढ्दो छ । यसले अटो व्यवसाय गर्नेलाई नियमित आय दिने गरेको छ ।

वैदेशिक रोजगारीमा जाने धेरै युवाले सुरुवाती समयमा ऋण निकालेर जाने गर्नुहुन्छ । तर विदेशमा कमाइ कम हुँदा ऋण तिर्नै मुस्किल हुने अवस्था देखिएको छ । यस्ता अनुभवबाट सिकेर धेरै युवा गाउँ फर्किएका छन् । अटो व्यवसायले उहाँहरूलाई खर्च धान्ने मात्र होइन, परिवारसँग बस्ने खुसी पनि मिलेको छ ।

“गाउँमै काम गर्न सकिन्छ भन्ने उदाहरण बनेका छौं” रमेश सुनारले भन्नुभयो,“युवाहरूले आफूले जानेको काम गर्न आँट गर्नुपर्छ, देशमै अवसर छ ।” गाउँका युवाहरूले वैदेशिक रोजगारीको विकल्प गाउँमै खोज्न थालेपछि अरूलाई पनि प्रेरणा मिलिरहेको छ । अटो व्यवसाय जस्ता साना प्रयासले ठूलो परिवर्तन ल्याउन सक्ने उहाँहरूको विश्वास छ ।

प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार