२०८३ बैशाख ५ गते शनिवार

बाहिरबाट आएका पाहुना र चेलीबेटीलाई सम्मान गर्ने सिमा गाउँको अनौठो चलन



समाचार सारांश
Generated Using AI
  • रुकुमपूर्वको भूमे गाउँपालिका–३ सिमा गाउँमा तिहारपछि बाहिरबाट आएका पाहुना र चेलीबेटीलाई सामूहिक रूपमा भोजन खुवाउने पुरानो परम्परा आजसम्म पनि जीवित छ।
  • यो चलनले गाउँमा आपसी माया, सहकार्य र सामाजिक ऐक्यता सुदृढ पार्ने काम गर्दै आएको स्थानीयहरूको भनाइ छ
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

रुकुमपूर्वको भूमे गाउँपालिका –३ सिमा गाउँमा बाहिरबाट आएका पाहुना र आफ्ना चेलीबेटीलाई विशेष सम्मान गर्दै सामूहिक भोजन खुवाउने अनौठो परम्परा आजसम्म पनि जिवन्त छ।तिहारको भाइटीका सकिएलगत्तै गाउँभरिका दाजुभाइ, दिदीबहिनी, बालबालिका र बृद्धबृद्धा गाउँको चौतारामा भेला भएर यो मौलिक चलन मनाउने गर्छन्।

स्थानीय बासिन्दा चन्द्र रसाईलीका अनुसार यो परम्परा कुनै नयाँ होइन, परापूर्व कालदेखि नै सिमा गाउँको सांस्कृतिक चिनारीका रूपमा स्थापित छ।“तिहार सकिएपछि बाहिरबाट फर्किएका चेलीबेटी र गाउँमा आएका पाहुनाहरुलाई गाउँलेहरू एकै ठाउँमा भेला भएर खाना खुवाईन्छ। यसलाई हामीले माया, सम्मान र भाइचाराको प्रतीकका रूपमा लिएका छौं,” रसाईलीले भने। यो परम्पराले गाउँमा सामाजिक ऐक्यता र भाइचाराको भावना सुदृढ पार्ने काम गरेको स्थानीयहरू बताउँछन्।रसाईलीका अनुसार “हामी सँगसँगै बसेर खाने, हाँस्ने र सम्झना बाँड्ने काम गर्छौं।यसले गाउँका मानिसबीच आत्मीयता बलियो बनाउँछ।”युवा नेता चन्द्र रसाईली थप्छन्।“मिलेर बसेको समाज ढुङ्गा र माटोले बनेको घरभन्दा ठूलो सम्पत्ति हो।यस चलनले हाम्रो गाउँमा एकता, आपसी माया र सहकार्यको संस्कारलाई जोगाइरहेको छ।”

गाउँका जेष्ठ नागरिक अम्मरे पुन भन्छन्।“पहिलेका दिनमा जसका आमा–बुबा थिएनन्, उनीहरूलाई गाउँलेहरूले नै ‘तिको’ लगाइदिने गर्थे।तिहारको समयमा माया–ममता बाँड्ने त्यो संस्कारकै रूपान्तरण अहिलेको पाहुना–सम्मान भोजमा विकसित भएको हो।” उनका अनुसार यो परम्परा आज पनि ठीक त्यही आत्मीयतासहित निरन्तरता पाइरहेको छ।यो वर्ष पनि तिहार सकिएपछि सिमा गाउँको चौतारामा सबै गाउँलेहरूले सामूहिक रूपमा यो संस्कार मनाए। गाउँका बालबालिका, बुद्धिजीवी, भद्रभलाद्मी, युवा र वृद्ध सबै उपस्थित थिए।गाउँकै खेतमा उत्पादन भएको धानको भात, रागाको मासु र घरघरका परिकारसहितको भोजमा गाउँका पाहुना र चेलीबेटीलाई खुवाउने चलन रहेको छ।

तिहारको अवसर पारेर माईती फर्किएका चेलीबेटी र बाहिरबाट आएका पाहुनाहरू पनि यो परम्पराबाट निकै प्रभावित छन्।उनीहरूका अनुसार “गाउँमा फर्किँदा सबैले भेला भएर यसरी माया र सम्मानका साथ खाना खुवाउँदा आत्मीयता महसुस भएको बताएका छन्।वर्षमा एकचोटि मनाइने यो पाहुना–सम्मान संस्कारले गाउँको सामाजिक बन्धनलाई बलियो बनाउने काम गरेको छ।

 

प्रकाशित मिति : २०८२ कार्तिक १० गते सोमवार