२०८३ साउन १४ गते बिहिवार

आमा, हजुरलाई धेरै धेरै धन्यवाद



झक्कु पुनमगर स्वास्थ्यकर्मी

आमा,

हजुरलाई धेरै धेरै धन्यवाद।मलाई नौ महिना सम्म आफ्नो कोखमा राखी सकुशल जन्म दिनुभय। अनि बाबालाई पनि मनदेखि धन्यवाद, किनभने हजुरले मलाई हुर्काएर जन्माउनुभयो भने बाबाले हजुरको राम्रो ख्याल राख्नुभयो।

म पेटमा बसेका पहिलो तीन महिनासम्म हजुरलाई कम्ता गाह्रो भएन होला ! बिहानपख वाकवाकी लाग्ने, वान्ता हुने, रिँगटा आउने, खान मन नलाग्ने, झर्किने जस्ता समस्या हुँदा पनि हजुर स्वास्थ्यकर्मीले बोलाएको समयमा स्वास्थ्य संस्थामा गएर आठ पटक गर्भ जाँच गर्नुभयो।त्यसकै कारण हजुर र म दुबै स्वस्थ रह्यौँ।हजुरले टिटानसको खोप लगाउनुभयो, आइरन, क्याल्सियम र जुकाको औषधी लिनुभयो, पौष्टिक खानेकुरा खानुभयो र सरसफाइमा ध्यान दिनुभयो।त्यसैले म सामान्य तौलको स्वस्थ शिशु भएर जन्मिन सकेँ।

आज म यो संसारमा आएको छु, र मेरो खुशी मेरो आँखाबाट देख्न सकिन्छ।भोक लाग्दा वा असजिलो हुँदा रोएर म आफ्ना कुरा बताउँछु।जब म हजुरको पेटमा थिएँ, हजुर खुशी हुँदा म पनि खुशी हुन्थें, हजुर दुःखी हुँदा म पनि दुःखी हुन्थें।कसैले हजुरलाई गाली गरेमा मेरो पनि मन पोल्थ्यो।हजुरले गीत-संगीत सुन्दा, बाबासँग मीठा कुरा गर्दा, घर-परिवारले स्नेह र सहयोग दिँदा म पनि गर्भमै रमाउँथें।

तर आमा, जन्माएर मात्रै जिम्मेवारी पूरा हुँदैन।अब मेरो स्वास्थ्यको रक्षा गर्न हजुरले खोपहरू समयमै लगाइदिनु पर्छ।जन्मेपछि तुरुन्तै बीसीजी खोप लगाउनुपर्छ, जसले क्षयरोगबाट बचाउँछ। त्यसपछि म छ हप्ताको हुँदा रोटा, ओपीभी, पिसिभी र डिपीटी खोप लगाउनुपर्छ — जसले झाडापखाला, पोलियो, निमोनिया, लहरे खोकी र धनुष्टङ्कारजस्ता रोगबाट बचाउँछ।

दश हप्तामा पनि यही खोपहरू दोहोर्‍याउनुपर्छ, अनि चौध हप्तामा एफआईपीभी, ओपीभी र डिपीटी खोप लगाउनुपर्छ।नौ महिनाको हुँदा एफआईपीभी, पिसिभी र दादुरा–रुबेला (एमआर) पहिलो मात्रा,एक वर्षमा जापानिज इन्सेफलाइटिस (JE) खोप,र पन्ध्र महिनामा दादुरा–रुबेला दोस्रो मात्रा र टाइफाइडको टीसीभी खोप लगाउनुपर्छ ।यी सबै खोपहरू पूरा गरेपछि म पूर्णखोप शिशु बन्छु ।

प्रत्येक पटक खोप लगाउँदा स्वास्थ्यकर्मीलाई सोध्नुहोस् — खोपको नाम, उद्देश्य र अर्को मात्रा कहिले भन्ने कुरा।हजुर पढेलेखेको आमा हुनुहुन्छ, त्यसैले आफ्ना बच्चाको स्वास्थ्यमा सधैं चनाखो रहनु होला।

अर्को कुरा, मलाई छ महिनासम्म पूर्ण स्तनपान गराउनु होला।यस अवधिमा पानीसमेत नदिनुहोस्। जरुरी परे सफा उमालेको पानी मात्र दिनुहोस्।अन्य खाना वा दूध मेरो पेटले धान्दैन।संस्कारको नाममा गरिने पास्नी र भोज आदिले म बिरामी पर्न सक्छु, त्यसैले पास्नी म छ महिनापछि गर्नु उपयुक्त हुन्छ।त्यसपछि मलाई थप खाना खुवाउँदै दुई वर्षसम्म स्तनपान गराइराख्नुस् र मेरो तौल तथा वृद्धि नियमित अनुगमन गर्नुस्।

अन्तमा, चिसो मौसम सुरु भएको छ, आमा।हजुरले आफ्नो पनि ख्याल राख्नुपर्छ र मेरो पनि। हिउँदमा श्वासप्रश्वासका रोग र गर्मीमा झाडापखालाले म जस्ता बच्चा धेरै प्रभावित हुन्छन्।त्यसैले सधैं सतर्क रहनुहोस्।

प्रकाशित मिति : २०८२ कार्तिक ११ गते मङ्गलवार