२०८३ साउन १३ गते बुधवार

जन्मदिनको तडकभडक त्यागेर विद्यालयमा अक्षयकोष



आधुनिकताको नाममा पछिल्लो समय जन्मदिन मनाउने बहानामा फजुल खर्च र तडकभडक गर्ने संस्कृति बढ्दै गएको छ । होटलका पार्टी र महँगा केक काटेर उत्सव मनाउने यो होडबाजीका बीच रुकुम पूर्वको भूमे गाउँपालिका-३ का एक युवाले भने आफ्नो जन्मदिनलाई समाजसेवा र शिक्षासँग जोडेर नयाँ सन्देश दिएका छन् ।

समाजसेवी चन्द्र रसाइलीले आफ्नो जन्मदिनको खर्च कटाएर आमाबुबाको सम्मानमा स्थानीय विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । रसाइलीले आफ्नो गाउँमा रहेको शहीद शुक्र माध्यमिक विद्यालयमा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरी उक्त रकम विद्यालय परिवारलाई हस्तान्तरण गर्नुभएको छ ।

जन्मदिनमा हुने अनावश्यक खर्चलाई सामाजिक कार्यमा लगाउने रसाइलीको यो निर्णयले सकारात्मक बहस सिर्जना गरेको छ । रकम हस्तान्तरण गर्दै रसाइलीले भन्नुभयो । “आफ्नो खुशीका लागि पैसा उडाउनुभन्दा भोलिका कर्णधार विद्यार्थीको भविष्यका लागि सानो भए पनि सहयोग पुगोस् भन्ने मेरो चाहना हो । बुबाआमाको नाम विद्यालयमा रहिरहने र त्यसले गरिब विद्यार्थीलाई टेवा पुग्ने भएपछि मनमा छुट्टै आनन्द मिलेको छ ।”

भूमे-३ का वडाध्यक्ष परशुराम बुढामगरले रसाइलीको यो कदम अरूका लागि पनि एउटा बलियो प्रेरणाको स्रोत हुने बताउनुभयो । उहाँका अनुसार, गाउँको शैक्षिक स्तर सुधार गर्न समुदाय र युवाहरूको यस्तै सहकार्य आवश्यक छ ।वडाध्यक्ष बुढामगरले थप्नुभयो।”युवाहरूले गाउँको माटो र विद्यालयलाई सम्झिनु निकै सुखद् पक्ष हो । यो योगदानले वडाको समग्र शैक्षिक अभियानमा थप ऊर्जा र हौसला प्रदान गरेको छ ।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जोगबहादुर पुनमगरले रसाइलीप्रति आभार व्यक्त गर्दै अक्षयकोषको पूर्ण पारदर्शी रूपमा सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सो रकमबाट प्राप्त हुने ब्याजलाई विद्यालयमा अध्ययनरत अति विपन्न, जेहेन्दार र पिछडिएका विद्यार्थीहरूको छात्रवृत्तिमा खर्च गरिने जानकारी दिनुभयो । “हाम्रो विद्यालयमा आर्थिक अभावका कारण कापी-कलम किन्न समेत धौ-धौ हुने विद्यार्थीहरू छन्,” अध्यक्ष पुनले भन्नुभयो, “यो अक्षयकोषले त्यस्ता विद्यार्थीहरूलाई विद्यालयमा टिक्न र पढाइलाई निरन्तरता दिन ठूलो मद्दत पुग्नेछ ।”

प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रवार