रुकुम पूर्वमा उद्यमी बन्न चाहने बेरोजगार युवाहरूका लागि उद्यमशीलता तालिम सुरु भएको छ। घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वको आयोजनामा आज उक्त तालिमको औपचारिक उद्घाटन गरिएको हो।
सिस्ने गाउँपालिका–६ छिप्रीदहमा सञ्चालन हुने यो तालिम पुस ०९ गतेदेखि पुस १५ गतेसम्म सात दिनसम्म चल्नेछ । तालिममा ३० जना बेरोजगार युवाहरूको सहभागिता रहने घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
तालिम उद्घाटन कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुखको अध्यक्षता रहेको थियो । उहाँले उद्यमशीलता तालिमले सहभागीहरूलाई सफल व्यवसायी बन्ने बाटो देखाउने विश्वास व्यक्त गर्दै, व्यवसाय कसरी सफलतापूर्वक सञ्चालन गर्ने भन्ने ज्ञानले युवाहरूलाई आत्मनिर्भर बनाउने बताउनुभयो। साथै तालिममा सहभागी सबैलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
उद्यमी बन्ने लक्ष्यसहित व्यवसाय सचेतना तथा व्यवसाय सुरु गर्ने विषयमा केन्द्रित उक्त उद्यमशीलता तालिमले युवाहरूलाई व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने उद्देश्य राखिएको छ।
तालिमको सहजीकरण घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वकी उद्यम विकास शाखाकी तारा पुन मगरले गर्नुहुनेछ। तालिम अवधिभर व्यवसाय कसरी सुरु गर्ने, व्यवसायिक सोच विकास गर्ने, अवसर पहिचान, योजना निर्माण लगायतका विषयमा प्रशिक्षण दिइने बताइएको छ ।
आयोजकका अनुसार यस तालिमले रुकुम पूर्वका युवाहरूलाई स्वरोजगारतर्फ आकर्षित गर्दै उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया दिनुहोस्