२०८३ साउन १४ गते बिहिवार

रुकुम पूर्वमा प्रचण्डसहित १२ जना मैदानमा



माघ ६ , आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रुकुम पूर्वमा राजनीतिक उत्कर्षमा पुगेको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशको हिमाली जिल्लामा रुकुमपूर्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित १३ जनाले उम्मेदवारी दर्ता गराएपछि चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुगेको हो ।

मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर विभिन्न राजनीतिक दलका १२ जना र एक जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएको सहायक निर्वाचन ईस्वश्वोरी प्रसाद सुवेदीले जानकारी दिए ।

नेकपाको बलियो आधार इलाका मानिने यस जिल्लामा पूर्वप्रधानमन्त्री समेत रहनुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैं मैदानमा उत्रिएपछि देशभरिको ध्यान रुकुम पूर्वतर्फ खिचिएको छ । उहाँलाई टक्कर दिन नेकपा एमालेबाट लीलामणी गौतम र नेपाली कांग्रेसबाट कुसुमदेवी थापा चुनावी मैदानमा छन् । यस्तै, वैकल्पिक राजनीतिको नारासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) बाट लखनकुमार थापा र स्वतन्त्र उम्मेदवारका रूपमा अमरसिंह पुनले उम्मेदवारी दिएपछि प्रतिस्पर्धा बहुपक्षीय हुने देखिएको छ ।

                         नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेपाली कांग्रेसका कुसुमदेवी थापा नेकपा एमालेबाट लीलामणी गौतम,राष्ट्रिय स्वतन्त्र पार्टीबाट लखनकुमार थापा, नेकपा (माओवादी): जुद्धबहादुर मगर, राष्ट्रिय जनमोर्चाबाट चन्द्रप्रसाद शाही, जनता समाजवादी पार्टीबाट शेरबहादुर बुढा, स्वतन्त्र अमरसिंह पुन रहेका छन् । यस्तै अन्य उम्मेदवारहरूमा नेशनल रिपब्लिक नेपालका धर्मकुमार बुढा, मंगोल नेशनल अर्गनाइजेसनकी ज्योति रोका मगर, प्रलोपाका सन्दिप पुन, राप्रपाका रोशन शाह र राष्ट्रिय मुक्ति पार्टीका कृष्णबहादुर पुनले मनोनयन दर्ता गराएका हुन् ।

रुकुम पूर्वमा यसपटकको निर्वाचनमा नयाँ र पुराना शक्तिबीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ । जम्मा ३४ हजार ७ सय ७२ मतदाता रहेको यस जिल्लामा मतदाताको संख्या थोरै भए पनि यसको राजनीतिक प्रभाव भने राष्ट्रिय स्तरमै रहने गरेको छ । विगतका निर्वाचनमा नेकपा पक्षधर शक्तिहरूको बाहुल्यता रहे पनि यस पटक कांग्रेस, एमाले र रासपाले आफ्नो संगठन विस्तार गरेका कारण नतिजा कसको पक्षमा जान्छ भन्ने आकलन गर्न कठिन छ ।


प्रकाशित मिति : २०८२ माघ ६ गते मङ्गलवार