रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र नेतृत्व चयनलाई लिएर असन्तुष्टिको आगो सल्किन थालेको संकेत देखिएको छ। पार्टीले रुकुमपूर्वसहित विभिन्न जिल्लाको नेतृत्व टुंगो लगाएलगत्तै केन्द्रीय सदस्य तथा भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ ‘हिमाल’ले सामाजिक सञ्जालमार्फत नेतृत्वमाथि असाधारण रूपमा आक्रामक टिप्पणी गरेका छन्।
पार्टीले रुकुमपूर्वको जिल्ला इञ्चार्जमा तेजबहादुर ओली, सहइञ्चार्जमा भीउमान घर्ती, रामसुर बुढा र सुनिता बीएम तथा जिल्ला संयोजकमा कुमारी बराल र सहसंयोजकमा भुवनेश्वर उपाध्यायलाई जिम्मेवारी दिएको थियो। यसमध्ये केही पुरानै अनुहार दोहोरिएपछि पार्टीभित्र असन्तुष्टिको स्वर चर्किन थालेको हो।
केन्द्रीय सदस्य हिमालले पार्टीको वर्तमान अवस्थाप्रति कटाक्ष गर्दै लेखेका छन्, “हाम्रो पार्टीको कद किन क्रमशः सानो, होचो र टिठलाग्दो बन्दै गयो भन्ने कुरा अब बुझ्न थालेँ।” उनको आक्रोश यतिमै सीमित छैन। उनले पार्टीका सर्वोच्च नेतृत्वमाथि नै निशाना साध्दै ‘दलाल, खुराफाती र फटाहाहरूले घेरिएको निरीह पात्र’को संज्ञा दिएका छन्। उनको टिप्पणीले पार्टीभित्रको असन्तुष्टि केवल जिल्ला नेतृत्व चयनमा सीमित नभई केन्द्रसम्म पुगेको संकेत गरेको छ।
हिमालले नेतृत्वले पार्टीको संगठनात्मक संरचना बुझ्न नसकेको वा बुझ्नै नचाहेको आरोप लगाएका छन्। साथै, जनताको भावना र अपेक्षाप्रति पनि नेतृत्व उदासीन रहेको उनको दाबी छ। “निरन्तर गल्ती गर्दै जाने र समयले झापट दिँदा पनि नचेत्ने नेतृत्वबाट सकारात्मक र अग्रगामी दिशा आउने विश्वास रहेन,” उनले लेखेका छन्।
सबैभन्दा अर्थपूर्ण र राजनीतिक रूपमा गम्भीर मानिएको उनको अर्को अभिव्यक्ति हो । “अब खुराफातलाई क्रान्तिकारिताको खोल ओढाउने लाइन र पार्टी तथा बहुसंख्यक जनताको हितमा काम गर्ने लाइनबीच निर्मम संघर्ष हुन्छ।”
राजनीतिक वृत्तमा हिमालको यो अभिव्यक्तिलाई सामान्य असन्तुष्टि नभई पार्टीभित्रको वैचारिक तथा संगठनात्मक द्वन्द्वको सार्वजनिक संकेतका रूपमा हेरिएको छ। विशेषगरी पार्टीको केन्द्रीय तहमा रहेका नेताबाटै यस्तो भाषा प्रयोग हुनु नेतृत्वप्रतिको गहिरो असन्तुष्टिको संकेत मानिएको छ।
















प्रतिक्रिया दिनुहोस्