२०८३ साउन १३ गते बुधवार

रूकुम पूर्वमा हानिकारक परम्परागत अभ्यास र लैङ्गिक हिंसा न्यूनीकरणबारे पत्रकारहरूसँग अन्तरक्रिया



निराजन बिक शेर्पाली

 नेपाल जनजागरण मञ्चको आयोजना तथा नेपाल पत्रकार महासंघ रूकुम पूर्वको समन्वयमा जिल्ला स्थित पत्रकारहरूसँग हानिकारक परम्परागत अभ्यास, लैङ्गिक विभेद तथा हिंसाका विभिन्न स्वरूपबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

रूकुम पूर्वको छिप्रिदहमा सम्पन्न उक्त कार्यक्रममा नेपाल जनजागरण मञ्च, यू.एम.एन. र नेपाल पत्रकार महासंघका प्रतिनिधिहरूसहित स्थानीय पत्रकारहरूको सहभागिता रहेको थियो।छलफलमा समाजमा व्याप्त हानिकारक परम्परागत अभ्यास, लैङ्गिक हिंसाका चुनौतीहरू तथा तिनको न्यूनीकरणका उपायहरूबारे विस्तृत विमर्श गरिएको हो।

मिडियाको भूमिकाबारे विशेष चर्चा सहभागी पत्रकारहरूले सञ्चारमाध्यमले जनचेतना अभिवृद्धिमा खेल्ने भूमिकाबारे विचार राख्दै, सरोकारवालासँगको सहकार्यमा रेडियो जिङ्गल तथा सूचना प्रकाशन जस्ता अभियानहरूलाई प्रभावकारी बनाउने उपायहरूबारे सुझाव प्रस्तुत गरेका हुन।

नेपाल जनजागरण मञ्चका प्रतिनिधिहरूले कानुनी संरचना, राज्यका प्रयास तथा स्थानीय तहको सहभागिताबारे जानकारी गराउँदै हानिकारक अभ्यास रोक्न सामूहिक प्रयासको आवश्यकतामा जोड दिएका हुन।

मानसिक स्वास्थ्यबारे अन्तरक्रिया कार्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी विषयमा पनि विशेष छलफल भएको हो।सहभागीहरूले समाजमा मानसिक स्वास्थ्यलाई कसरी बुझाउन सकिन्छ, यसको समाधानका उपायहरू के हुन सक्छन् भन्ने विषयमा आ–आफ्नो अनुभव साटासाट गरिएको हो।सहकार्यको प्रतिबद्धता नेपाल पत्रकार महासंघ रूकुम पूर्वका अध्यक्ष बशन्त बाँठा मगरले नेपाल जनजागरण मञ्चले सञ्चालन गर्ने कार्यक्रमहरूमा महासंघको सहकार्य रहने प्रतिबद्धता जनाउँदै, रेडियो तथा अनलाइनमा बजाइने जिङ्गल तथा सूचनाप्रकाशनमा ५० प्रतिशत छुटका लागि पहल गर्ने बताउनुभयो।कार्यक्रममा नेपाल जनजागरण मञ्चका अध्यक्ष टेक बहादुर कुसारी, यू.एम.एन. रूकुम पूर्व क्लस्टरका परियोजना म्यानेजर सपना श्रेष्ठ, नेपाल जनजागरण मञ्चका परियोजना संयोजक राम टमटा, परियोजना अधिकृत हस्त बहादुर भग्री, सुपरभाइजर निदान बुढा मगर तथा महासंघका प्रतिनिधिहरू लगायत पत्रकारहरूको उपस्थिति थियो।

प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते शुक्रवार