माघ १०, माघको महिनाको ठिहीर्याउने जाडो छिचोल्दै लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्व यतिबेला हिउँको बाक्लो पछ्यौरी ओढेर बसेको छ। तर, यो पछ्यौरीले कसैलाई न्यानो मुस्कान दिएको छ त कसैलाई चिसो सास्ती । केही साताअघिसम्म फुस्रो र उराठ देखिएको सिस्ने हिमालले अहिले ‘कालो पत्थर’को चोला फेरेको छ। सिस्ने मात्र होइन, पुथा हिमालदेखि धौलागिरि र माछापुच्छ्रेका श्रृङ्खलाहरू हिउँले ढाकिएर टलक्क टल्किएका छन्। जिल्लाको सिस्ने, भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकाका माथिल्लो भेगहरू यतिबेला कुनै चित्रकारले कोरेको जीवन्त क्यानभास जस्तै देखिएको छ ।

रुकुम पूर्व र बागलुङ संगमस्थल ‘पातिहाल्ना’ यतिबेला हिउँ खेल्नेहरूको मुख्य अखडा बनेको छ । मध्यपहाडी लोकमार्ग हुँदै गुड्ने गाडीहरू पातिहाल्ना आइपुग्दा नरोकिई धरै मानिस फर्कदैनन् । रुकुम पश्चिम, दाङ, सल्यान र रोल्पाबाट मात्र होइन, पोखरा र बुटवल जस्ता टाढाका सहरबाट समेत पर्यटकहरु हिउँसँग साक्षात्कार गर्न यहाँ आइपुगेका छन् ।

अवरुद्ध मध्य पहाडी सडक खोल्न अग्रसर भएका स्थानीय समाजसेवी चन्द्र रसाईलीले हिउँ जति सुन्दर छ, यसले निम्त्याउने अवरोध उति नै कठिन भएको सुनाए । “हिउँ परेपछि पर्यटक झुम्मिने कुराले खुसी त लाग्छ, तर जब सयौँ यात्रीहरू सडकमै अलपत्र पर्छन्, तब हाम्रो मन अमिलो हुन्छ। हिउँ पन्छाएर बाटो सुचारु गर्न हामी लागिपरेका छौँ, ताकि कसैले पनि यो जाडोमा सडकमै रात काट्न नपरोस्।” साईलीका अनुसार सडक विभागले चासो नदिदाँ स्थानीय सरकारको सक्रियतामा हिउँ पन्छाउने काम भएको उनले बताए । “यो क्षेत्र पर्यटकीय प्रचुर सम्भावना भएको ठाउँ हो, तर हिउँ परेका बेला सडक खुला राख्न राज्यको उपस्थिति अझै प्रभावकारी हुन जरुरी छ,” उनले थपे।

कोही हिउँको थुप्रोमा लडिबुडी गरिरहेका छन्, कोही एकअर्कालाई हिउँको डल्लाले हिर्काएर बाल्यकाल ब्युँताइरहेका छन् । पातिहाल्नाबाट उकालो लागेर तिलाचन र चौँरी लेकसम्म पुग्नेहरू हिउँको साम्राज्यमा हराउँदा ढोरपाटनको सुन्दर फाँटले उनीहरूलाई मन्त्रमुग्ध बनाइदिन्छ । “हिउँ त पहिले पनि देखियो, तर पातिहाल्नाको यो उचाई र यहाँबाट देखिने हिमालको दृश्य साँच्चिकै मनमोहक दृष्य छ,” हिउँ खेल्न आएका एक आन्तरिक पर्यटकले आफ्नो अनुभव साटे। तर, हिउँ सधैँ रहर मात्र बनिदिँदैन। हिउँसँगै आएको ‘कहर’ले यात्रीहरूलाई उत्तिकै पिरोलेको छ। लुगुमदेखि पातिहाल्नासम्मको करिब १० किलोमिटर सडक खण्डमा हिउँ जम्दा सवारी साधन चलाउन निकै सकस भएको छ।

प्रकृतिको यो सुन्दर उपहारले एकातिर पर्यटनको ढोका उघारिदिएको छ भने अर्कोतिर दैनिक जनजीवन र यात्रालाई चुनौतीपूर्ण बनाइदिएको छ । हिउँ परेपछि बढ्ने चिसोले माथिल्लो भेगका बासिन्दाको दैनिकी चुल्होकै वरिपरि सीमित हुन थालेको छ । यदि यो रुटलाई व्यवस्थित गर्ने र हिउँ व्यवस्थापनका लागि आधुनिक उपकरणको व्यवस्था गर्ने हो भने, रुकुम पूर्वको यो क्षेत्र लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ ।
















प्रतिक्रिया दिनुहोस्