२०८३ साउन १३ गते बुधवार

एमाले रुकुमपूर्वमा एकलौटी नेतृत्वविरुद्ध बिद्रोहको घण्टी



रुकुमपूर्वमा नेकपा एमालेभित्र आन्तरिक असन्तुष्टि सतहमा आएको छ। निवर्तमान जिल्ला अध्यक्ष टोपबहादुर ओली नेतृत्वप्रति खुलेर असन्तुष्टि पोख्दै आफ्नै समूह विद्रोहको तयारीमा रहेको संकेत दिएका छन्।

जिल्ला इञ्चार्ज खेममान खड्काको कार्यशैलीलाई लिएर ओली र उनको समूहमाझ चर्को असहमति देखिएको छ ।”२०७० मा समानुपातिकका लागि काठमाडौं गएका मान्छे प्रत्यक्ष टिकट लिएर फर्किए। त्यसबेलादेखि हालसम्म पनि तिनले पूर्वाग्रह, तुस र झगडिया शैली त्याग्न सकेका छैनन्। यस्ता मान्छेले नै अहिले पनि ठूला डङ्का पिटिरहेका छन्,” ओलीकाे टिप्पणी छ।

उनले थप लेखेका छन्, “२०७० देखि २०८२ सम्म कति पानी बग्यो, तर व्यवहार त्यही पुरानै! यस्तो सङ्कीर्णता अब सहन सकिँदैन। जस्तोलाई त्यस्तैको नीति अपनाउन बाध्य भयौँ। तत्कालीन समयमा विद्रोह आवश्यक थियो, अहिले पनि यथार्थ बुझे हुन्थ्यो।”सामाजिक सञ्जालमा आएको पोस्टबारे प्रतिक्रिया दिँदै ओलीले स्पष्ट पारे, “मैले लेखेको कुरा ठट्टा होइन, त्यही नै यथार्थ हो। नेतृत्वलाई बारम्बार चेतावनी र सुझाव दिए तापनि बेवास्ता भइरह्यो। अहिले कार्यकर्तामाझ सच्चाइ राख्नु हाम्रो कर्तव्य हो।”

ओलीको भनाइ अनुसार, पार्टी सामूहिक निर्णयको प्रक्रियाबाट चलिनुपर्नेमा अहिले केही व्यक्ति मात्रै सिंगो संगठनको निर्णय गर्नेजस्तो अवस्था सिर्जना भएको छ। यसप्रति असन्तुष्टि चुलिदै गएको र यदि तत्काल सुधार नभए विद्रोह अपरिहार्य हुने स्पष्ट संकेत ओेलीले दिएका छन् ।

प्रकाशित मिति : २०८२ बैशाख ३१ गते बुधवार