रुकुमपूर्व अहिले नेपालकै नयाँ जिल्लामध्ये एक हो।वि. सं. २०७२ असोज ३ गते, राज्यले प्रशासनिक विभाजनको पुनर्निर्माण गरेपछि तात्कालिन रुकुम जिल्लालाई रुकुमपूर्व र रुकुम पश्चिममा विभाजन गरेको थियो।नयाँ जिल्ला भएर पनि यहाँ पत्रकारिता र सञ्चार माध्यमको अवस्था अझै पनि पूर्वाधार, स्रोत र आर्थिक दृष्टिले कमजोर छ।यहाँको भौगोलिक बनावट दुर्गम, पहाडी र हिमाली ग्रामीण भएको कारण यातायात र सञ्चार सुविधा सीमित छ, जसले पत्रकारिताको अभ्यासलाई अझ कठिन बनाएको छ।
रुकुमपूर्वमा हाल दुईवटा रेडियो स्टेशनको स्थापना भए पनि हाल रेडियो पूर्वी रुकुम र केही अनलाइन समाचार पोर्टलहरू मात्रै सक्रिय छन्।यी रेडियो र अनलाइन मिडियाहरू पनि बजार सानो हुनु, जिल्लाको जनसंख्या कम हुनु र विज्ञापन बजार अत्यन्त सीमित हुनुका कारण आर्थिक मन्दीको चपेटामा छन्।कहिलेकाहीँ त सञ्चालन खर्च जुटाउन कठिन हुने अवस्था पनि देखिन्छ।विज्ञापन प्रणालीबाट पर्याप्त आय नआएकाले मिडियाहरूको दीर्घकालीन स्थायित्वमा प्रश्न उठेको छ।हामीले यहाँ पत्रकारिता गर्नुअघि काठमाडौं वा प्रदेश राजधानीमा जस्तो सुविधा पाइँदैन।ग्रामीण भेग भएकाले इंटरनेट र मोबाइल नेटवर्क कहिलेकाहीँ अवरुद्ध हुन्छ।समाचार संकलनका लागि दुर्गम गाउँहरूमा पुग्दा घण्टौं हिँड्नुपर्ने अवस्था छ।यातायातको असुविधाले समयमै समाचार पठाउन अथवा संकलन गर्न गाह्रो हुन्छ।यसैगरी तथ्यांक, सार्वजनिक विवरण र सरकारी निकायबाट सूचना प्राप्त गर्न अझै सहज छैन।यी सबै कारणहरूले रुकुम पूर्वमा पत्रकारिता गर्न रुचि गर्नेले ठूलो व्यक्तिगत लगानी र समय खर्च गर्नुपर्छ।
रुकुम पूर्वमा नेपाल पत्रकार महासंघको नाममा जग्गा नहुदा स्थायी भवन अझै निर्माण हुन सकेको छैन बेला बेला प्रदेश सरकारले बजेट छुट्याउने गरे पनि महासंघको नाममा जग्गा नहुदा बजेट त्यत्तिकै फिर्ता हुने गरेको छ।यो पनि यहाँको पत्रकारिताको आधारभूत पूर्वाधारको अभावको स्पष्ट उदाहरण हो।स्थायी भवन नभएकाले तालिम, गोष्ठी, बैठक र अन्य पेशागत गतिविधिहरू सञ्चालन गर्न कठिनाइ छ।हामी महासंघका तर्फबाट भवन निर्माणका लागि निरन्तर पहल गरिरहेका छौं, तर अझै सफलता हात पारेको छैन।यहाँका पत्रकारहरू निराश छैनन्।उनीहरू जनसरोकारका विषयहरू जस्तै शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधार, वातावरण, दलित अधिकार, महिला सशक्तीकरण र सामाजिक न्यायका मुद्दाहरू निरन्तर उठाइरहेका छन्।ग्रामीण क्षेत्रको आवाजलाई राष्ट्रिय स्तरमा पुर्याउने काममा स्थानीय पत्रकारहरूले अग्रणी भूमिका खेलिरहेका छन्।
नयाँ जिल्ला भएको कारण सरकारी कार्यालयहरू, तथा विभिन्न निकायहरू र बजेट व्यवस्थापनको प्रक्रिया अझै स्थिर र प्रभावकारी बनेको छैन।यो पनि पत्रकारिता र मिडिया सञ्चालनका लागि चुनौती हो।किनभने सरकारी विज्ञापन वितरण प्रणाली स्पष्ट र पर्याप्त छैन, जसले स्थानीय मिडियालाई दिगो रूपमा चल्न गाह्रो परिरहेको छ।बजार सानो हुँदा निजी क्षेत्रबाट पनि विज्ञापन कम मात्रामा आउँछ।त्यसमा ठुला टेण्डरका सूचना स्थानीय पत्रकारले पाउने कुरा अनिश्चित छ।राष्ट्रिय मिडियाहको दबाबा त्यसमा अझै कर्मचारीहरुको डाइट ठुला मिडिया सँगको हिमचिमले समस्या थपेको छ।
डिजिटल मिडिया र सामाजिक सञ्जालको प्रयोगले केही हदसम्म सूचना प्रवाहलाई सजिलो बनाएको छ।स्मार्टफोन र इन्टरनेटको प्रयोग बढेकाले समाचार पठाउने, तस्बिर र भिडियो लिने, सामाजिक मिडियामा तत्काल प्रसारण गर्ने सम्भावना बढेको छ।तर डिजिटल मिडियामा पनि टिकाउपनाको समस्या छ।विज्ञापन नगरेको वा न्यून राजस्व भएको कारण अनलाइन पोर्टलहरू पनि धेरैजसो व्यक्तिगत लगानी र उत्साहमा मात्र टिकेका छन्।रुकुमपूर्वको भौगोलिक बनावट पत्रकारिताको दृष्टिले एउटा महत्वपूर्ण विषय हो।यहाँ पहाडी तथा हिमाली गाउँहरू छन्, जहाँ मानिसहरू अझै पनि आधारभूत सेवा पाउन सकिरहेका छैनन्।प्राकृतिक प्रकोप, अव्यवस्थित सडक, लामो दूरी र मौसमीय असरका कारण पनि पत्रकारहरूले काम गर्दा थप जोखिम व्यहोर्नुपरेको छ।यस्ता कठिनाइका बाबजुद पनि यहाँका पत्रकारहरूले समाचार संकलनमा निरन्तरता दिइरहेका छन्।
मिडिया टिकाउने चुनौती नै यहाँको सबैभन्दा ठूलो समस्या हो।अहिले सञ्चालनमा रहेको रेडियो पूर्वी रुकुम र केही अनलाइन मिडिया नै आर्थिक मन्दीको कारण धराशायी हुने अवस्थामा छन् भने कतिपय अनलाइन र एउटा रेडियो त निष्क्रिय नै छन्।बजार सानो हुँदा यहाँका व्यवसायिक प्रतिष्ठानहरूले विज्ञापन दिन सक्दैनन् वा दिन चाहँदैनन्।सरकारी विज्ञापन बजेट वितरणमा पनि पारदर्शिता र समानता छैन।यसले गर्दा मिडियाहरू स्थायित्व गुमाउने अवस्थामा पुगेका छन्।
नेपाल पत्रकार महासंघ रुकुम पूर्वले पत्रकारहरूको क्षमता विकासका लागि तालिम, कार्यशाला, गोष्ठी र अनलाइनमार्फत सीप अभिवृद्धि गर्ने कामलाई प्राथमिकतामा राखेको छ।तर यस्ता कार्यक्रमका लागि पनि स्रोत र पूर्वाधारको कमी छ।हामीलाई राज्य, स्थानीय तह, निजी क्षेत्र र सरोकारवाला निकायको सहकार्य निकै आवश्यक छ।समग्रमा हेर्दा, रुकुम पूर्वसहितका ग्रामीण क्षेत्रमा पत्रकारिता कठिनाइ र अवसर दुवैको मिश्रणमा छ।एकातिर स्रोत र पूर्वाधारको अभाव, सानो बजार, विज्ञापनको कमी, राजनीतिक–सामाजिक दबाब, सुरक्षाको अनिश्चितता जस्ता चुनौती छन् भने अर्कोतिर डिजिटल प्रविधिको विकास, युवाहरूको सहभागिता र जनसरोकारको बढ्दो चासो जस्ता सकारात्मक पक्ष पनि छन्।म नेपाल पत्रकार महासंघ रुकुम पूर्वको सचिवको हैसियतले भन्नुपर्दा रुकुम पूर्वमा पत्रकारिता र मिडियाको दिगोपन सुनिश्चित गर्न स्थानीय निकाय, प्रदेश सरकार, संघीय सरकार र निजी क्षेत्र सबैको सामूहिक पहल आवश्यक छ।विज्ञापन वितरणको पारदर्शिता, पत्रकारहरूको पारिश्रमिकमा सुधार, तालिम र सीप विकास कार्यक्रम, र नेपाल पत्रकार महासंघको स्थायी भवन निर्माणजस्ता कामहरू तत्काल अगाडि बढाउन सके मात्र यहाँको पत्रकारिता गुणस्तरीय, प्रभावकारी र दिगो बन्न सक्छ।
नयाँ जिल्ला भएर पनि रुकुम पूर्वमा पत्रकारिताले धेरै विषयहरु स्थानीय स्तर देखि राष्ट्रिय स्तरसम्मका मुद्दाहरुको उजागर गरेको छ।यो स्वयंमा सकारात्मक कुरा हो।तर यो सकारात्मकतालाई दीर्घकालीन बनाउनका लागि पूर्वाधार, आर्थिक स्रोत र संस्थागत क्षमता मजबुत पार्नैपर्छ।हामी आशावादी छौँ कि निकट भविष्यमा यी चुनौतीहरूलाई पार गर्दै रुकुम पूर्वको पत्रकारिता राष्ट्रिय स्तरमै उदाहरणीय बन्न सक्छ।














प्रतिक्रिया दिनुहोस्